गण्डकी सरकारः फ्लोरक्रस गरेका देवकोटालाई मन्त्री उपहार, मनाङे छैटौं पटक मन्त्री बने

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन्।
मुख्यमन्त्री पाण्डेले स्वतन्त्र सांसद राजीब गुरूङ (दीपक मनाङे) र माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित भएका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटालाई मन्त्री बनाएका हुन्।
मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले गुरूङ र देवकोटालाई मंगलबार मन्त्री नियुक्त गरेका हुन्।
दुवै नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख भट्टले शपथ गराएका छन्। गुरुङले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् भने देवकोटाले उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन्।
यस अघि मुख्यमन्त्री पाण्डेले सोमबार विश्वास मत प्राप्त गरेका थिए। उनलाई कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र १ र माओवादीको चुनाव चिह्नबाट जितेका नेपाल समाजवादी पार्टीका देवकोटाले विश्वास मत दिएका थिए। विश्वासको मत दिएको राप्रपा भने सरकारमा सहभागी नहुने भएको छ।
गण्डकीमा यसअघि कांग्रेसबाट विन्दुकुमार थापा सामाजिक विकास र टकराज गुरूङ आर्थिक मामिला मन्त्री बनेका थिए।
माओवादी चुनाव चिन्हबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले ह्वीप जारी भए पनि पाण्डेलाई विश्वासको मत दिएका थिए। देवकोटाले फ्लोर क्रस गरेको भन्दै माओवादीले कारबाही गर्ने बताएको छ। नेपाल समाजवादी पार्टीले भने देवकोटालाई कारवाही गर्न नमिल्ने बताएको छ ।
सरकारलाई विश्वासको मत दिएको राप्रपा भने सरकारमा सहभागी नहुने भएको छ। सर्वोच्चको परमादेशमा जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले आजै मन्त्रिपरिषद बिस्तार गरि आज दिउँसो ३ बजे नीति तथा कार्यक्रम ल्याउने तयारी गरेका छन्।
Facebook Comment