जग्गा खाली राख्न पाइँदैन: मन्त्री साह

डिसी नेपाल
२५ जेठ २०८१ २३:४५

धरान। कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले कृषकले जग्गा खाली राख्न नपाइने बताएकी छन्।

सुनसरीको इटहरी–२० तरहरास्थित कृषि अनुसन्धान निर्देशनालयमा आज भएको राष्ट्रिय किसान आयोगले किसानको हक, हित र अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिलगायत सरोकारवालासँगको बहस कार्यक्रममा उनले भनिन्, ‘जग्गाको सदुपयोग गरी फलफूलखेतीलगायत गर्न सकिन्छ।’

सरकारले अब जग्गाको माटो परीक्षण गरी कुन जग्गामा कुन खेती उपयुक्त हुन्छ भनेर चक्लाबन्दी गर्ने नीति तथा कार्यक्रम ल्याउन लागेको मन्त्री साहले उल्लेख गरिन्। उनले किसानलाई सहुलियत व्याजमा रकम उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरिन्। बिनाधितो सहुलियत दरमा ऋण उपलब्ध गराउन मन्त्रालय लागिपरेको उनको भनाइ थियो।

कार्यक्रममा राष्ट्रिय किसान आयोगका सदस्य मञ्जु धिमालले कोशी प्रदेशभित्र रहेका किसानको समस्या समाधान गर्न तीनै तहका सरकारले नीति बनाउन आवश्यक भएको बताइन्।

राष्ट्रिय किसान आयोगका सदस्य टेकबहादुर बोगटीले किसानका समसामयिक विषयमा केन्द्रित रहेर कार्यपत्र प्रस्तुत गरेका थिए। उनले किसानले वर्तमान अवस्थामा भोग्नुपरेका समस्या, किसानको जीवनस्तर उकास्ने योजना, किसानको आधुनिकीकरण, नेपालमा कृषिजन्य वस्तुको उत्पादन, आयात–निर्यातको समस्यालगायत विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *