इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीको पार्टीको युरोपेली संघको संसदीय चुनावमा भारी जित

डिसी नेपाल
२९ जेठ २०८१ १२:२०

काठमाडौं । यसपटक २७ देशको युरोपेली संघ (ईयू) निर्वाचनमा ठूलो उथलपुथल देखिएको छ । यो निर्वाचनमा धेरै देशका दक्षिणपन्थी दलले जित हासिल गरेका छन् । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीको अति दक्षिणपन्थी पार्टी ब्रदर्स अफ इटाली ईयू चुनावमा सबैभन्दा ठूलो दल बनेको छ ।

चुनावी नतिजापछि मेलोनी आफ्नो देशका साथै युरोपको बलियो नेताका रूपमा उभिएकी छन् । विजयपछि उनले यो नतिजा उत्कृष्ट रहेको र यो राजनीतिक रुपमा निकै महत्वपूर्ण रहेको बताइन् ।

इयु चुनावको नतिजा अनुसार यस पटकको २७ सदस्यीय इयु चुनावमा दक्षिणपन्थी पार्टीको वर्चस्व रहेको छ । यस निर्वाचनमा ७२० सदस्य चयनका लागि भएको मतदानमा ९९ प्रतिशत मत गणना भएपछि इटालीको मेलोनीको पार्टी ब्रदर्सले २८ दशमलव ८१ प्रतिशत मत प्राप्त गरेको छ ।

मेलोनीले ईयू संसदीय चुनावलाई आफ्नो नेतृत्वमा जनमत संग्रहको रूपमा प्रस्तुत गरिन् । उनले मतदान गर्दा मतपत्रमा जर्जिया लेख्न पनि मतदातालाई आग्रह गरिन् । नतिजाको बारेमा मेलोनीले भनिन् – उनलाई यो नतिजामा गर्व छ। उनले इटालीले आफूलाई युरोपकै बलियो सरकारका रूपमा प्रस्तुत गर्न लागेकोमा आफूलाई गर्व लागेको बताइन् ।

इयु चुनावमा मेलोनीको पार्टीको ठूलो जितले ब्रसेल्स (इयु मुख्यालय) मा उनको प्रभाव बढाउनेछ। इयु अध्यक्ष उर्सुला भोन डर लेयनको अर्को कार्यकालको निर्णयमा मेलोनीले पनि ठूलो भूमिका खेल्नेछिन्। यससँगै ईयूसँग सम्बन्धित सबै साना–ठूला निर्णयहरूमा मेलोनीको हस्तक्षेप पनि देखिनेछ ।

ईयूको चुनाव जुन ६ र ९ को बीचमा भएको थियो । यस चुनावमा करिब ४० करोड जनताले भाग लिएका थिए । नेदरल्याण्ड्समा जुन ६ मा मतदानबाट चुनाव सुरु भएको थियो । यस अवधिमा फ्रान्स, इटाली, जर्मनी, अस्ट्रिया, इस्टोनिया, लिथुआनिया र स्वीडेन जस्ता युरोपेली देशहरूमा व्यापक मतदान भएको थियो।

युरोपेली संघको चुनावमा लज्जास्पद पराजयपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले संसद भंग गरी मध्यावधि चुनावको घोषणा गरेका छन् । यसैबीच, ईयू चुनावमा बेल्जियमको सत्तारुढ दलको पराजयपछि प्रधानमन्त्री अलेक्जेन्डर डेक्रूले आफ्नो पदबाट राजीनामा दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *