पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किन लागेकी हुन्?

दिपा पौड्याल
४ असार २०८१ ११:४३

काठमाडौं। नेकपा(एमाले)को उपाध्यक्षमा रहँदा मुलुककै दोस्रो राष्ट्रपति बन्न सफल भएकी पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किन लागेको चर्चा छ।

२०७२ को संविधान जारी भए लगत्तै मुलुकको दोस्रो राष्ट्रपति बनेकी भण्डारी गत २०७९ को निर्वाचन पछि करिब दुई कार्यकाल सकाएर पदमुक्त भएकी हुन्।

एमालेको सक्रिय राजनीतिमा पुनरागमन गर्ने मनसायले भर्खरै उनले पार्टी सदस्यता समेत नवीकरण गरेको खुलेको छ।

एमाले केन्द्रीय कार्यालय स्रोतका अनुसार असारसम्म सबै पार्टी सदस्यको सदस्यता नवीकरण सूचीकृत गर्नुपर्ने प्रावधान अनुसार पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको अभिलेख केन्द्रीय कार्यालयमा राखिएको छ। यद्यपि सार्वजनिक भने गरिएको छैन।

राष्ट्रपतिको सात वर्षे कार्यकाल सकाएर बसेकी भण्डारी सक्रिय राजनीतिमा फर्किने चर्चाका बीच सदस्यता नवीकरण गरेकी हुन्। उनको सदस्यता नवीकरण भएपछि एमालेको सक्रिय राजनीतिमा फर्किने निश्चित भएको एमालेका एक नेता बताउँछन्।

एमालेको नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएकी पूर्वराष्ट्रपति भण्डारी राष्ट्रपवतिमा निर्वाचित भएपछि दलत्याग गरेकी थिइन्। अहिले पार्टीको संगठित सदस्यता नवीकरण गरेपछि उनको सक्रिय राजनीतिमा पुनरागमन हुने लगभग निश्चित भएको हो।

यस अघि गत निर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि भण्डारीलाई भेट्न पुगेका हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत उनलाई सक्रिय राजनीतिमा फर्कन सुझाएका थिए। प्रधानमन्त्री दाहाल लगायत अन्य कांग्रेसका नेताहरुले समेत राष्ट्रपतिको कार्यकाल सकिनै लागेको तत्कालीन अवस्थामा भण्डारीलाई बाँकी समय राजनीतिमा सक्रियता थाल्न सुझाब दिएका थिए।

भण्डारीको एमालेमा पुनरागमनको तयारी पछि एमालेमा खेलाबैला मच्चिएको छ। एमालेमा आफ्नो एकाधिकार तोड्नेगरी भण्डारीको आगमन हुन लागेको भन्दै अध्यक्ष असन्तुष्ट रहेको बताइन्छ।

एमालेका स्थायी समिति सदस्य शेरबहादुर तामाङले यदि सक्रिय राजनीतिमा फर्किने भण्डारीको मनशाय भए अध्यक्ष ओलीकै सल्लाहमा मात्रै पुनरागमन सम्भव भएको बताउँछन्।

उनले ओलीको सल्लाह बेगर पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कने सम्भावना नरहेको जिकिर गरे। अहिले एमालेमा ओली निर्विकल्प रहेको उनको भनाइ छ।

‘एमालेको सक्रिय राजनीतिमा फर्किने नै हो भने अध्यक्षसँगकै सल्लाहमा उहाँ(ओली)सँगकै सहकार्यमा आउनुहोला।’, उनले डिसी नेपालसँग भने, ‘अन्यथा अध्यक्षलाई विस्थापन गरेर हष्तक्षेपकारी ढंगले पुनरागमनको सम्भावना छैन।’

नेता तामाङले भण्डारीले सदस्यता नवीकरण गरेको बारेमा आफूलाई आधिकारिक रुपमा जानकारी नभएको बताए। यता एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम पनि सदस्यता नवीकरणको विषय अफबाह मात्रै भएको बताउँछन्। उनले राजनीतिक रुपमा सक्रियता कायम गर्ने भए सदस्यता नवीकरण भूमिगत शैलीमा गर्न जरुरी नरहेको बताए।

उनले भने, ‘राजनीति सार्वजनिक रुपमा गरिने कार्य हो त्यसैले सदस्यता लिएको विषय गोप्य राख्न जरुरी छैन। अहिले बाहिर चर्चा गरिएको हल्ला मात्रै हो।’

प्रचार विभाग प्रमुख गौतमले पार्टीको सक्रिय राजनीतिमा फर्कने बारेमा अहिले पार्टीमा कुनै छलफल नभएको बताए। बाहिर चर्चामा आएका विषय अनुमानका आधारमा प्रकट गरिएको सार्वजनिक धारणाका रुपमा उनले औंल्याए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *