पुटिन र किम जोङ उनबीचको सम्झौतामा अन्य देशलाई चिन्तित पार्ने कुरा के छ ?

डिसी नेपाल
६ असार २०८१ १४:२२

काठमाडौं । रुस र उत्तर कोरियाबीच रक्षालगायत धेरै महत्वपूर्ण विषयमा नयाँ सम्झौता भएको छ ।

रुसको सरकारी सञ्चारमाध्यमले पुटिनलाई उद्धृत गर्दै उक्त सम्झौता अन्तर्गत दुवै देशले एकअर्कामाथि हमला भएमा आपसी सहयोग उपलब्ध गराउने सहमति जनाएका छन् ।

रुसी सरकारी समाचार एजेन्सीले पुटिनलाई उद्धृत गर्दै यो सम्झौतालाई ‘ऐतिहासिक दस्तावेज’ भनेका छन्, जसमा आपसी रक्षाको बुँदा थपिएको छ।

एजेन्सीका अनुसार पुटिनले भने, “आज हस्ताक्षर गरिएको बृहत् साझेदारी सम्झौतामा आक्रमण वा युद्धको अवस्थामा एकअर्कालाई पारस्परिक सहयोग समावेश छ।”

यो रक्षा सम्झौताको असर रुस र युक्रेनमा पनि देखिने विश्वास गरिएको छ ।

अमेरिकी गुप्तचर एजेन्सी सीआईएका पूर्व विश्लेषक सु मी टेरीले बीबीसीलाई भने – यी दुई नेताको भेट ‘बाँकी विश्वका लागि नराम्रो खबर हो।’

उत्तर कोरियाको भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भव्य स्वागत गरिएको छ । यसपछि पुटिनको अर्को स्टप भियतनाम हो।

अर्कातर्फ सैन्य सहयोग सम्झौताका सम्बन्धमा दक्षिण कोरियाले रुसलाई ‘लक्ष्मण रेखा’ पार नगर्न चेतावनी दिएको छ ।

सम्झौतामा हस्ताक्षरपछि उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देश वा रुसमाथि आक्रमण वा युद्ध भएमा उत्तर कोरियाले ‘बिना हिचकिचाहट’ जवाफ दिने बताए ।

उनले उत्तर कोरिया र रुसबीचको सम्बन्ध अब सहयोगको नयाँ तहमा स्तरोन्नति भएको र यसले ‘बहुध्रुवीय विश्व’ निर्माणको प्रक्रियालाई गति दिने बताए।

सम्झौतामा अमेरिका र उसका सहयोगी राष्ट्रहरूले उत्तर कोरियामाथि लगाएको अनन्त नाकाबन्दीलाई राष्ट्रसंघीय सुरक्षा परिषदमा पुनरावलोकन गर्नुपर्ने भनिएको छ ।

आक्रमणको अवस्थामा आपसी सहयोगका लागि दुई देशबीच बृहत् साझेदारी सम्झौता पनि भएको छ।

भर्खरै रुसी भूमिमा आक्रमण गर्न युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र, एफ–१६ लडाकु विमान र अन्य अत्याधुनिक हतियार र उपकरण उपलब्ध गराउने अमेरिका र नेटो देशले गरेको वक्तव्यलाई पनि ध्यानमा राखिएको छ ।

सम्झौता अन्तर्गत, रूसले उत्तर कोरियासँग सैन्य प्राविधिक सहयोगको विकासलाई अस्वीकार गरेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *