बाबुरामको वैकल्पिक राजनीतिक मार्गमा रवि, बालेन र सिके राउतको यात्रा
कुशल आर्किटेक्ट बाबुरामको नक्सांकन, अन्यको निर्माण
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता औंल्याउँदै नयाँ शक्ति गठन गरिएको दिनलाई पार्टी स्थापना दिवसको रुपमा मनाएका छन्।
बुधबार राजधानीमा उनको दल नेसपाले नयाँ शक्ति स्थापना भएको दिन जेठ ३० गते पार्टी स्थापना दिवस मनाएको हो। २०७३ साल जेठ ३० गते भट्टराईले वैकल्पिक राजनीतिक पार्टीका रुपमा नयाँ शक्ति नामक दलको घोषणा दशरथ रंगशालाबाट गरेका थिए।
अहिले सोही नयाँ शक्ति, समाजवादी पार्टी, जनता समाजवादी हुँदै अहिले नेसपाको रुपमा भट्टराईकै नेतृत्वमा कायमै छ। यद्यपि तत्कालीन नयाँ शक्तिमा रहेका नेता कार्यकर्ताहरुको सहभागिता भने यस दलमा नगन्य मात्रामा छन्।
बाबुरामले २०७ २असोज ९ गते आफू आबद्ध तत्कालीन एकीकृत नेकपा(माओवादी) परित्याग गरेका थिए। माओवादी परित्याग गरेको केही समय पछि नयाँ शक्ति नेपाल निर्माण अभियान थालेका उनले सो अभियानमा सरिक सम्पूर्णलाई अभियान्ताको दर्जा दिइएको थियो।
वैकल्पिक नयाँ शक्तिको आवश्यकता बोध गरेर गठन गरिएको नयाँ शक्तिलाई नै निर्वाचन आयोगमा दर्ता गरेर विधिवत रुपमा भट्टराईको नेतृत्वमा नयाँ राजनीतिक दल स्थापना गरिएको थियो।
भट्टराई नेतृत्वको नयाँ शक्तिले २०७३ को स्थानीय निर्वाचनमा एकाध स्थानीय तहमा बाहेक अधिकांश स्थानमा उल्लेख्य उपस्थिति जनाउन सकेन। त्यसपछि २०७४ को निर्वाचनको सम्मुखमा उनका माओवादीका युद्धकालीन सहयात्रीले समेत उनको साथ छाडेर पुरानै घरमा फर्किएर झनै शक्तिहीन हुन पुगे।
तत्कालीन एमाले माओवादीको वाम गठबन्धनमा सुरुमा सहभागी भए पनि सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै बाहिरिएर कांग्रेसको सहयोगले गोरखा २ मा उनी निर्वाचित भएका थिए।
अन्यत्रबाट उनको दलका कोही पनि निर्वाचित हुन नसकेपछि संसदमा उनको दलबाट आफ्नो मात्रै एकल उपस्थिति जनाएर भट्टराईले राजनीति सक्रियता कायमै राखेका थिए।
माओवादीमा भट्टराईलाई विचारकका रुपमा चित्रित गरिएजस्तै सांगठनिक कुशलता नभएको उनलाई आरोप लगाइन्थ्यो। माओवादी युद्धलाई शान्तिपूर्ण राजनीतिको अवतरणको अवधारणाकार यिनै भट्टराई हुन्।
माओवादी परित्याग गरेपछि भट्टराईले आफूले पार्टीमात्रै होइन कम्युनिष्ट विचारधारा नै परित्याग गरेको घोषणा गरेका थिए। जीवनको सम्पूर्ण कम्युनिष्ट आन्दोलनमा व्यतित गरेका उनले जीवनको उत्तरार्धमा कम्युनिष्ट विचारधारा नै परित्याग गरेपछि उनको आलोचनाको ग्राफ निकै बढेको थियो।
नेपाली राजनीतिमा बौद्धिक आशातित नेताको रुपमा रहेका भट्टराई एक कुशल आर्किटेक्ट पनि हुन्। तथापि आफैंले पहल गरेर थालेको वैकल्पिक राजनीतिको उचित नक्साकंअनुरुप निर्माण गर्न भने असमर्थ भएको हालसम्मका घटनाक्रमले दर्शाउँछ।
यद्यपि आगामी दिनमा पूर्णरुपले प्रतिबद्ध भएर वैकल्पिक राजनीतिक यात्रालाई अघि बढाउने प्रण उनले बुधबार गरेका छन्। पार्टी स्थापना दिवसको अवसर प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनले वैकल्पिक राजनीतिको यात्रालाई निरन्तरता दिने र नयाँ शक्तिका रुपमा उदाएकाहरुसँग सहकार्य गर्ने धारणा व्यक्त गरेका थिए।
उनले वैकल्पिक राजनीतिको थालनी भन्दै आफैंले नयाँ शक्ति स्थापना गरेको पनि ८ वर्ष पार गरिसकेको छ । यो बीचमा निकै ठूला राजनीतिक उतार चढाव उनले व्यहोरिसकेका छन्।
पार्टीले मजबुद आकार ग्रहण गर्ने भन्दा पनि सांगठनिक यात्रा तीव्र गतिमा ओरालो लागेको छ । तथापि उनले सुरु गरेको वैकल्पिक राजनीतिको मार्गमा अन्यले भने उपस्थिति जनाउन पुगेका छन्।
गत स्थानीय निर्वाचनमा दलविहीन(स्वतन्त्र) र आम निर्वाचनमा वैकल्पिक शक्तिका रुपमा रास्वपा राष्ट्रिय राजनीतिमा नयाँ दलको रुपमा स्थापित भएको छ। उनको पुराना दललाई विस्थापन गर्दै नयाँ वैकल्पिक दलले राजनीतिक दिशा निर्देश गर्नुपर्ने धारणाको प्रयोगमा भने अन्य दल सफल भएका छन्।
पुराना दलहरुलाई माथ खुवाउँदै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टी स्थापनाको छोटो समयमै राष्ट्रिय राजनीतिमा आफूलाई स्थापित गर्न सफल भएको छ।
यस्तै मधेशमा एकलौटी राज गरेका उपेन्द्र यादवको विकल्पमा नयाँ दलको रुपमा डा.सिके राउत नेतृत्वको नयाँ दल जनमतको उदय भएको छ। यता, पश्चिम नेपालका थारु बाहुल्य क्षेत्रमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले पुराना दलको विकल्पमा आफूलाई स्थापित गर्न सफल भएको छ।
अहिले बदलिएको राजनीतिक परिवेशमा पुराना दलहरुले नेतृत्व गर्न असक्षम बनेको र विकास र समृद्धिको मार्ग तय गर्न नयाँ वैकल्पिक शक्तिको आवश्यकता रहेको भट्टराईले औंल्याए पनि उनका विगतका क्रियाकलाप भने पु्रानै दलसँग सत्ताका लागि सौदाबाजी गर्ने प्रकृतिका भएकाले उनले विकल्प दिन नसकेको राजनीतिक वृत्तमा चर्चा हुन्छ।
पुरानै दलमा व्याप्त सत्तालिप्साले ग्रस्त भएर भट्टराईले पनि राजनीतिक स्वर्थबश माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई गोरखा २ को आफ्नो क्षेत्र छाडेर सोही प्रवृत्तिको पुनारावृत्ति भट्टराईले गरेका थिए।
आफ्नो छोरी मानुषि यमिलाई काठमाडौं ६ मा माओवादीकै निर्वाचन चिन्हमा उम्मेदवारी दिन लगाएर आफूले गोरखा २ छाडेका थिए। भट्टराईको सो कार्य प्ुरानै दलसँगको सहकार्यको पछिल्लो एक कडी हो।
यस अघि २०७४ मा पुरानाको विकल्प भन्दे गठन गरिएको दलका नेता रहेका उनले कांग्रेसँग चुनावी गठबन्धन गरेर गोरखा २ मा जितेका थिए। यसले निर्वाचन जित्न पुरानै दलसम्ग सहकार्य गर्न तयार हुने उनले वैकल्पिक दलको आभाष दिन नसकेको प्रष्टै हु्न्छ।
त्यस अघि एमाले माओवादी चुनावी गठबन्धन घोषणा कार्यक्रमममा सरिक भएर सहकार्य गर्ने प्रतिबद्धता समेत जनाएका थिए। पछि सिट भाबण्डामा कुरा नमिलेपछि उनी अलग भएका थिए।
पुरानै राजनीतिक दलको विकल्प भन्दै गठन गरिएको उनको दलले चुनाव जित्न विद्यमान दलको साथ खोजे पछि वैकल्पिक दलका रुपमा जनताले विश्वास गर्न सकेनन्।
फलतः वैकल्पिक दलको रुपमा अन्य दलले अहिले आफूलाई स्थापित गर्न सफल भए भने भट्टराईलाई माओवादीमा हुँदा भनिएझैं विचारकका रुपमा सफल र संगठकका रुपमा कमजोर भएको पुनर्पुष्टि गरेकोे छ।
Facebook Comment