बेलायतका लागि नेपाली राजदूत गोर्खा समुदायबाट नियुक्त गर्न माग

डिसी नेपाल
३ असार २०८१ १०:१२

लन्डन। एनआरएनए यूकेले बेलायतका लागि नेपाली राजदूत गोर्खा समुदायबाट नियुक्त गर्न माग गरेको छ।

संघले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई इमेलमार्फत एक पत्र पठाउँदै अब बेलायत पठाउने राजदूत समान व्यवहार गर्ने, समावेशी, खुबी भएको, आदिवासी जनजाती र गोर्खा मुद्दा बुझेको गोर्खा समुदायबाट होस् भन्ने समस्त बेलायतवासी नेपाली र गोर्खाहरुको माग रहेको उल्लेख गरेको छ।

‘बेलायतका लागि अहिलेसम्म २२ जना राजदूत आइसकेपनि आदिवासी जनजाती समुदायबाट कोही पनि राजदूत नियुक्त भएको इतिहास छैन्’, पत्रमा अध्यक्ष प्रेम गाहामगरले भनेका छन्, ‘यहां भूतपूर्व गोर्खाहरु र जनजाती वाहुल्य झण्डै ८० प्रतिशत छ। सम्माननीय प्रधानमन्त्रीज्यूलाई अवगत नै छ, विगत २०८ वर्षदेखि गोर्खाहरु बेलायती सेनामा कार्यरत छन् । भूतपूर्व गोर्खाहरुले तीन दशकबढी समयदेखि समान पेन्सन लगायत सुविधाका लागि आन्दोलन गरिरहेको अवस्था छ । यस परिप्रेक्ष्यमा नयां राजदूत गोर्खा इष्यू बुझेको, समावेशी र आदिवासी जनजातीबाट होस् भन्ने एनआरएनए यूके तथा बेलायतवासी नेपालीको माग छ।’

नेपाल सरकार मन्त्रिपरिषदको हालैको बैठकले बेलायतसहित ११ राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई फिर्ता बोलाउने सरकारको निर्णयसंगै बेलायतको नेपाली समुदायले अबको नयां राजदूत सम्बन्धमा चासो व्यक्त गरिरहेको अध्यक्ष गाहामगरले जनाएका छन्।

पत्रमा फिर्ता बोलाइएका राजदूत आचार्य बेलायतको नेपाली समुदायमा सबैभन्दा पूर्वाग्रही राजदूत भएको भन्दै उनको कार्यशैलीविरुद्ध एनआरएनए यूकेसहित ३४ नेपाली संघसंस्थाले सार्वजनिक रुपमै विद्रोह गरेको स्मरण गराइएको छ।

‘महामहिम आचार्यको नियत शुरु देखि नै खराब रहेपछि म स्वयंले प्रधानमन्त्रीज्यूलाई गत २ मार्च २०२३ र ३० अगष्ट २०२३ मा प्रत्यक्ष भेटेर ध्यानाकर्षण पनि गराएको थिएं’, पत्रमा उल्लेख छ।

अध्यक्ष गाहामगले नेपाल सरकारका प्राथमिकता अरु धेरै भएकाले आफूहरुको माग नसुनेपनि जायज मुद्दामा आवाज उठाइरहने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *