वतावरणीय प्रदूषणका सहायक बन्दै दैनिक उपभोग्य सामग्रीहरू
यो वर्ष दक्षिण तथा दक्षिण-पूर्वी एशियामा अघिल्ला वर्षहरू भन्दा ज्यादै गर्मी बढेको छ। दक्षिण एशियाका भारत, पाकिस्तान र बंगलादेशमा यो वर्ष औषतन ४५ डिग्री सेल्सियस तापमान पुगेको छ।
खासगरी अप्रिल र मे महिनामा सबैभन्दा बढी गर्मी हुने दक्षिणपूर्वी एशियाका मुलुकहरूमा समेत दिउँसोको समयमा यो वर्ष ४० डिग्री सेल्सियस भन्दा बढी तापमान पुगेको छ।
यसरी अप्रत्याशित रूपले गर्मी बढ्नाले ती मुलुकका जनताले आफ्नो नियमित काम गर्न निकै कठीन भएको छ भने उष्ण हावाकै कारण धेरै मानिसले ज्यान गुमाउनुका साथै हजारौँ मानिसहरू अस्पतालको शरणमा पुगेका छन्। पानीको हाहाकार पर्न थालेको छ भने सुख्खाको कारण बाली सुक्नुका साथै पशुपंक्षी पनि नराम्ररी प्रभावित भएका छन्।
शहरहरूमा चरम गर्मी कै कारण फोहरमैला कुहिएर वातावरण दुगन्धित र रोगग्रस्त बनेको अवस्था छ। चीनको पूर्वी र पश्चिमी क्षेत्रमा पनि यो वर्षको चरम गर्मीले गर्दा निकै कष्टकर भएको छ जीवन। ग्रीस तथा केही अन्य यूरोपेली मुलुकमा पनि गर्मी निकै बढेको छ। मध्यपूर्वको त कुरै नगरौँ। हरेक वर्ष गर्मीयाममा त्यहाँ बसिनसक्नुको गर्मी हुने गर्दछ।
नेपाल पनि यो अवस्थाबाट मुक्त छैन अब। नेपालको तराई क्षेत्रमा अघिल्ला वर्षहरूमा भन्दा यो वर्ष गर्मी निकै बढेको छ। तराइमा औषनत ४० डिग्री सेन्टिग्रेट भन्दा बढीको उखर्माउलो गर्मी छ भने पहाडी क्षेत्र पनि गर्मीले आतंकित छ। आजभन्दा २०-३० वर्ष अघिसम्म पनि नेपालमा यत्तिको गर्मी हुँदैनथ्यो।
जनसंख्या तिव्र रूपले बढ्नु, बढ्दो जनसंख्याकै आवश्यकता परिपूर्ति गर्नको निम्ति वन-जंगलको व्यापक फँडानी हुनु, बढ्दो आवादीको आरामदायी जीवनशैलीका लागी खानपानदेखि सबै प्रकारका आवश्यकता जस्तै यातायात, आवास, विभिन्न उपकरण तथा सामग्री र पूर्वाधारहरूको विकास तथा यी सबै वस्तु तथा सेवा प्रदान गर्न अथाह मात्रामा जैविक उर्जाको उपयोग गरेर विश्वव्यापी औद्योगिक उत्पादन गरिनाले पृथ्वीको तापक्रम वर्षेनि बढ्दै गएको हो।
तापक्रम जति बढ्यो वातानुकुलित अवस्थामा बस्न सघाउने उपकरणहरूको उत्पादन र बिक्री पनि त्यति नै बढ्ने र यसको असर पृथ्वीको बढ्दो तापमानमा नै पर्ने।
केही वर्ष अघिदेखि त तापक्रम बढ्ने क्रम ज्यादै नै उच्च विन्दुमा पुगेकोले पृथ्वीमा बाढी-पहिरोदेखि सुख्खा तथा आगजनीका घटनाहरू डरलाग्दो प्रकारले बढ्दै छन्। नेपालकै कुरा गर्दा हिमालमा हिउँ कम हुँदै गएर सेता पर्वतहरू काला हुँदै गएका छन् भने हिमनदीहरू हराउँदै गएका छन्।
एक प्रकारले क्रमिक रूपमा मरुभूमिकरण हुँदैछ। त्यस्तै अप्रत्याशित बाढी-पहिरोका घटना बढ्दै गएका छन् भने गर्मी बढ्दै गएर लामखुट्टदेखि गर्मी क्षेत्रमा बस्ने विभिन्न प्रकारका खतरनाक जीवजन्तु पनि धमाधम पहाड उक्लन थालेका छन्।
वर्षा र हिउँदको मौसम कहिले शुरु हुने र कहिले सकिने भन्ने कुराको निश्चितता नै नहुने अवस्था आइरहेको छ। सगरमाथाको आधार शिविर बनाइने ६,००० मिटरको क्षेत्र पनि हिउँरहित र उष्ण हुन थालिसकेको छ। यो कुनै हालतमा पनि राम्रो संकेत होइन।
मौषम परिवर्तन र पृथ्वीको बढ्दो गर्मीका कारक तत्व हामी मात्र नभएर विकसित तथा औद्योगिक राष्ट्रहरू बढी जिम्मेवार भएका र यो समस्याको समाधान खोज्न विश्वमा पेरिस सम्झौता २०१५ देखि कोप २८ शिखर सम्मेलनसम्म विभिन्न प्रकारका सम्मेलन र निर्णयहरू भएका छन्।
तर पनि प्रत्येक देशका सरकार, समाज र व्यक्तिले आफ्नो तर्पmबाट वातावरण संरक्षण गर्न के कस्ता कदम चाल्नु पर्छ भन्ने कुरा आपैmले सोच विचार गरेर कार्यान्वयनमा ल्याउन सक्नु पर्दछ।
हाम्रा साना प्रयासले पनि यो महान् कार्यमा केही न केही योगदान पु¥याइरहेका हुन्छन्। यही लेख मार्पmत हामीले नेपालमा विगतमा र हालका दिनमा प्राकृतिक स्रोत बारे गर्ने गरेका केही राम्रा र नराम्रा कुराहरू बारे लेखाजोखा गरौँ न।
आजभन्दा ३०-३५ वर्ष पहिलेसम्म पनि नेपालका ग्रामीण र शहरी इलाकाका मानिसहरूको जीवनशैली पुरातन मान्यतामा नै चलेको थियो। हामी साना छँदा हाम्रा आमा तथा अभिभावकहरूले आफ्ना पुराना धोती च्यातेर हामीले गरेका शौचको सरसफाईको निम्ति टालाहरू बनाउँथे।
केटाकेटीले शौच गरेर फोहर भएका टालालाई धोएर सुकाएपछि ती टाला फेरि फेरि पनि उपयोगमा आउँथे। गाउँघरमा सुत्केरीलाई भेट्न जाँदा त्यस्ता टालाहरू पनि लगिदिने चलन थियो।
त्यतिमात्र कहाँ हो र? रजस्वला हुँदा लगाउने प्याड पनि घरमा भएका कपडाहरूबाट घरैमा सिलाइन्थे। पेट दुखेको बेला घरैमा भएका धोतीहरूबाट पटुका बनाइन्थ्यो।
पछि शिशुहरूलाई लगाइदिने नयाँ प्रकारको टालो बजारमा आउन थाल्यो र घरको पुरानो धोती भन्दा त्यसको प्रयोग बढ्दै गयो। बजारमा पाइन थालेको त्यस्तो कपडाको टालो नरम र स्वास्थ्यकर हुनुका साथै महिनौँसम्म प्रयोग गर्न सकिने हुन्थ्यो।
प्रत्येक पटक शिशुले शौच गरेर फोहर गरेपछि भने त्यसलाई धुन राखेर अर्को टालोको प्रयोग गर्नु पर्दथ्यो। तर त्यो भन्दा पनि सजिलो डाइपर रूपी टालो बजारमा पाउन थालेको पनि अब त एक दशक भन्दा बढी भइसक्यो। हाल आएर शिशुहरूलाई डाइपर लगाइदिने चलनले व्यापकता पाएको छ।
शिशुले शौच गरेपछि डाइपर फेरी दियो र फोहर डाइपर डस्ट बिनमा फ्याँकिदियो वा झ्यालबाट फुत्त सडकमा फ्याँकी दियो। सडकका कुकुरलाई बाटोमा सुन नै भेटेजस्तो हुन्छ त्यस्ता डाइपर मुखमा राखेर डौडन पाएपछि।
अब एउटा सानो तथ्यांक पट्टि लागौँ। नेपालमा सन् २०२४ को जनसंख्याको तथ्याङ्क अनुसार वर्षेनी करिव ५ लाख ४० हजार नयाँ शिशुहरू जन्मन्छन्। ती मध्ये एक चौथाईलाई मात्र आधुनिक डाइपरको प्रयोग गरियो भने दैनिक औषत ८ डायपर (प्रथम वर्ष १०, द्वितिय र तृतिय वर्ष ६, ६) को हिसाबले ३ वर्षमा ती शिशुहरूलाई १ अर्ब १८ करोड २६ लाख थान डाइपरको आवश्यकता पर्दछ।
हालको बजार मूल्य अनुसार एउटा डाइपरको मूल्य करिव २५ रुपैयाँ पर्छ भने नेपालमा १ वर्षमा जन्मने शिशुहरू मध्ये २५ प्रतिशतका लागी मात्र पनि ३ वर्षको डाइपर लगाउने अवधिमा करिव २९ अर्ब ५६ करोड ५० लाख रुपैयाँ खर्च हुँदो रहेछ।
अधिकांश यस्ता डाइपर विदेशबाट आयात हुने भएकोले यो एक वस्तुमा मात्र हामीले फजुलमा कति विदेशी मुद्रा खर्च गर्दा रहेछौँ भन्ने कुरा यसैबाट प्रष्ट हुन्छ। घरमा कपडाका रेडिमेड टालो नै प्रयोग गरेर बाहिर जाँदा मात्र भने यस्ता डाइपर लगाइदिनु जायज कुरा हो।
त्यस्तै बिरामी वृद्ध-वृद्धाहरूको निम्ति पनि डाइपर राम्रो विकल्प हो। तर बाआमाको गुहु–मुत्र सोहर्नु प¥यो भन्दैमा सधैँ डाइपर लगाएर छोड्नाले त्यसैबाट स्वास्थ्य सम्बन्धी अनेकन जटिलताहरू निम्तन बेर लाग्दैन।
पुरै दक्षिण एशियामा आजसम्म पनि अधिकांश मानिसले शौच गर्दा पानी नै उपयोग गर्दछन्। तर विस्तारै नयाँ चलनले पुरानालाई विस्थापित गर्दैछन्। विश्वको एक चौथाई जनसंख्या रहेको दक्षिण एशियाका केही प्रतिशतले गर्ने फरकले पनि आर्थिक रूपमा ठूलो फरक पार्न सक्दछ।
निकै पछिसम्म पनि शौच गरेपछि पानीले धुने चलन थियो। टोइलेट पेपरको चलन निकै पछि आएको हो। चर्पीको भित्तामा साबुनको सानो टुक्रा टाँसेर राखिएको हुन्थ्यो। शौच पश्चात् हात सो साबुनमा दलेर वा माटोमा हात दलेर धुने गरिन्थ्यो।
हिजोआज रेष्टुरेन्टमा खाना खान जाँदा पेपर न्याप्किनको प्रयोग प्रचुर मात्रामा हुने गरेको छ। एक त ग्राहकहरूले आवश्यकता भन्दा बढी न्याप्किन झिकेर हात, मुख पोछ्ने र यत्रतत्र फ्याँक्ने गर्छन् भने अर्को तर्फ रेष्टुरेन्टका वेटरहरूले टेबुल सफा गर्न पनि पेपर नेप्किन कै प्रयोग गर्दछन्। भोजभतेरमा पनि यस्तै दृश्य देख्न सकिन्छ।
रेष्टुरेन्ट र पार्टी प्यालेसको संस्कृतिको विकास देशव्यापी भइसकेको आजको जमानामा यस्ता झिना मसिना जस्ता देखिने कुराको चर्चा गर्नु त्यति प्रासङ्गिक नहोला। तर यस्ता फुटकर सामग्रीको खपत र अर्थतन्त्र तथा वातावरणमा पर्ने असर बारे घोत्लिनु निकै जरुरी भइसकेको छ।
भोजभतेर तथा घरका साधारण जमघटमा पनि प्लास्टिक र कागजका प्लेट तथा गिलासले आधिपत्य जमाइसकेका छन्। एक चोटी प्रयोग गरेर फ्याँकिदियो, न भाँडा माझ्ने टन्टा न भाँडा हराउने नै डर। तर हामी कहिल्यै सफा नगरीएका र लामो समयसम्म विभिन्न ठाउँमा भण्डारण गरिएका त्यस्ता प्लेट र गिलाँसहरूको प्रयोग स्वास्थको हिसाबले कत्तिको उपयुक्त छ भन्ने कुराको पनि विचार गर्दैनौँ।
घरका भाँडाकुँडा त आखिर सफा गरेर नै राखिएका हुन्छन् र लामो समयसम्म उपयोग पनि गर्न मिल्ने हुन्छन्। टुथ पिक भन्ने दाँत कोट्याउने तथा खानामा घोचेर खाने सानो वस्तुको पनि दुरुपयोग व्यापक रूपमा बढेको बढेको छ।
विशेषगरी कोभिडको महामारीदेखि काठमाडौँ र नेपालका सबैजसा शहरहरूमा खाना अर्डर गरेपछि आधारातमा पनि घरैमा पु¥याइदिने व्यवस्था छ। खासगरी युवाहरूमा यो सेवाले बढी प्रभाव पारेको देखिन्छ।
त्यस्ता खाद्य सामग्री कागज तथा प्लास्टिकका बट्टाहरूमा घरघरमा पुग्छन् भने तिनको साथमा अचार र ससका प्याकेट पनि हुन्छन्। प्लास्टिकका चम्चा र काँटा तथा कागजका न्याप्किनका मुठा सहित प्राप्त हुने त्यस्ता खाद्य सामग्री प्लास्टिक तथा सिन्थेटिक झोलाहरूमा आइपुग्छन्। प्रायजसो यसरी आएका सामग्रीको पुरै प्रयोग भए पनि वा नभए पनि खाना खाने काम सकिए पछि यी सब कुरा फ्याँकिन्छन्।
अब हामी आफैं सोचौँ नेपालभरमा यसरी रातबेरात घर भित्रेका जंकफूडले स्वास्थ्यमा कति असर पारेका होलान् र कति प्राकृतिक स्रोत र साधनको विनासित्ती दुरुपयोग भएको होला। घरमा डेलिभरी गरिने अन्य सामानको प्याकेजिङ खर्च भएका वस्तुहरूको उपादेयता पनि सामान हातमा पर्ने वित्तिकै सिध्दिन्छ।
ठूला ठूला होटेल वा सम्भ्रान्तहरूको घरका डाइनिङ टेबलमा कपडाका न्याप्किनको प्रयोग हुन्थ्यो। प्रयोग ग¥यो, धोयो, पुनः प्रयोग गर्यो। तर हिजोआज त्यस्ता कपडाका न्याप्किन विशालबजारहरूमा पनि पाउन कठिन भएको छ।
हामी साना छँदा हामीले र हाम्रा अग्रजले पनि खानेपानीको निम्ति भिरेर हिँड्न मिल्ने धातुका टुमलेट बोक्ने गर्दथ्यौँ भने घरमा तामा, पित्तल र माटाका गाग्री, सुराही र मगमा खानेपानी भण्डारण गर्ने गरिन्थ्यो। घरमा खासगरी करुवा र गिलाँसमा पानी पिउने चलन थियो।
पछि पछि रक्सी, स्क्वायस र अन्य सामग्रीका काँचका बोतलमा पानी राख्ने गर्न थालियो। तर हाल आएर त बजारमा पाइने अधिकांश पेय पदार्थ या त प्लास्टिकका बोतलमा या कागजका बट्टामा राखेर बेचिन्छ। यसो भन्दैमा यस्ता आधुनिक बन्दोवस्तीमा पुरै खराबी छ भन्ने पनि होइन, खाली प्राकृतिक स्रोतको सही सन्तुलन गरेर यस्ता वस्तुको उपयोग गर्नु पर्छ भन्ने मात्र मान्यता हो।
पुरानो जमानामा किनमेल गर्न जाँदा कपडा तथा जुटका झोला तथा चोया, छ्वाली र अन्य वस्तु बुनेर बनाइएका बास्केटहरू लिएर जाने गर्दथे मानिसहरू। डेरीको दूध खरिद गर्न काँचका बोतल नै बनाइएको हुन्थ्यो। पानी पिउन करुवा हुन्थे र अलि पछि काँचका बोतलहरूमा पनि पानी भरेर राखिन थाले।
घरमा अनाज तथा खाद्यान्न भण्डारण गर्न भकारी र घ्याम्पो तथा टिनका बट्टा, काठका ठेकी र बट्टा र जुटका बोरा हुन्थे। थोरै परिमाणमा तेल तथा घिउ किन्न आफ्नै भाँडा लिएर जानु पर्दथ्यो तर आज सबै थोक प्लास्टिकका झोलामा पाइन्छ र उपभोग पश्चात् फ्याँकिन्छन्।
दोस्रो विश्वयुद्ध चलिरहेको बेला बेलायत तथा अन्य मुलुकबाट सामान आउन नसकेको र भारतमा पनि बिजुलीका र अन्य घरायसी प्रयोगका सामानको अभाव हुँदा स्थानीय प्रविधिबाट स्थानीय वस्तुहरूकै प्रयोग गरेर बनाइएका सामानहरूको उपयोग हुने गरेको थियो रे।
यस्तै परिस्थितिबाट आधुनिक स्वावम्बनका सोचहरू निस्कन थालेका होलान् भने किफायती हुन पनि सिकेका हुन् पहिलेका मानिसले, तर अब त्यस्ता सबै कुरा बिर्सिँदै गइसके नयाँ पिँढीले।
सूचना प्रविधिको तिव्र विकासले गर्दा भने हिजोआज चिठीपत्र, दैनिक छापा, चुनावका पर्चा, पोस्टर आदिको उत्पादन र प्रकाशनमा निकै कमी आएको छ। तर पनि विश्वभरी कैयन् फजुलका पत्रिका, पुस्तक, साहित्य, प्रतिवेदन, दस्तावेज र सरकारी कागजातको प्रकाशनले भने अझै पनि ठूलो अनुपातमा प्रदूषण र वातावरणीय ह्रासलाई बढावा दिने गरेका छन्।
सिंगापुर एउटा ज्यादै नै सानो मुलुक भएर पनि उसले सबै थरीका अनुशासनहरू आफ्ना जनतालाई सिकाएको छ। वातावरण संरक्षणमा यो मुलुक अति नै प्रतिवद्ध छ।
कुनै पनि कुरा खेर फाल्नु हुँदैन वा कुनै पनि वस्तुको दुरुपयोग गर्नु हुँदैन भन्ने कुरा विद्यालय, विश्वविद्यालय, कार्यक्षेत्र र मुलुकका सबै निकायका मानिसलाई बुझाएको हुन्छ त्यहाँको सरकारले र भन्दा भन्दै खेर फ्याँक्ने र दुरुपयोग गर्ने व्यक्तिलाई उसको अपराध मुताविकको जरिवाना र अन्य सजाय पनि तोकेको हुन्छ र सोको अक्षरशः पालना हुने गर्दछ। जिरो वेस्ट सिद्धान्तको सिंगापुर एक ज्वलन्त उदाहरण नै बनेको छ।
हामीले पनि नेपालमा हाम्रो शिक्षा प्रणालीमा प्राकृतिक स्रोत र साधनको सही उपयोग र कम भन्दा कम खेर फाल्ने सिद्धान्तको ज्ञान हुने पाठ्यक्रम बनाउन सक्नु पर्दछ र त्यसलाई सबै क्षेत्रमा लागु हुने व्यवस्था गर्नु पर्दछ।
कडाइ भन्दा पनि मुलुकका सबै जनतालाई साना टोइलेट पेपर, न्याप्किन, डाइपर, टुथ पिक, सलाई आदि बनाउनको निम्ति पनि कति धेरै रुख काट्नु पर्ने हुन्छ र प्लास्टिकजन्य वस्तुका हानी र नोक्सानी बारे पनि बुझाउनु जरुरी छ।
वातावरणको सही संरक्षण गर्न प्रत्येक नेपाली, दक्षिण एशियाली र पृथ्वीका सम्पूर्ण बासिन्दा र निकायहरूले विशेष ध्यान पु¥याउनु र पहलकदमी गर्नु पर्दछ।
प्राकृतिक सन्तुलन कायम राखी हामीले प्रकृतिबाट प्राप्त यस्ता सामग्रीको कति उपभोग गर्ने र के कसरी प्रकृतिको सम्वद्र्धन गर्ने भन्ने जुक्ति जान्नुका साथै कार्यान्वयनमा ल्यायौँ भने हाम्रो पृथ्वी हामी र भविश्यका पिँढीको निम्ति पनि स्वर्ग समान भइरहन्छ भन्ने कुरा राम्ररी मनन गर्नु जरुरी छ।
-लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।
Facebook Comment