लोकसेवा आयोगको विश्वसनीयता कायम राख्न जरुरीः उपराष्ट्रपति यादव

काठमाडौं। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताको आशाको केन्द्रको रुपमा काम गर्न लोकसेवा आयोगलाई सुझाव दिएका छन्।
लोकसेवा आयोगको बार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उपराष्ट्रपति यादवले दक्ष, सक्षम र उत्कृष्ट जनशक्तिको सरकारी सेवा प्रवेश अहिलको आवश्यकता भएको भन्दै वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताको आशाको केन्द्रको रुपमा काम गर्न सुझाव दिएका हुन्।
सबै खालका परिवर्तनलाई आवश्यकता अनुसार व्यवस्थापन गर्दै कर्मचारीको छनौटमा आयोगले विशेष ध्यान दिनुपर्ने उनले बताए।उनले कर्मचारी भर्ना र छनोट समग्र प्रशासन संयन्त्रको जग भएकाले गलत भर्ना नीति र भर्नाले प्रशासनिक सङ्गठनमा स्थायी खराबी प्रवेश गर्न सक्नेतर्फ आयोग सदैव सचेत हुन जरुरी रहेको बताए।
आयोगले योग्यता, निष्पक्षता, स्वच्छता, समान अवसर, समावेशीता, परिचय शून्यता, असंलग्नता तथा गोपनीयताको सिद्धान्तअनुसार कार्यसम्पादन गर्नु प्रशंसनीय रहेको भन्दै उनले यसलाई निरन्तरता राख्न जरुरी रहेको धारणा राखे। मुलुकमा संघीयता कायम भइसकेपछि समावेशी सहभागीतालाई समयसापेक्ष परिस्कृत गर्र्दै आयोग अघि बढ्नुपर्ने उनको भनाइ छ ।
आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सार्वजनिक निकायका कर्मचारी भर्ना र छनोटमा योग्यता प्रणाली स्थापित गर्न लोकसेवा आयोग अग्रणी संस्थाका रूपमा स्थापित भएको बताए।
उत्तरपुस्तीका परिक्षणलाई थप विश्वसनीय बनाउन दुई जना बिज्ञबाट अलग अलग परिक्षण गर्ने व्यवस्था गरिएको उनले बताए। उनले पाठ्यक्रम र परीक्षण पद्धतिमा सुधारका लागि आयोगका सदस्यको अध्यक्षतामा परीक्षण प्रविधि सुधार सुझाव समिति गठन गरी अध्ययनको कार्य भइरहेको जानकारी दिए।
कार्यक्रममा आयोगका पूर्वसदस्य भीमदेव भट्टलाई विशेष सम्मान प्रदान गरिएको थियो भने उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई समेत सम्मान गरिएको थियो।
Facebook Comment