कविता : आँखाको महिमा

शंकरप्रसाद रिजाल
१ असार २०८१ ७:११

आँखा दृश्यको जालो जो परैबाट देखिने
त्यो आँखा झट्ट हेर्दा कतैबाट नदेखिने

अर्काको आँखको बिन्दु हेरी चित्त बुझाउनु
सबैको आँखको सिन्धुमा आफूपनि नुहाउनु

आँखा ज्योतिको जोडी टक्क एक देखिने
दुबैको दृश्य हेर्दामा एकै चिज बन्दिने

राति निदाई यो पुग्छ आफ्नै अदृश्य लोकमा
बिहान उठी यो हेर्दा फर्किन्छ आफ्नै नजरमा

आँखा टक्क अडी हेर्छ आफ्नो प्रिय बस्तुमा
यही आँखा डुलिरहन्छ आफ्नै त्यो संसारमा

भर छैन आँखाको जहाँ पनि त्यो देखने
कसैको गोप्य बस्तुमा आँखा टक्क लगाउने

बाहिरको दुई आँखा प्रिय अप्रिय छुट्याउने
अन्तरंगको त्यो आँखा सबै समान देखने

आँखामा आँसुको धारा बग्छ त्यो नदी बनी
त्यही आँखाबाट आँसुका थोपा खस्छ मोतिबनी

आँखा निद्राको पाना किताब सरि सुत्दछ
यही आँखा बिहानीमा खुरुक्क फेरि उठ्दछ

आँखाको महिमा हेर संसारमा नबिर्सिने
आखा मोनालिसाको हेर संसारै छक्क पारने

आँखा सबको प्यारो संसारै सब देखिने
त्यसमा गाजलको रेखा भित्रै देखि लोभ्याउने

सुन्दर आँखाको बर्णन सबैले गर्दछन् यहाँ
यसको सुन्दरतामा खुसी हुन्छन् जहाँतहाँ

यही आँखा खुसीमा चारैतिर रमाउँछ
आँखा सोकमा फेरि आँसुधारा बगाउँछ

आँखाले परेला छोपी दिन निशा बनाउँछ
यसैको हेराइमा फेसर स्वर्ग तुल्य बनाउँछ

परेलाले छोपी आँखा भित्र कतै निदाउँछ
खोलेमा यसले फेरि निर्मल दृष्टि देखाउँछ

हेर्ने आँखा जोडी छन यो सधैं अतृप्त छ
तेस्रो आँखा एकै छ यो सधैं तृप्त छ

बाहिरको दुइ आँखाले हेरेमा संसारै रमाउने
निधार भित्रको आँखा भित्र भित्रै देखाउन

आँखाको महिमा हेर यसको मूल्य अपार छ
त्यही आँखा निद्रामा हेर कतै लुकी बस्दछ

अगाडि देखने आँखा अगाडिनै बनेको छ
पछाडि हेर्ने आँखा निधारमा लुकेको छ

हेरेमा तेस्रो आँखाले संसार एक देखिने
जोडी आँखाले हेरेमा जगतै रम्य देखिने

खुलेको आँखामा हेर मुहार कति झल्ल छ
सुतेको आँखमा हेर नारायण सुते सरी छ

दुबैको मिलनमा हेर विश्व कति क्रौन्च छ
यसको बिछोडमा हेर दृष्टि कति मौन छ

ठूलो संसारको बाटो आँखाले नै देखाउँछ
यसको बन्द पर्दामा अन्धो नै बनाउँछ

हेर आँखा दिनमा बलेको बत्तिको दियो
आँखा अँध्यारोमा हेर अन्धोले खोजने सियो

आखीर यही आँखाको नानीमा छोडी सबै मरेसरी
आशाका तीरका तार छर्रा बनी उडेसरी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *