‘मैले आफू गर्भवती भएको कुरा आठ महिनासम्म थाहा पाइनँ’
बीबीसी। तवानाले २१ वर्षको उमेरमै बच्चा जन्माउने कुराको कल्पना पनि गरेकी थिइनन्।
उनी साथीहरूसँग रमाइलो गर्थिन्, पार्टी गर्थिन्। उनकै शब्दमा उनी निस्फिक्री र मनमौजी जीवन व्यतीत गर्दै थिइन्।
बेहोस भएर अस्पताल नपुर्याइँदासम्म उनको जीवन त्यसरी नै चलिराखेको थियो। उनलाई आफू किन बेहोस भएर ढलेँ भन्ने पनि थाहा थिएन। अस्पतालमा उनले आफू गर्भवती भएको र चार सातापछि शिशु जन्मिने भेउ पाइन्।
ू‘त्यो सुनेर म निकै आत्तिन थालेँ,’ बीबीसीको रिलाइअवल सोस पडकास्टमा तवानाले बताइन्। उनी उक्त खबरले स्तब्ध भएकी थिइन्।
‘किनभने मलाई पहिलो पटक अरू कसैले मैले चार सातामा बच्चा जन्माउने कुरा बताएको थियो।’
अस्पतालमा भर्ना हुनासाथ चिकित्सकहरूले एमआरआई स्क्यान गर्नुअधि उनलाई गर्भावस्था परीक्षण गर्न भनेका थिए।
हास्याँस्पद मानेर उनले त्यसो गर्न मानेकी थिइनन्। उनले पाखुरामा गर्भनिरोधक साधन प्रत्यारोपण गराएकी थिइन् र आफू गर्भवती भएको कुनै संकेत पाएकी थिइनन्।
गर्भावस्था परीक्षणको परिणाम नकारात्मक आएपछि आफ्नो कुरा सही थियो भन्नेमा उनी अझ विश्वस्त भइन्।
तर त्यहाँ उपस्थित नर्सले चिकित्सकलाई एकपटक अल्ट्रासाउन्ड गरी हेर्नका निम्ति सहमत गराइन्। ती नर्सलाई अझै पनि तवाना गर्भवती नै हुन् कि भन्ने लागिरहेको थियो।
रिभरका पिता इम्यानुअललाई तवानाले आफूले बच्चा जन्माउन लागेको कुरा सुनाउँदा उनले पनि पत्याएनन्।
‘त्यसको कुनै अर्थ नै थिएन,’ उनी भन्छन्, ‘त्यो कुरा चमत्कारजस्तो लाग्थ्यो।’
सुत्केरी भएपछिको पीडा
वाकवाक लाग्ने वा पेटमा बच्चा चलेको महसुस हुने जस्ता संकेतबिनै शिशुलाई जन्म दिने अवस्थालाई क्रिप्टिक प्रेग्नन्सी अर्थात् गुप्त गर्भावस्था भनिन्छ।
यस्तो हुनु दुर्लभ हो तर डाक्टरहरूले तवानालाई अश्वेत समुदायमा यसरी बच्चा जन्मिनु असामान्य नभएको बताएका थिए।
‘(मलाई बताइएअनुसार)’ हाम्रो नितम्ब र हड्डीको बनावटका कारण त्यस्तो हुन्छ। शिशु बाहिरपट्टि नभई भित्रपट्टि बढ्दै जान्छ र गर्भाशयको तल्लो भागमा विकसित हुन्छ।’
‘शिशुलाई जन्म दिने समय आउँदा मलाई कतै उनी उल्टो अवस्थामा त छैनन् भन्ने चिन्ताले असाध्यै सताएको थियो।’
क्रिप्टिक गर्भावस्थासम्बन्धी तथ्यांक सहजै उपलब्ध नभए पनि लन्डन साउथ ब्यांक यूनिभर्सिटीकी हेल्थकेअर विषयकी प्राध्यापक एलिसन लेरी समग्र तथ्यांकहरूले विभिन्न अल्पसङ्ख्यक जातिका महिलाहरूले गर्भावस्थाका बेला प्राप्त गर्ने हेरचाहमा असमानताको स्थिति दर्साउने बताउँछिन्।
‘त्यस्ता धेरै अध्ययनहरू छन् जसले खास गरी अश्वेत महिलाहरूको गर्भावस्था र प्रसवको मामिलामा खराब परिणाम आउने गरेको देखाउँछन्।’
उनी यस सम्बन्धमा अझै धेरै अनुसन्धानको खाँचो देख्छिन्। विशिष्ट रूपमा गुप्त गर्भावस्थाबारे अनुसन्धान र उपलब्धता हुनुपर्नेमा लेरीको जोड छ।
‘निकै थोरै मानिसहरू यसबाट प्रभावित देखिए पनि यो निकै महत्त्वपूर्ण विषय हो। किनकि यदि तपाईँले समयमै प्रसूतिपूर्वको वा पश्चात्को उचित हेरचाह पाउनुभएन भने खराब परिणाम भोग्नुपर्ने सम्भावना अधिक हुन्छ।’
आफू गर्भवती भएको थाहा पाएको चार साता चार दिनपछि तवानाले रिभरलाई जन्म दिइन्। उनका अनुसार छोरीलाई जन्म दिएपछि उनी डिप्रेशनमा परिन्। सानै उमेरमा र गर्भावस्थाबारे थाहा पाएको छोटो समयमै सुत्केरी भएकोमा उनले टिकटकलाई सल्लाहसुझाव लिने माध्यम बनाइन्।
तर एक अमेरिकी महिलाबाहेक आफ्नो जस्तो अनुभव भएको अरू कोही भेटिनन्।
‘म एकदमै गहिरो अवसादबाट गुज्रिएँ। मलाई कसैले पनि केही सल्लाह नदिए जस्तो लाग्थ्यो।’
‘कसैले पनि यसबारे कुरा गरेनन्। जस्तै, यो आखिर हो के? त्यसपछि मैले एउटा भिडिओ हेरेँ कि जस्तो लाग्छ। एक अमेरिकी किशोरीलेयसबारे केही भनेकी थिइन्। त्यो भिडिओमा जम्मा १०० पटक हेरिएको थियो।’
‘वास्तवमै उनी मात्रै मलाई सल्लाह दिने व्यक्ति थिइन्।’
तवानाले पछि आफ्नो अनुभव अनलाइनमार्फत् साझा गर्ने निधो गरिन्। उनको भिडिओले झन्डै चार लाख लाइक प्राप्त गरिसकेको छ। त्यसपछि उनले अन्य आमाहरूसँग कुरा गर्दै पडकास्ट सुरु गरिन्।
तवाना आफूले बाँडेको अनुभव आफू गर्भवती भएको कुरा प्रसवको अन्तिम क्षणमा मात्रै थाहा पाउने युवावस्थाका आमाहरूप्रति थप समर्थन जुटाउन सहयोगी हुने आशा गर्छिन्।
आफ्नी आमाबाट आर्थिक सहयोग प्राप्त गरेकाले उनी स्वयंलाई भाग्यमानी ठान्छिन्। तर अरू महिलाहरू आफूजत्तिकै भाग्यमानी नहुन सक्ने उनलाई थाहा छ।
त्यसैले उनी एउटा परोपकारी संस्था स्थापना गर्न चाहन्छिन्।
‘कुनै सहयोग नै उपलब्ध छैन जस्तो लाग्छ। यदि यस्तै कुरा तपाईँले पनि भोग्नुपर्यो भने कसरी सामना गर्नुहुन्छ?’
Facebook Comment