गणतन्त्र स्थापनापछि मुलुकमा केही भएन भन्ने प्रश्नहरू उठेका छन्ः गृहमन्त्री लामिछाने
काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय समाचार समितिले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनी अवलोकन गरेका छन्।
आज तस्बिर अवलोकनपछि प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री लामिछानेले तस्बिरले गणतन्त्रपश्चात् पूर्वाधार विकासका क्षेत्रमा भएका उपलब्धिलाई प्रस्ट र बहुआयामिक ढंगले प्रस्तुत गरेको बताए।
“गणतन्त्र स्थापनापछि मुलुकमा केही भएन कि भन्ने प्रश्नहरू उठ्दै आएका छन् । हामीले पनि कतिपय प्रश्न उठाएका हौँ तर यो प्रदर्शनी हेरेपछि केही भएको छ भन्ने अनुभूति भएको छ”, उनले भने, “वास्तवमा यो प्रदर्शनी एकप्रकारले मेरा लागि विकास निर्माणसम्बन्धी विषयको ‘टाइम ट्राभल’ जस्तै भएको छ ।”
आधिकारिक सूचना सम्प्रेषणका लागि रासस अन्तिम विश्वासका रूपमा रहेको पनि उनले बताए। “सूचना महामारीको भीडमा रासस अन्तिम विश्वास हो । यसलाई कायम राख्दै थप राम्रो गर्नुहोला”, लामिछानेले भने।
गणतन्त्र दिवस–२०८१ को अवसर पारेर राससले जेठ १० गतेदेखि तस्बिर प्रदर्शनी आयोजना गरेको हो । प्रदर्शनी असार १० गतेसम्म चल्नेछ ।
Facebook Comment