ज्येष्ठ शुक्ल एकादशीः राखियो तुलसीको दल

डिसी नेपाल
४ असार २०८१ १६:५१

काठमाडौं। औषधीय गुण भएको वनस्पति तुलसीलाई पूजाआराधना गर्ने प्राचीनकालदेखिको परम्परा छ। यसैअनुसार वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राखेका छन्।

प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरको मठमा तुलसीको दल राख्ने गरिन्छ। तुलसीको दल राख्ने दिनलाई निर्जला एकादशी पनि भनिन्छ। यस दिन राखेको दलबाट बनेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ।

आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ। कार्तिक शुक्ल एकादशीका दिन तुलसीलाई हुर्काइ बढाइ दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ। यो चार महिनालाई चर्तुमास भनिन्छ। भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले यी चार महिनामा विवाह, व्रतबन्ध आदि गर्नु नहुने शास्त्रीय विधि छ।

यस अवसरमा स्नान, पूजन र दान गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन पानीसमेत नपिइ व्रत गर्नाले अभिष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए।

सक्नेले पानी नखाइ व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उनले जानकारी दिए। आयुर्वेदिक रुपमा पनि लाभकारी औषधी मानिने तुलसी विभिन्न रोगको उपचारमा समेत प्रयोग गरिन्छ। तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ। यही तथ्य पुष्टि भएपछि ऋषिमुनिले तुलसी रोपेर पूजा आराधना गर्ने परम्परा बसालेको शास्त्रीय वचन छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *