क्रान्तिमा बलिदानी भाव पैदा गराउने जनवादी गायक शान्तिकालमा गुमनाम

दिपा पौड्याल
३० जेठ २०८१ १०:४२

काठमाडौं। नेपालका हरेक राजनीतिक परिवर्तनमा स्रष्टाहरुको उल्लेख्य भूमिका छ।

अझै गीत संगीतले जनमानसमा छिट्टै प्रभाव पार्ने भएकाले विगतका हरेक राजनीतिक आन्दोलनमा जनपक्षीय गीतसंगीतको माध्यमबाट कलाकारहरुले जनतालाई जागरुक बनाउँदै आन्दोलनमा सहभागी गराउने गर्दथे।

२०६२/६३ को जनआन्दोलन होस् या त्यसअघि माओवादीले २०५२ साल देखि सुरु गरेको जनयुद्ध दुबैमा जनावादी गायकहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
माओवादी जनयुद्धमा त ग्रामीण भेगका हरेक सास्कृतिक कार्यक्रममा जनवादी गायकहरुको प्रस्तुतीले युद्धमा लाग्न उत्प्रेरित गर्दथ्यो।

माओवादीको जनयुद्धमा सहभागिता बढाएर राज्यविरुद्ध लड्नका निम्ति बलिदानी भाव पैदा गराउने जनवादी गायकहरु त्यस युद्धको अवतरण पछि भने गुमनाम हुन पुगेका छन्।

कतिपय जनवादी कलाकारहरु पार्टी राजनीतिमा जोडिएका छन् भने कसैले व्यक्तिगत जीवनयापनका लागि अन्य पेशा व्यवसाय अंगालेर पूर्णतया राजनीतिक परिदृष्यबाट ओझेलमा परेका छन्।

माओवादी जनयुद्धपूर्व जनवादी गीत मार्फत जनयुद्धको आधार तयार पार्ने काम गरेका एक जनवादी गायक हुन् टेक बलम्पाकी।

उनी भने अहिले पनि राजनीतिक रुपमा सक्रिय छन््। माओवादी जनयुद्धमा सहभागी नभए पनि जनवादी गायनमार्फत जनयुद्धको आधार तयार पार्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

निर्मल लामा नेतृत्वको नेकपा(चौम)मार्फत राजनीतिक यात्रा थालनी गरेका बलम्पाकीले पार्टीमा रहेर सास्कृतिक क्षेत्रकै जिम्मेवारीमा रहेर काम गरेका थिए।

२०४८ सालमा प्रचण्ड नेतृत्वको नेकपा(मशाल), बाबुराम भट्टराई नेतृत्वको विद्रोही मसाल, निर्मल लामा नेतृत्वको नेकपा चौम र रुपलाल विश्वकर्माको सर्वहारावादी श्रमिक संगठनकोे एकता पछि उनी केही समय प्रचण्डसँगै रहेका थिए।

सो समय उक्त पार्टीमा जनयुद्धको विषयमा मतभेद उत्पन्न भएर प्रचण्ड,बाबुराम अलग भएर युद्ध थालेपछि उनी एकताकेन्द्रमै लामा र श्रेष्ठसँगै रहेका थिए। उनी जनयुद्धमा सहभागी नभएपनि प्रचण्डसँग एउटै पार्टीमा हुँदा जनयुद्धप्रति जनतामा सकारात्मक भाव सम्प्रेषण गर्ने र त्यसको पक्षमा आधार तय गर्ने गीत गाएका थिए।

माओवादी जनयुद्धको पूवार्द्धमाञञ २०५२ अघि युद्धमा लाग्न उद्वेलित गर्ने विभिन्न क्रान्तिकारी गीतहरु उनले गाएका थिए। त्यस समयको बहुचर्चित मणि थापाको शब्दमा रहेको बलम्पाकीले गाएको ‘मरेछु भने आउला नि खबर…’ बोलको गीतले युद्धमा सहभागी हुँदै गर्दा क्रान्तिको मर्म परिवारलाई सम्झाएर युद्धमा सहभागी हुँदै गर्दाको भाव व्यक्त गरिएको छ।

त्यस यता पनि अन्य चर्चित जनवादी गीत गाएका बलम्पाकी पछिल्लो समय सांगीतिक क्षेत्रबाट अलि टाढा रहेर राजनीतिक यात्रामा सक्रियता बढाइरहेका छन्।
महोत्तरीका स्थायी बासिन्दा बलम्पाकी अहिले मधेश प्रदेश केन्द्रित राजनीतिक गतिविधि बढाएका छन्।हाल उनी सत्तारुढ माओवादी केन्द्रको केन्द्रीय सदस्य हुन्।

यस्तै माओवादी जनयुद्धमा जनवादी गीतमार्फत जनता र कार्यकर्तालाई युद्धमा उद्वेलित गराउने गीत गाउने अर्का गायक मोहित श्रेष्ठ हुन्।

रोल्पाका स्थायी बासिन्दा उनी अहिले पार्टी राजनीतिमा खासै सक्रिय नभए पनि फरक कोणको सांगीतिक यात्रालाई भने निरन्तरता दिइरहेका छन्।

उनले माओवादीको शान्तिपूर्ण राजनीतिक अवतरणको यात्रा तय गरेको चर्चित चुनवाङ बैठकमा गाएको ‘कसले भन्छ क्रान्ति यहाँ सफल हुँदैन’ भन्ने गीतले तत्कालीन शीर्ष नेताहरु भावविभोर बनेको दृष्य अहिले पनि देख्न सकिन्छ।

अहिले क्रान्तिका लागि बलिदानी भाव पैदा गराउने गीत संगीतको आवश्यकता नपर्ने भएकाले सामाजिक विषयबस्तुका विभिन्न सिर्जनाहरु प्रष्फुटित गरिरहेको उनी बताउँछन्।

माओवादी युद्धमा सहभागी भएका अर्का जनवादी गायक प्रदीप देवान पनि राजनीतिक भूमिकामा खासै सक्रिय देखिएका छैनन्। मणि थापाले लेखेका माओवादीको बहुचर्चित गीत ‘अरुण तरेर नाना तमोर तरेर’ गाएका प्रदीप देवान पनि अहिले सांगीतिक क्षेत्रमा त्यति सक्रिय छैनन्।

माओवादीमा हुँदा बाबुराम भट्टराई निकट भनेर चिनिने उनी बाबुरामको नयाँ शक्तिमा लागेर पछिल्लो समय निष्क्रय बसेका थिए। केही दिन अघिमात्रै बाबुरामकै नेपाल समाजवादी पार्टीमा उनी पुनःप्रवेश गरेका छन्।

माओवादी जनयुद्धमा सहभागी भएर जनतालाई जागरुक बनाएर त्यसमा समाहित गराउँदै हिँडेका जनवादी गायकहरु शान्तिकालमा भने भूमिका विहीन देखिएका छन्।

माओवादीको संसदीय राजनीतिमा प्रवेश पछि निर्वाचनको समयमा मात्रै चुनावी गीत गाउन र प्रचारमा उपयोग गर्ने बाहेक अरु सरोकार राख्न छाडेको ती जनवादी गायकहरु बताउँछन्।

नेपाल सरकारका विभिन्न सांगीतिक संस्थानहरुमा दिइने राजनीतिक नियुक्तिमा समेत शान्ति प्रक्रिया पछि पार्टीमा जोडिएकाहरुलाई प्राथमिकता दिइएको र आफूहरुलाई उपेक्षा गरिएको उनीहरुको गुनासो छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *