मन्दिर आएका भक्तजनले फालेका पानीका बोतलबाट नगरपालिकाले एक करोड रुपैयाँ कमायो
काठमाडौं । चारधाम यात्राका लागि उत्तराखण्डमा यतिबेला भक्तजनको ठुलो भीड लागेको छ । भक्तजनले ट्राफिक जाम र अन्य समस्याको सामना गरिरहेका छन् ।
यो पहाडी प्रदेशमा मानिसको ओइरोले प्लाष्टिकको फोहोर समस्या बनेको छ । तर, अहिले नगरपालिकाले यसलाई आम्दानीको स्रोत पनि बनाएको छ । जोशीमठ नगरपालिकाले अहिले यही फोहोरबाट मनग्य आम्दानी गरिरहेको छ ।
चमोली–जोशीमठ नगरपालिकाले ३ टनभन्दा बढी प्लास्टिक फोहोरबाट १ करोड रुपैयाँ आम्दानी गरेको छ । मुख्यमन्त्री पुष्कर सिंह धामीले धार्मिकस्थलमा बढ्दो फोहोर व्यवस्थापन गर्न पहाडमा फोहोर सफाइ अभियान सञ्चालन गर्न निर्देशन पनि दिएका छन् ।
चारधाम यात्रा मार्गबाट हाल नगरपालिका प्रशासनले ३ टनभन्दा बढी प्लाष्टिक फोहोर सङ्कलन गरेको छ । हालसम्म फोहोर रिसाइकलबाट १ करोड २ लाख रुपैयाँ आम्दानी भएको छ । बद्रीनाथ, हेमकुण्ड साहिब र भ्याली अफ फ्लावर्स यात्राको मुख्य बिसौनी जोशीमठदेखि पाण्डुकेश्वरसम्मको सरसफाइको जिम्मेवारी जोशीमठ नगरपालिकाको हो।
नगरपालिकाले पछिल्लो एक महिनामा साढे दुई लाखभन्दा बढी पानी, चिसो पेय पदार्थका बोतल सङ्कलन गरेको छ । अन्य प्लाष्टिकजन्य फोहोरसँगै तीन टन प्लाष्टिक फोहोर संकलन भएको छ ।
जोशीमठदेखि पाण्डुकेश्वरसम्म सरसफाइको व्यवस्थाका लागि जोशीमठ नगरपालिकाले कम्प्याक्टर मेसिनबाट ब्लक बनाएर फोहोर संकलन गरी रिसाइकल गरिरहेको छ । साथै प्लाष्टिक फोहोरको विसर्जनका लागि २२ जना कर्मचारी खटाइएको छ ।
चारधाम यात्राको लागि दर्ताको आवश्यकता समाप्त हुनासाथ बद्रीनाथ र केदारनाथ राजमार्गमा सवारी साधनको चाप बढेको छ र धेरै ठाउँमा ट्राफिक जाम भइरहेको छ । रुद्रप्रयागको मुख्य बजारमा जाम हुँदा यात्रुलाई समस्या भएको छ ।
Facebook Comment