सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३.४१ प्रतिशत हुने अनुमान
सुदूरपश्चिम। चालु आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ उत्पादनको आकार रु चार खर्ब चार अर्ब २८ करोड र आर्थिक वृद्धिदर तीन दशमलब ४१ प्रतिशत रहने अनुमान छ।
गत आवमा वृद्धिदर एक दशमलब ५२ प्रतिशत रहेको थियो। प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले आव २०८०र८१ को गत फागुन महिनासम्मको आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुहुँदै चालु आवमा राष्ट्रिय अर्थतन्त्रको आकार रु ५७ खर्ब चार अर्ब ८४ करोड हुने र आर्थिक वृद्धिदर तीन दशमलब ५४ प्रतिशत हुने अनुमान गरिएको बताए।
प्रदेश सरकारले प्रदेशसभाको बैठकमा असार १ गते आगामी आव २०८१/८२ को लागि राजस्व र व्ययको अनुमान (बजेट) पेस गर्दै छ। बजेट प्रस्तुत गर्नअघि प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री पालले प्रदेशभित्रका समष्टिगत आर्थिक परिसूचक, खर्चको प्रवृत्ति, सामाजिक विकासका प्रमुख सूचकहरु समावेश गरिएको आव २०८०/८१ को फागुनसम्मको आर्थिक सर्वेक्षण प्रस्तुत गरेका हुन्।
प्रस्तुत आर्थिक सर्वेक्षणमा चालु आवमा राष्ट्रिय कूल गार्हस्थ उत्पादनमा सुदूरपश्चिम प्रदेशको योगदान सात दशमलब एक प्रतिशत रहने अनुमान गरिएको छ। चालु आवको फागुनसम्ममा औसत उपभोक्ता मुद्रास्फिति चार दशमलब ८२ प्रतिशत र औसत थोक मुद्रास्फिति तीन दशमलब ६९ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख छ।
सर्वेक्षणमा चालु आवमा कृषि क्षेत्र र सेवा क्षेत्रको वृद्धिदर क्रमशः तीन दशमलव ४२ प्रतिशत र चार दशमलब शून्य नौ प्रतिशत धनात्मक रहने अनुमान गरिएको छ। आव २०७९/८० मा सुदूरपश्चिम प्रदेशको आय एक हजार ६३ अमेरिकी डलर रहेकोमा चालु आव २०८०/८१ मा उक्त आय एक हजार एक सय ११ अमेरिकी डलर रहने अनुमान गरिएको छ।
चालु आवको गत फागुनसम्म प्रदेश सरकारको कूल आय गत आवको सोही अवधिको तुलनामा १३ दशमलब ५६ प्रतिशतले घटेर रु १७ अर्ब ९९ करोड ४७ लाख पुगेको छ। गत फागुनसम्म सरकारको आन्तरिक राजस्व रु ७६ करोड ६४ लाख, बाँडफाँटबाट प्राप्त राजस्व रु चार अर्ब ८७ करोड ,सङ्घीय अनुदान प्राप्त रु सात अर्ब ७८ करोड ९१ लाख र नगद मौज्दात रु चार अर्ब ४६ करोड दुई लाख गरी कूल आय रु १७ अर्ब ९९ करोड ४७ लाख रहेको छ।
फागुनसम्म प्रदेश सरकारको कूल खर्च रु सात अर्ब १४ करोड ७३ लाख रहेको छ। जसमध्ये चालु खर्च रु तीन अर्ब ७० करोड २४ लाख र पुँजीगत खर्च रु तीन अर्ब ४४ करोड ४९ लाख रहेको छ। चालु वर्षको फागुनसम्मको सरकारको राजस्वमध्ये कर राजस्व रु ४४ करोड १३ लाख र गैरकर राजस्व रु ३२ करोड ५१ लाख रहेको छ।
आर्थिक सर्वेक्षणमा चालु वर्षको गत फागुनसम्म प्रदेशका स्थानीय तहको चालु र पुँजीगत गरी कूल रु २३ अर्ब ८८ करोड ३३ लाख खर्च भएको छ। यो अवधिमा स्थानीय तहलाई प्रदेश सरकारले रु १९ करोड ४२ लाख राजस्व बाँडफाँबापत वित्तीय हस्तान्तरण गरेको छ। चालु वर्षको माघसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप रु एक खर्ब ३७ अर्ब पुगेको र कर्जा प्रवाह रु एक खर्ब ५३ अर्ब रहेको छ।
आर्थिक सर्वेक्षणमा चालु वर्षको फागुनसम्म प्रदेशको एक लाख ८० हजार हेक्टरमा धान बाली खेती भएकोमा छ लाख ७४ हजार मेट्रिकटन उत्पादन भएको अनुमान गरिएको छ। यस्तै मकै एक लाख तीन हजार मेट्रिक टन, कोदोे १९ हजार मेट्रिक टन उत्पादन भएको अनुमान छ।
प्रदेशमा दर्ता भएका एक हजार पाँच सय पाँच ओटा नयाँ उद्योगको कूलस्थिर पुँजी र ९९ करोड र चालु पूँजी रु ८६ करोड ६० लाख रहेको र यी उद्योगबाट चार हजार छ सय २१ रोजगारी सिर्जना हुने, पेट्रोलियम पदार्थको भण्डारण क्षमता वृद्धि भएकोलगायतका विषय आर्थिक सर्वेक्षणमा समेटिएको छ।
Facebook Comment