इजरायलले ४ जना बन्धक छुटाउन चलाएको अपरेशनमा २७४ प्यालेस्टाइनीको मृत्यु

डिसी नेपाल
२८ जेठ २०८१ १५:२३

काठमाडौं । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले चार जना बन्धकहरूलाई मुक्त गर्न चलाएको उद्धार अभियानको क्रममा शरणार्थी शिविरमा भएको आक्रमणमा २७४ प्यालेस्टाइनीको मृत्यु भएको छ। जसमा महिला र बालबालिका पनि पर्छन् ।

शनिबार, इजरायली सेनाले भयंकर हवाई हमलाका साथ नुसरत शरणार्थी शिविर नजिकै हमाससँग भीषण गोलीबारी गरेर कब्जा गरिएका चारजना बन्धकहरूलाई मुक्त गरेको थियो ।

इजरायली सेनाले हमासको बन्दीबाट उद्धार गरेका चारजनालाई अक्टोबर ७ मा इजरायलमा आयोजना भइरहेको नोभा म्युजिक फेस्टिभलबाट हमास लडाकुहरूले अपहरण गरेका थिए।

शनिबार इजरायली सेनाले नोआ अर्गामानी (२७), अल्मोग मीर (२२), आन्द्रेई कोज्लोभ (२७) र सलोमी जिभ (४१) लाई मुक्त गरेको थियो। अब आठ महिनापछि यी मानिसहरू इजरायल फर्किएका छन्।

हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले इजरायलको उद्धार अभियानमा शरणार्थी शिविर र वरपर ठूलो संख्यामा प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ। जसमा महिला र बालबालिका पनि पर्छन् ।

अब्देल सलाम दरविस नामका एक व्यक्तिले बीबीसीलाई भनेअनुसार उनी बजारमा तरकारी किन्दै थिए जब उनले आकाशमा लडाकु विमान र गोलीको आवाज सुने।

“त्यसपछि शरीरका अंगहरू सडकमा छरिएका थिए र भित्ताहरू रगतले लतपतिएका थिए,” उनले भने।

बन्धकहरू इजरायल फर्किएपछि इजरायलका जनतामा खुसीको लहर छायो। अमेरिकी राष्ट्रपति जो बाइडेनलगायत विश्वका अन्य नेताहरूले यो खबरलाई स्वागत गरेका छन् ।

तर गाजा भित्र इजरायलको यो घातक उद्धार अभियानको लागि उसको कडा आलोचना भइरहेको छ।

इयु विदेश मामिला प्रमुख जोसेप बोरेलले भने – उनले “कडा शब्दमा” यसको भर्त्सना गर्छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “गाजाबाट सर्वसाधारणको नरसंहारका थप केही रिपोर्टहरू आइरहेका छन्, जुन डरलाग्दो छ।”

एक इजरायली मन्त्रीले भनेका छन् कि जोसेप बोरेलले उद्धार अभियानको सट्टा हमासको निन्दा गर्नुपर्छ।

नुसरत शरणार्थी शिविर वरपरका तस्बिरहरूमा देख्न सकिन्छ कि क्षेत्रमा ठूलो बम विस्फोट भएको छ र मानिसहरू शवको छेउमा बसेर रोइरहेका छन्।

गाजाका दुई अस्पताल, अल-अक्सा अस्पताल र अल-अवदा अस्पतालले भनेअनुसार उनीहरूले अहिलेसम्म ७० शवहरू गनेका छन्।

हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले ८६ जनाको नामावली सार्वजनिक गरेको छ । दुई घण्टासम्म चलेको इजरायली उद्धार कार्यमा २७४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ, जसमध्ये केहीको नाम सार्वजनिक गरेको छ। हमासको मिडिया कार्यालयका अनुसार मृत्यु हुनेको संख्या कम्तीमा २१० रहेको छ ।

इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले आक्रमणमा १०० भन्दा कम मानिस मारिएको अनुमान गरेका छन् ।

उनले यो इजरायली अपरेसनलाई ‘ठूलो जोखिमसहितको जटिल मिसन’ भनेका छन्। यो अपरेसन ‘खुफिया र सही सूचना’मा आधारित रहेको उनको भनाइ छ ।

रक्षा मन्त्री योल गालान्टले भने कि विशेष बलहरूले हमासबाट बन्धकहरूलाई “गम्भीर आगोको बीचमा” मुक्त गरेको छ। यस अपरेशनमा विशेष सुरक्षा बलका एक अधिकृत घाइते भएका थिए, उनको पछि अस्पतालमा मृत्यु भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *