नक्सालमा सडकमुनि छोपिएको भैरव खुला

डिसी नेपाल
६ असार २०८१ १६:४४

काठमाडौं। काठमाडौं महानगरपालिकाको नक्सालमा सडकमुनि छोपिएको भैरवलाई गएको मंगलबार खुला गराइएको छ । नक्साल भगवतीको मन्दिरबाट नागपोखरीतर्फ जाँदा मध्य भाग (कमलपोखरीबाट प्रहरी प्रधान कार्यालय जाने सडक (सम मार्ग) को पनि मध्य भागमा नै पर्छ) मा चार ढुङ्गे (त्यङ्ग ठां) मा सवारी साधन गुड्ने कालोपत्रे सडक मुनि कमलको आसनमा भैरवको स्वरुप शिवलिंग खुला गरिएको हो। त्यहाँ भेटिएका सिक्का तथा चुरा अध्ययनका लागि वडाले सुरक्षामा लिएको छ।

छोपिएको भैरव खुला पाउँदा स्थानीयहरुले हर्ष प्रकट गरेका छन्। उनीहरुमध्ये पाको उमेरका मानिसहरु भन्दै थिए, ‘बाल्यकालमा खेल्दा खेल्दै देखेका देवता यत्तिका वर्षपछि फेरि देख्न पाइयो। खुशी छौँ।’

यसको स्थापनाका विषयमा स्थानीयहरु शंकराचार्य र अमर वाणाको तान्त्रिक युद्धको जनश्रुतिमा आधारित कथा सुनाउँछन्। यसको स्थापना, धार्मिक, सामाजिक सम्बन्धका विषयमा लेख, अभिलेख, शिलालेख वा तस्विर जस्ता प्रमाण प्राप्त हुन सकेको छैन। भैरव राखिएको खाडल, खाडलका प्रयोग भएको इटाको गारो, गारोका बिच बिचमा भएका खोपाहरुले भने प्राचीन कालमा यसको स्थापना भएको मान्न सकिन्छ।

वडाध्यक्ष भरतलाल श्रेष्ठ भन्छन्, ‘लिखित प्रमाण छैन। पाका मानिसहरुले यो ठाउँका बारेमा जानकारी दिँदै, शंकराचार्य र अमर वाणाका बिचमा तान्त्रिक शक्तिका विषयमा भएको विवादले सिर्जना गरेको युद्धको कथा सुनाउँछन्।’

स्थानीय विक्रमदास मानन्धरका अनुसार यो करिब २०२४ सालतिर छोपिएको हो। त्यसअघिसम्म खाडलका चारतिर ढुंगाका थाम थिए। सहरीकरण बढ्दै गएर सडक साँघुरो महसुस भएपछि खाडलमाथि स्ल्याप राखेर पुरिएको हो। यसरी पुरिएको ठाउँमा एउटा सानो प्वाल राखिएको थियो। मानिसहरु त्यही प्वालबाट सिक्का चढाएर श्रद्धा अर्पण गर्ने गर्थे।

सम्बन्ध नजिकको कथा सुनाउँदै विक्रमदासले भने, ‘४ सय शंकराचार्य गण मारिएपछि यो सन्देश शिवलाई पुग्यो। यसपछि शंकराचार्यको भेष धारणा गरेर शिव युद्ध स्थलमा आउनुभयो। उहाँले युद्ध गर्दा वाणामा शक्ति धेरै भएको महसुस भएपछि अन्तरदृष्टिले हेर्दा कमण्डलुमा राखिएकी सरस्वतीको सहयोग प्राप्त भएको थाहा भयो। यसपछि शिवले कमण्डलुको पानी घोप्ट्याएर वाणालाई सरस्वतीको सहयोग टुटाउनु भएको र युद्ध जितेपछि शिवले भैरव रुप धारण गरेर यहाँ रहनुभएको हो।’

पाका उमेरका मानिसहरु यस ठाउँलाई अहिले पनि सिंह दोबाटो भन्ने गर्दछन्। यसलाई पुनरुत्थान गरेर नक्साललाई सम्पदा मार्ग बनाउने योजना कार्यान्वयनमा लैजाने वडाको योजना रहेको वडा सदस्य रोशन श्रेष्ठ बताउछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *