चर्चित दक्षिण भारतीय अभिनेता दर्शन र अभिनेत्री पवित्रा गौडा हत्या आरोपमा पक्राउ

डिसी नेपाल
३० जेठ २०८१ १२:२५

काठमाडौं । कन्नड चलचित्र उद्योगका चर्चित अभिनेता दर्शन थोगुदीपलाई एक व्यक्तिको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

हत्या गरिएका व्यक्तिले अभिनेताकी एक अभिनेत्री साथीलाई अपमानजनक सन्देश पठाएको आरोप छ।

४७ वर्षीय दर्शनले पछिल्ला वर्षहरूमा धेरै ठूला बक्स अफिस हिट फिल्महरूमा मुख्य भूमिका निर्वाह गरेका छन्।

दर्शनलाई सोमबार बिहान मैसूरस्थित उनको फार्म हाउसबाट बेंगलुरुको प्रहरी चौकीमा ल्याइएको थियो।

चित्रदुर्गा जिल्लाकी ३३ वर्षीय रेणुका स्वामीको शव बेंगलुरुको नालीमा फेला परेको थियो ।

उनको जून ८ मा हत्या भएको र जून ९ मा शव फेला परेको अनुमान गरिएको छ ।

यस हत्याकाण्डमा दर्शन, उनकी अभिनेत्री साथी पवित्रा गौडासहित १० जनाको नाम छ ।

रेणुका स्वामीले अभिनेत्री पवित्रालाई अश्लिल म्यासेज पठाएका थिए । अभिनेत्री दर्शनको नजिकको साथी मानिन्छिन् ।

बेंगलुरुका प्रहरी आयुक्त बी दयानन्दले बीबीसी हिन्दीलाई भने, “पक्राउ परेकाहरूमा दर्शन र पवित्रा गौडा पनि छन्।”

दर्शनका हिट फिल्महरूमा अनाथरु (२००७), क्रान्तिवीर संगोली रायन्ना (२०१२) र कटेरा (२०२३) पर्छन्। चलचित्रमा दर्शनले जनताका बीचबाट उठेका नायकको भूमिका निर्वाह गर्दै आएका छन् ।

कन्नड फिल्म उद्योगसँग सम्बन्धित एक व्यक्तिले बीबीसीलाई भने, “दर्शनको फिल्मको स्क्रिप्ट जस्तोसुकै भए पनि बक्स अफिसमा यसको पहिलो तीन दिनको कमाई उत्कृष्ट छ।”

चलचित्र क्षेत्रसँग आवद्ध अर्का व्यक्तिका अनुसार केही वर्षअघि उनकी श्रीमतीले घरेलु हिंसाको मुद्दा दायर गरेपछि उनी जेल परेका थिए ।

यो घटना सारथी फिल्मको रिलिजको समयमा भएको हो । त्यो बेला यो फिल्म हिट थियो ।

दर्शनको नयाँ फिल्म डेभिल छिट्टै रिलिज हुँदैछ । पक्राउले चलचित्रमा कस्तो प्रभाव पार्न सक्छ भन्नेतर्फ चलचित्र उद्योगले चासो राखेको छ । यो फिल्म कन्नड फिल्म उद्योगको सबैभन्दा धेरै बजेटको फिल्म हो।

दर्शनका बुबा पनि कन्नड फिल्मका अभिनेता थिए। उनले चलचित्र क्षेत्रमा लाइटम्यानबाट सफल अभिनेतासम्मको यात्रा तय गरेका छन् ।

उनको परिवार आर्थिक संकटमा पर्दा उनी लाइटम्यानको रुपमा काम गर्थे ।

यहाँबाट उनले टिभी सिरिज र त्यसपछि म्याजेस्टिक नामको फिल्ममा ब्रेक पाए ।

यो फिल्म निकै हिट भयो र यहीँबाट उनी ‘सुल्तान अफ द बक्स अफिस’ भनेर चिनिन थाले ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *