राष्ट्रियताको रक्षाका लागि वामपन्थी एकता आवश्यक छः उपप्रधानमन्त्री श्रेष्ठ

चितवन। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रियताको रक्षाका लागि वामपन्थी एकताको आवश्यकता रहेको बताएका छन्।
स्व भुवानीप्रसाद पौडेलको सातौँ स्मृति दिवसका अवसरमा चितवनको माडीमा आज आयोजित फुटबल प्रतियोगिताको समापन समारोहमा उनले रूपान्तरण र राजनीतिक परिवर्तनलाई पूर्णताका लागि वामपन्थी एकताको आवश्यकता रहेको बताए। उपप्रधानमन्त्री श्रेष्ठले कम्युनिष्ट पार्टीबीचको एकता तल्लो तहसम्म पुग्नु आवश्यक रहेकामा जोड दिए।
यसैगरी उनले राजनीतिक परिवर्तनको रक्षा गर्नुका साथै सामाजिक, आर्थिक र खेल क्षेत्रको विकास गर्न जरूरी रहेको धारणा राखे। खेल क्षेत्रले नगरको मात्रै नभई देशको नाम राख्ने भएकाले यस क्षेत्रको विकासका लागि सरकार लागिपरेको उनको भनाइ थियो।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनताको जनजीविकासँग जोडिएका मुद्दामा सरकारले ध्यान दिन नसकेको बताए। उनले जनहित रक्षा र राष्ट्रियताको जगेर्नाका लागि आफूहरु सहकार्य गर्न तयार रहेको बताए।
Facebook Comment