दृष्टिकोणमा अदलबदल

कृष्ण बोहरा
३ असार २०८१ १०:२२

हरेक बस्तु वा घटनालाई हामी जति नजिकबाट हेर्छांै त्यति त्यसमा प्रष्टता आउँदै जान्छ। प्रष्ट हुनलाई अझ नजिकबाट खोतल्नु आवश्यक छ। जति हामी नजिक जान्छौं र त्यसलाई खोतल्छौं उति उति प्रष्ट चित्र आउँछ। यसका राम्रा र नराम्रा कुराको वारेमा स्पष्ट चित्र देखिन थाल्छ।

उदाहरणको लागि पोखरा शहर यस्तो होला भनि कल्पनामा पोखराको बारेमा धारण बनाउनु र त्यहीँ पुगेर घुमेर बनेको धारणामा धेरै अन्तर हुन्छ। जति कुनै पनि बस्तु र घटनाको बारेमा प्रष्ट हुँदै जान्छ त्यति दृष्टिकोणहरु बदलिँदै जान्छन। राजतन्त्र, गणतन्त्र र लोकतन्त्रकोसमेत स्पष्ट चित्र आइसकेको छ।

सुरुमा सर्बसाधारण सबैलाई लाग्दथ्यो कि राजा गएपछि त उलट पुलट हुनेछ। सर्बसाधारणको रोजिरोटीका समस्यादेखि सबै समस्या समाधान हुनेछ। जब राजा गएर गणतन्त्र आयो, तव देखियो सोचेको र कल्पना गरेको कुरामा सत्यताको अंश ज्यादै न्यून रहेछ।

यति मात्र हैन दिएको आश्वासन समेत वास्तविकतामा मेल नखानेरहेछ। लेख्न पाइने, बोल्न पाइने, कराउन पाइने, कति राम्रो व्यबस्था! बोलेका कराएका कुरा राज्यले नसुन्ने भएपछि पागल हुन्छ मान्छे। हो यस्तै पागल हुन पाउने स्वतन्त्रता आजको लोकतान्त्रिक गणतन्त्रले सुरक्षित गरेको छ।

वास्तवमा जनतालाई चाहिएको स्वतन्त्रता रोजिरोटीको स्वतन्त्रता हो। त्यो त पूरा भएन नि! तर सर्बसाधारण सबैलाई यो कुरा सुरुमा थाहा थिएन। यदि यो कुरा थाहा हुन्थ्यो भने न राजतन्त्रको बिरुद्धमा यति बिघ्न मानिसहरु लाग्दथे। न माओवादी जनयुद्धमा बन्दुक बोक्ने मानिस नै भेटिन्थ्यो।

यसै परिबेशमा पार्टी नेता तथा ठूला बडालाई हेर्ने दृष्टिकोण पनि बार बारको उनीहरुकै व्यबहारका कारण जवरजस्त दृष्टिकोणहरु परिवर्तन हुन्छन र हँुदै आएका छन। पञ्चायत कालदेखि आजसम्म आउँदा अनगिन्ती दृष्टिकोणहरु परिवर्तन भएका छन। यो दृष्टिकोण परिवर्तनका कुरा श्रृंखलाबद्ध छ। सकारात्मकबाट नकारात्मकतिर छ।

पार्टीका इमान्दार कार्यकर्ता र जनतामा यो कुरा लागू भैरहेको छ। सुरुमा कांग्रेस र कम्युनिष्ट पार्टीका नेताहरुप्रति मानिसहरु सकारात्मक थिए। नेताहरु सबैका प्रिय नेताहरु थिए। उनीहरुले गरेका आह्वानमा मानिसहरु मर्न मार्न तयार हुन्थे। यसैकारण पहिलो र दोश्रो जनआन्दोलन सफल भएको थियो।

जब यी दुबै पार्टीले पालैपालो सरकार बनाउन थाले सर्बसाधारणका सोचहरु उनीहरुप्रति बदलिन पनि थाले। यसमा एमालेको नौ महिने सरकार अपवाद हुन सक्छ। उदार पूँजीवाद, खुल्ला बजार नीतिले हाम्रो जस्तो बिकासोन्मूख देसलाई सखाप पारेर छाडयो। सबै राज्यको स्वामित्वमा भएका उद्योगहरु कौडीको दाममा बेचियो।

बिदेशी स्वार्थका कारण उक्त उद्योगहरु पूराका पूरा बन्द नै भए। जसको फल हामीले अहिले भोग्दै छौं। यस्ता अनगिन्ती नकारात्मक कामहरु दृष्टिकोणहरु बदल्न सहायक सिद्ध भएका छन। तस्करी र काला बजारी बढे। घुसखोरी र भ्रष्टाचार पञ्चायत कालमा भन्दा ज्यादा बढ्यो। यो त चरम चुलीमा नै पुग्यो।

कांग्रेस र कम्यूनिष्टका उ बेलाका राम्रा नेताहरु नराम्रा मानिसमा बद्लिए। मानिस उनै हुन तर उनीहरु पहिले राम्रा लाग्थ्यो अव राम्रा लाग्न छाड्यो। किनकी पहिले उनीहरुको कुरा र भाषणको आधारमा मन मष्तिष्कमा धारणा बनाइएको थियो। अहिले उनीहरुको व्यबहारका आधारमा मूल्यांकन भयो।

नेताहरुका आलिसान महल राजधानीमा ठडियो। अथाह पूँजीका मालिक उनीहरु भए। यसका कुनै पनि श्रोत कुनै नेताले पनि खोलेनन्। जनता नांगा र भोका भए। अपबादका रुपमा मदन भण्डारी, मनमोहन अधिकारी, गणेशमान र कृष्णप्रसाद भट्टराईलाई अहिले पनि धेरैले राम्रो मानिसको लिष्टमा सुरक्षित गरेको छन्।

किनकी उनीहरुका राम्रा कामको मूल्यांकन गरेका छन सबैले। केही मझौला र तल्ला तहका नेता अपबाद हुन सक्लान तर अधिकांश नेताप्रतिको दृष्टिकोण आज आएर बदलिइसकेको छ।

जनता र कार्यकर्तामा मात्र हैन कि नेताले सामान्य जनता र कार्यकर्तालाई हेर्ने दृष्टिकोण पनि परिवर्तन भैरहेको छ। चाकडी लिने र दिने रुपमा यस्तो दृष्टिकोणहरु फेरबदल भैरहेको देखिन्छ। चाकडी पुर्‍याउनेहरु प्रति नेताहरु अनुग्रहित हुन्छन्। नपुर्‍याउनेलाई बहिष्कृत गर्छन्।

कार्यकर्ताका सामान्य गल्ती पनि नेताहरुका दृष्टिकोण बदल्न काफी छन्। नेताहरुका गल्तीहरु झांगिन मलजलको कमी छैन। चाकडीवाजको चाकडीले मलको काम गरिरहेको हुन्छ। जसले विकृती र बिसंगती चारैतिर फैलिँदै गैरहेको छ। भ्रष्टाचार कुशासन र अनेक विकृतिका कारक यही नै हो।

यसको परिणाम के देखिन्छ भने पार्टीहरु र यसका नेताहरु जनताका नजरमा फिका भैरहेका छन्। बिध्यमान व्यबस्थाप्रति जनताको आकर्षण घट्दो क्रममा छ। अब त वाक्क वाक्कको परिस्थिति श्रृजना भैरहेको छ।

तल्लो तहका जनता र सामान्य पार्टीका कार्यकर्तामा पार्टीगत इगो नहुने हो भने करिव करिव सबैको ठूला र शीर्ष नेताहरुप्रति हेर्ने दृष्टिकोणमा एकरुपता आइसक्ने थियो। तर यस्तो इगो बेला बेलामा आउने चुनाव त्यसबेला बाडिने पैसा र कार्यकर्तालाई दिइने महत्व र बेला बेलामा हुने प्रशिक्षणले श्रृजना गरिदिएको हो।

अझ यसो भनु जनता फुटाई आफ्नो स्वार्थ सिद्ध गर्न नेताहरुले नै यस्तो इगो घुसाइदिएका हुन। जव कि सिद्धान्त बिचार र ब्यबहारले सबै च्यूत भैसकेका छन भने, बाँकी बिबाद र झगडा के का लागि? आफ्नो स्वार्थ पूर्ति गर्न नेताहरु जुनसुकै बेला पनि मिल्ने र नीजि स्वार्थ बाजिएपछि फुट्ने गर्दछन्।

मिल्दा उनीहरु एउटै टेबुलमा बसेर पाँच तारे होटलको रसोस्वादन पनि गरिरहेका हुन्छन्। यदि यसो हो भने सामान्य समर्थक र सामान्य कार्यकर्ताहरुले आपसी झगडा र द्वन्द्वमा भाग लिनुको तुक कहाँ नेर छ त? छैन।

जहाँसम्म संसदीय व्यबस्थाको कुरा छ, यसमा बिपक्षी पार्टीको आवश्यकता रचनात्मक सुझाव र बिरोधकोलागि हो। निजी स्वार्थ पूर्तिकालागि बिरोध हैन। यहाँ त मन्त्री यति सिट पाए पक्षमा बस्ने नत्र बिपक्षमा बस्ने भन्ने हुन्छ। मन्त्री बनेपछि पनि जनताका समस्या सामाधान गर्ने भन्दा नीजि स्वार्थ सिद्ध गर्ने गरिन्छ।

सर्बसाधारणले कुरा बुझिसकेका छन्। बिस्तारै बिध्यमान अवस्थामा परिवर्तन भैरहेको छ। मात्रै केही पाएकाहरु र केही आशा राख्नेहरुले पार्टीहरु टिकिरहेको छ। बिकल्प नभएर अलमलिएका छन् जनताहरु। बिकल्प पाउनासाथ त्यतै पल्ला भारी हुनेछ। स्वतन्त्र व्यक्तिहरुले पनि चुनाव जित्नु यसका प्रमाणित आधारहरु हुन्।

बिश्वास र आस्थाले मानिसलाई आशा जगाउने काम गर्दछ। आसै आशाको बीच गरिने कर्मले सन्तुष्टि पनि प्राप्त गर्दछ। आस्थावान मानिसले आफ्नो आस्थाकोलागि दुःख कष्ट र संघर्ष झेल्न पनि तयार हुन्छ।

अरु कसैसँग बैमनस्य राख्न पनि ऊ तयार हुन्छ। यसका उदाहरण कम्यूनिष्ट आन्दोलनमा लागेका कार्यकर्ता र समर्थक जनतासमेत हुन्। दुःख र संघर्षका कथाका प्रत्येकसँग एउटा लामो इतिहास छ। कतिले घरवार गुमाए कतिले छोरा गुमाए, कतिले त आमा बुवा नै गुमाए। अहिले आएर सहिद कस्तो मानिसलाइ भनिन्छ? परिभाषा नै बदलिने गरी सहिद घोषणा गर्न थालिएको छ।

आस्था आस्था बिच टक्कर खानुपर्छ, व्यक्तिगत रुपमा आफैंलाई सहयोग गर्ने बिरुद्धमा पनि जान ऊ तयार हुन्छ। अफसोच यस्ता आस्थाहरु जीवनको कुनै कालखण्डमा भत्कन पनि सक्छ। आस्थाका धरोहरको निष्पक्षता स्वच्छतामा जव प्रश्न चिन्ह उपस्थित हुन्छ, तब त्यो दिन आउन पनि सक्छ।

जव तपाईंको पारिवारिक जीवन तहस नहस हुन्छ , त्यतिखेर कोही त भगवानलाई पनि गाली गर्न थाल्छन्। जव समाज र देसको मुहार हसाउने उच्च लक्ष्यकासाथ कुनै आस्था हुर्केको हुन्छ, आस्थाको धरोहर टुट्ने बित्तिकै त्यस्तो धरहराको टुप्पोमा उभिनेप्रती घृणा जन्मिन थाल्छ।

यसैले यस्ता धरोहर नबिग्रिउन भन्नकालागि आस्थावानहरु पनि बढ्ता सचेत र सजग हुन आवश्यक छ। यदि सचेत हुनुभएन भने सबैभन्दा बढ्ता घाटा तपाईंलाई नै हुन्छ जो आस्थावान छ।

समाज अत्याधुनिक बिज्ञान र प्रबिधिले सुसज्जित हुँदैछ। संसार हिजो भन्दा आज झन प्रबिधि सम्पन्न भैरहेको छ। यसैले मानव जीवनको सूदुर भविष्यको पनि निश्चित गर्नेछ।

आजसम्म मानवले गरेको संघर्ष जीवन जीउनकालागि हो। अझ भनु जीवनका आयामहरुलाई स्तरीय बनाउनकालागि हो। यसैले अवको आस्था पनि जीवनसंग मेल खानेगरी अघि बढ्नु आवश्यक छ।

आस्थाहरु भत्कनु र दृष्टिकोणहरु अदल बदल हुनु आजका राजनीतिक प्रणाली र यसमा सहभागी नेताहरुको व्यवहारगत कृयाकलापहरु जिम्वेवार छन। राजनीतिक प्रणालीमा सुधार गरेर यसलाई सच्याउन सकिन्छ।

नीति नियम र सिद्धान्तमा चल्ने नेता कार्यकर्ता भएमा यसको सुधार पनि सम्भव छ। त्यसपछि मात्र जनतालाई पनि कानुन नीति नियमहरुको ज्ञान र यसमा अभ्यस्त पार्न सके दृष्टिकोणहरुमा सकारात्मक सुधार गर्न सकिन्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *