नेपालको राष्ट्रिय स्वार्थ के हो?

कृष्ण बोहरा
२८ जेठ २०८१ १०:३०

देश भित्रका जात जातिको धार्मिक र जातीय सहिष्णुता एउटा बिशिष्ट महत्वको सवाल हो। आपसी सद्भाव र एकताले नै देश समृद्ध बन्न मद्दत गर्दछ। देशको अखण्डता र राष्ट्रहित मनमा राखी सबैले काम गर्नाले नै सबै जातजातिको भलो हुने कुराको ग्यारेण्टी गर्न सकिन्छ।

यसैले पृथ्वी नारायण शाहले यो राज्यलाई चार जात छत्तीस बर्णको फूलबारी हो भन्नुभएको थियो। राम्रा र देश हितका कुरा जोसुकैले भनेको भएपनि मान्नुपर्छ। त्यसको अनुसरण गर्नुपर्छ।

नराम्रा कुरा जसुकै मानिसले भनेको भएपनि त्यो त्याज्य छ। राजाका कुरा भएकोले नमान्नु पर्ने भए राजा शुद्धोधनका छोरा सिद्धार्थ गौतमका कुरा हामीले किन मान्नुप¥यो? अहिंसाका पक्षपाती बुद्धलाई मान्ने आज संसार भर छन। राम्रा राम्रै हुन नराम्रा नराम्रै हुन्।

व्यक्ति हेरेर कसैको मान्ने कसैको नमान्ने भन्ने हुँदैन। खानदान हेरेर कसैलाई मान्ने कसैलाई नमान्ने भन्ने पनि हुँदैन। राणा शासन हामीलाई मन परेन। राणा शासन भन्ने बित्तिकै नाक खुम्चयाउने जो कोही छन्। त्यही राणा शासन हटाउन धन र मन लगाउने व्यक्तिहरुमा राणाहरु पनि थिए।

यसमा  ‘सी’ ल्कासका राणाहरुको पनि भूमिका थियो। सुबर्ण समशेर यीनै मध्यका हुन्। जो पछि कांग्रेसका नेता पनि भए। माक्र्सवादी दर्शन शास्त्रमा पूँजीपती र मजदुर एक आपसमा द्वन्द्वपूर्ण सम्बन्ध भएका बर्ग हुन। मार्कसवादी दर्शन लेख्ने एउटा हस्ती फेरि पनि पूँजीपतिका छोरा नै थिए।

तीनका नाम हो एंगेल्स। पूँजीपती परिवारका भएकाले संगत नगर्ने भनेर मार्कसले एंगेल्ससंगको मित्रता तोडेनन्। बरु पछि माक्र्सले लेख्न बाँकी रहेको पूँजी भन्ने पुस्तकका बाकी खण्डहरु एंगेल्सले पुरा गर्नुभयो। यसैकारण खानदान मूख्य कुरा हैन। जात मूख्य कुरा हैन। मानिसको बिचार नै मुख्य कुरा हो।

प्रत्येक व्यक्तिमा राम्रा र नराम्रा दुवै पक्ष पनि होलान् तर उनको राम्रा पक्षको अनुशरण गर्नु र आफ्नो र भावी पुस्ताको भबिष्य बनाउन लागिपर्नु तपाईं हाम्रो कर्तव्य हो। यसै कारण हामी जुनसुकै बिचार मान्ने भएतापनि राष्ट्रिय स्वार्थमा एकजुट हुनु आवश्यक छ।

पृथ्वी नारायण शाहका देश हितमा भएका नीतिगत बिचारहरु देशको राष्ट्रिय स्वार्थ पूरा गर्ने खालका छन्। यसैले यसको अनुसरण गर्दा नेपाल र नेपालीलाई फाइदा पुग्दछ। उनी राष्ट्रिय स्वार्थका पक्षपाती थिए। साम्राज्यवाद बिरोधी एउटा हस्ती थिए।

अंग्रेज साम्राज्यवादले भारतमा जस्तो यहाँ हालीमूहाली गर्न नसक्नु उनकै बैचारिक र रणनीतिक नेतृत्व मुख्य कुरा थियो। पृथ्वी नीतिको अनुसरणबाट देशको हित र राष्ट्रिय स्वार्थको पक्कै जगेर्ना हुनेछ। यसको अर्थ राजसंस्थालाई समर्थन गर्नु भनेको चाहिँ होइन।

देश भित्रको धर्म संस्कृति भेसभुषा तथा सामाजिक रितिथिती हरायो भने सबैकुरा हराउँदछ। समाज कमजोर हुन्छ, देश कमजोर हुन्छ। यसैले बरु हाम्रो संस्कृतिमा भएको नराम्रा पक्षको परिमार्जन गर्न सकिन्छ तर छोडन सकिँदैन। यस सवालमा पृथ्वी नारायण शाहको स्पष्ट दृष्टिकोण थियो।

आफ्नो संस्कार, संस्कृति छोड्नु भनेको बिदेशी संस्कार संस्कृतिलाई निम्तो दिनु हो। हाम्रो देशमा अहिले जे नहुनुपर्ने हो त्यही भैरहेको छ। बिदेशी संस्कार र संस्कृति मान्ने र आफ्नो संस्कार संस्कृति छोड्ने कुराले देशमा एउटा ज्यादै नै ठूलो समस्या खडा भैरहेको छ।

हामी नेपाली पश्चिमा सेतो छाला भएका मानिस भन्दा चुथ्थो दर्जाका हौं, उनीहरु उच्च कोटीका हुन भन्ने हमीलाई लाग्न थालेको छ। हाम्रो बिचार र दृष्टिकोण यसरी नै बन्दै गैरहेको छ। यसले उनीहरुले भनेका सबै कुरा मान्ने वाताबरण हामीमा श्रृजना भैरहेको छ।

यसबाट नेपालका राजकीय र हरेक मामलामा समेत परनिर्भर बनाइदिएको छ। यसबाट हाम्रो काम सबै कुरा उनीहरुबाटै लिने आफू केही नगर्ने भन्ने भएको छ। संसदमा मागेर खान पर्छ भन्ने कुरा गर्भकासाथ भाषण गरी कुर्लने नेता यहीँ छन्।

बरु जुनसुकै देश हित बिरोधी सर्त मान्न तयार हुने प्रबृत्ति हुर्किरहेको छ। हामी केही गर्न सक्तैनौं भन्ने मानसिकताको बिकास भएको छ। यसैले हाम्रो देसको स्वत्व हराएको छ आजकल।

खोला नाला, वन जंगल, यहाँका खनिज पदार्थ हाम्रो देशको सम्पत्ति हुन्। यस्ता चीजको मूल्य र स्तर घटेको छ। बिदेशी स्वार्थका निमित्त हामीले सिँत्तैमा अरुलाई दिने सन्धी सम्झौताहरु गरेका छौं। कोशी, गण्डकी र माहाकाली सन्धीहरु यसका उदाहरणहरु हुन्।

नेपाली कृषकहरुले जति पनि नेपालका लागि आवश्यक तरकारी फलफूल फलाउन सक्ने भएतापनि बेरोकटोक बिदेशवाट तरकारी र फलफूल आउन दिइरहेका छौं। यसले गर्दा हाम्रा कृषकहरुलाई मर्का परिरहेको छ। मासु र दुग्ध व्यबसायको हालत पनि करिव करिव उस्तै छ। जुम्लामा स्याउ कुहिएर खेर गएको छ, कास्मिरका स्याउले यहाँ बजार ओगटेको छ।

मलखादको लागि कुनै कारखाना नेपालमा छैन। नेपालमै उत्पादन हुने चीज बस्तुहरु बिदेशबाट ल्याउन दिनु भनेको नेपाल र नेपालीको घाँटी निमठ्नु हो। यसमा हाम्रो कुनै पनि राष्ट्रिय नीति छैन। राष्ट्रिय स्वार्थ कुन चराको नाम हो थाहा छैन। नेपालमा बन्ने घरेलु मदिरा पुलिस लगाएर पोखिन्छ।

बिदेशी रक्सी आयात गरिन्छ। जर्मनमा बनेका छयाङका सिलप्याक सिसी नेपाली बजारमा देख्न पाइन्छ आजकल। कहाँनेर राष्ट्रिय स्वार्थमा ध्यान पुग्यो त खै? बल्ल यस पटक घरेलु मदिरालाई ब्राण्डिङ गर्ने बिधेयक संसदबाट पास भएको छ। यसको लागि लागि पर्ने सबैलाई धन्यवाद भन्नैपर्दछ।

गाँजा खेतीमा प्रतिबन्ध लागेको पञ्चायत कालदेखि नै हो। यसको कारण पनि बिदेशी स्वार्थले काम गरेको देखिन्छ। अन्तर्राष्ट्रिय सन्धी सम्झौता एउटा बाहाना मात्र हो। औषधीय गुणले भरिपूर्ण, कपडा, जुत्तादेखि अनेक बस्तुहरु बनाउन मिल्ने, पूँजी आर्जन हुने बस्तुहरु नेपालमा प्रतिबन्ध भएपछि नेपाल गरिव नभए के हुन्छ त?

कृषि, जल, जंगल, रमणीय भूगोल, हिमाल पहाड र खनिज सम्पदा नेपालको आर्थिक उन्नतीका खजनाहरु हुन्। यसको उचित परिचालन र प्रयोगबाट मात्र नेपाल र नेपालीले उन्नति र प्रगति गर्न सक्दछ।

यसमा चासो दिनु भनेको राष्ट्रिय स्वार्थको पक्षपोषण गर्नु हो। यस्तै परराष्ट्र नीतिको सवालमा असंलग्न परराष्ट्र नीति नेपालको राष्टिय« स्वार्थ जगेर्ना गर्ने नीति हो। यसमा पनि खेलवाड गर्न लागेको अनुभूति भैरहेको छ।

माथिका कुराहरुमा दिलचस्वी दिनुपर्ने निकायहरु राज्यका व्यबस्थापिका, कार्यपालिका र न्यायपालिका हुन्। राज्यको चौथो अंगको भूमिका पनि कम महत्वपूर्ण छैन। तर बिडम्वना हाम्रो देशको अस्थिर सरकार, चाहिने नचाहिने कुरामा रणाको मच्चाइरहने संसद पनि कम जिम्बेवार छैन। घुसमा चल्ने न्यायपालिका पनि उतिकै जिम्मेवार छ।

राज्यको चौथो अंगको राम्रो भूमिकाले परिस्थितिलाई फेर्ने भूमिका निर्वाह गर्न सक्छ। यसका पनि ठूला संचार उध्यमीहरुमा समश्याहरु देखिएका छन्।
जुन बेला किसानलाई मल चाहिएको छ त्यो बेला कृषकका समश्या कुनै समचार बन्दैन।

0बरु नेताहरुका पक्ष बिपक्षमा समाचारका पानाहरु भंगेरे अक्षरले भरिएका हुन्छन। जात जातिको सद्भाव बिगार्ने गरी जातीयताका कुराले अखबार रंगिएको हामी पाउँछौ।

जातीय एकता हैन जातीय द्वन्द्व, धार्मीक सदभाव हैन धार्मिक द्वन्द्व, राष्ट्रिय अखण्डता हैन राष्ट्रिय बिखण्डन गर्ने कुरा ठूला अखवारका पानामा प्राथमिकताका साथ छापिएको पाइन्छन्।

यसको कारण यो हो कि देश भाँडभैलोमा जाओस् कसैलाई मतलव भएको बिषय नै हैन भन्ने भएको छ।

हाम्रा किसानका हित हुनु भनेको देशको हित हुनु हो। तर किसान प्राथमिकतामा पर्दैनन। राष्ट्रिय उद्योगहरुले देशको अर्थ व्यबस्थालाई सवल बनाउँछ। यो पनि प्राथमिकतामा छैन।

शिक्षा क्षेत्र तनावग्रस्त छ। पढाउने भन्दा राजनीति गर्ने शिक्षकको बोलवाला छ हाम्रा सरकारी बिध्यालयहरुमा। काम गर्ने भन्दा घुसमा लिन हुने कर्मचारीको बोलवाला छ सेवा दिने ठाउँमा। यसै कारण देश अहिले अकर्मण्यताले थिलथिलो भएको छ।

यस्ता राष्ट्रिय महत्वका सवालहरु र राष्ट्रिय स्वार्थका कुरा सर्बसाधारणको चासोको बिषयहरु बन्छन्। तर जसले चासो राख्नुपर्ने हो उनीहरुलाई यसको मतलव छैन। राष्ट्रको अभिवाबक कोही छैन। राष्ट्रिय स्वार्थ हैन व्यक्तिगत स्वार्थ पट्याउने धेरै छन्।

यसैले सबै नियमन र कार्यान्वयन निकायमा तथा राजनीतिक नेतृत्वमा व्यापक परिवर्तन र राजनीतिक प्रणालीमा सुधारको आवश्यकता छ। नीति र बिधिको वरिपरी सबै घुम्नुपर्ने अवस्थाको जवर्जस्त रुपमा श्रृजना गरिनुपर्छ। गल्ती गर्नेलाई सोधपुछ गर्दा बिपक्षी दलका ठूला नेताहरु बिरोधमा गीत गाउने अवस्था रहँदासम्म।

बिदेशीले धमिलो पानीमा माछा मार्ने वाताबरण पनि बनिरहन्छ। अरु देशमा जुनसुकै सरकार आय पनि राष्ट्रिय स्वार्थमा सबै एकजुट हुन्छन। हाम्रो देशमा देशको स्वार्थ भन्दा बाह्य स्वार्थ पूरा भयो कि भएन त्यो प्रमुख सवाल बन्छ। कसरी बन्छ देश?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *