नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका चलचित्र जुन २० देखि सुरु हुँदै

उद्घाटनमा 'गाउँ आएको बाटो' प्रदर्शन हुने

डिसी नेपाल
५ असार २०८१ ९:४८

वासिंटन डिसी। नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने चलचित्रको सूची सार्वजनिक गरिएको छ। नेपालका नवीन सुब्बाद्वारा निर्देशित ‘गाउँ आएको बाटो’, पाकिस्तानी मुलका अमेरिकी इराम परविन बिलालद्वारा निर्देशित ‘वाख्री’ र इरानका मिराब्बास खोस्राविनेजेहादद्वारा निर्देशित ‘परविन’ लगायतका चलचित्र महोत्सवमा प्रदर्शन हुनेछन्।

मेरिल्याण्ड राज्यमा जुन २० देखि २३ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३५ चलचित्रहरू प्रदर्शन हुनेछन्।

महोत्सवको उद्घाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा हुनेछ। चार दिनसम्म चल्ने महोत्सवका चलिचत्रहरू भने एएफआई सिल्भर थिएटरका साथै ग्रिनबेल्ट सिनेमा थिएटरमा समेत प्रदर्शन हुने जनाइएको छ।

आयोजक नेपाल-अमेरिका फिल्म सोसाइटीका अनुसार गत वर्ष टोरोन्टो फिल्म फेस्टिवलमा छनोट भएको सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’को प्रदर्शनबाट चलचित्र महोत्सवको उद्घाटन हुनेछ। त्यस्तै २०२३ मा भेनिस फिल्म फेस्टिवलमा छनोट भएको फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’को प्रदर्शनसँगै महोत्सव समापन हुनेछ।

ग्लोबल पिस फिल्म फेस्टिवल, फ्लोरिडासँगको सहकार्यमा यो वर्ष अमेरिकी निर्देशक रोबर्ट इ फ्रेको ‘इन सर्च अफ रिजोलुसन’ र जर्मनी निर्देशक रिक मिनिकको ‘द स्ट्रेट गाइज’ गरि दुई चलचित्र प्रदर्शन हुनेछन्। ग्लोबल पिस फिल्म फेस्टिबल र नेपाल अमेरिका फिल्म सोसाइटी महोत्सव सुरुवातदेखि नै सहकार्यरत छन्।

राजन कठेत र सुनिर पाण्डे निर्देशित अन्तर्राष्ट्रिय पुरस्कार विजेता वृत्तचित्र ‘ढोर पाटन’ र नेपालका चर्चित निर्देशक केसाङ क्षेतेन निर्देशित वृत्तचित्र ‘डाइभरसिटि प्लाजा’ पनि महोत्सवमा प्रदर्शन हुनेछन्।

प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रहरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ। पुरस्कार छनौटका लागि निर्णायक मण्डलको नाम भने केहि दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ।

महोत्सव अवधिमा चलचित्र र संस्कृति, महिला ‘प्यानल’ छलफलका साथै र चलचित्र निर्माणबारे ‘मास्टर क्लास’ पनि हुनेछ। म्यारिल्याण्ड राज्यको ‘पार्क्स तथा योजना आयोग’को सहयोगमा उक्त छलफल हुने जनाइएको छ।

महोत्सवमा प्रदर्शनका लागि आवेदन परेका मध्येबाट सोसाइटीको छनोट समितिले चलचित्रहरू छनौट गरेको हो। म्यारिल्याण्ड राज्यमा स्थापित सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष महोत्सव आयोजना गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *