दक्षिण कोरियासँगको सीमामा उत्तर कोरियाले कस्तो संरचना निर्माण गर्दैछ ? के गर्न खोज्दैछन् किम ?
काठमाडौं । उत्तर कोरियाले दक्षिण कोरियासँग जोडिएको आफ्नो सिमाना नजिकै धेरै ठाउँमा पर्खाल जस्तो बार निर्माण गरिरहेको छ । यो जानकारी स्याटेलाइट तस्बिरबाट बाहिर आएको हो ।
बीबीसी भेरिफाइले स्याटेलाइट तस्बिरहरूबाट डिमिलिटराइज्ड जोन भित्रको जग्गा खाली भएको पत्ता लगाएको छ।
यसबारे विज्ञहरूले यो दक्षिण कोरियासँग लामो समयदेखिको युद्धविराम सम्झौताको उल्लङ्घन हुन सक्ने विश्वास गर्छन्।
डिमिलिटराइज्ड जोन उत्तर कोरिया र दक्षिण कोरिया बीचको चार किलोमिटर चौडा बफर जोन हो। यो प्राविधिक रूपमा अझै युद्धको अवस्थामा छ, किनभने यसबारे कुनै शान्ति सन्धि भएको छैन।
यो क्षेत्रलाई दुई भागमा विभाजन गरिएको छ, जसमा दुवै देशले आ-आफ्नो भागलाई नियन्त्रण गर्छन्।
विज्ञहरूले यो पछिल्लो परिवर्तनलाई ‘असामान्य’ भनेका छन्। दुई देशबीच तनाव बढिरहेको बेला यो जानकारी बाहिर आएको हो ।
दक्षिण कोरियाको राजधानी सियोलमा बसोबास गर्ने एनके न्यूजका संवाददाता श्रेयस रेड्डी भन्छन्, ‘यतिबेला हामीले उत्तर कोरियाले आफ्नो सैन्य उपस्थिति र सीमामा सुदृढीकरण गर्न चाहन्छ भन्ने अनुमान मात्र गर्न सक्छौँ।’
उत्तर कोरियाले गरिरहेको परिवर्तनको अनुसन्धान गर्ने परियोजनाको एक भागको रूपमा बीबीसी भेरिफाइले सीमाको सात किलोमिटर क्षेत्रको उच्च रिजोल्युसन स्याटेलाइट छविहरू लिएको छ।
यी तस्विरहरू हेर्दा डिमिलिटराइज्ड जोन नजिकै कम्तिमा तीन ठाउँमा पर्खालजस्तो संरचना बनाइएको प्रष्ट हुन्छ । यो क्षेत्र सीमानाको पूर्वी छेउमा करिब एक किलोमिटर फैलिएको छ।
सीमानाका अन्य भागमा पनि यस्तै निर्माण भएको हुनसक्छ । यस क्षेत्रका पुराना उच्च रिजोल्युसन तस्बिरहरू उपलब्ध छैनन्, जसका कारण उत्तर कोरियाले यो निर्माण कहिले सुरु गरेको हो भन्ने स्पष्ट छैन।
तर, नोभेम्बर २०२३ मा खिचिएका तस्विरहरूमा यो निर्माण देखिएन ।
सियोलस्थित असान इन्स्टिच्युट फर पोलिसी स्टडीजका सैन्य र रक्षा विशेषज्ञ डा. युके याङले बीबीसीलाई भने “मेरो अनुमानमा उनीहरूले ठाउँहरूलाई एकअर्काबाट अलग देखाउन यस प्रकारको अवरोध निर्माण गरेको यो पहिलो पटक हो ।”
डा. याङ भन्छन्, “सन् १९९० को दशकमा उत्तर कोरियाले युद्धको अवस्थामा ट्याङ्कलाई अगाडि बढ्न रोक्न ट्याङ्क विरोधी पर्खाल बनाएको थियो, तर हालै उत्तर कोरियाले २ देखि ३ मिटर अग्लो पर्खालहरू निर्माण गरिरहेको छ र यी पर्खालहरूले ट्याङ्क रोक्न सक्छन भन्ने लाग्दैन।”
स्याटेलाइट छविहरूको समीक्षा गर्ने डा याङ भन्छन्, “पर्खालहरूको आकारले देखाएअनुसार यो निर्माण त्यहाँ अवरोध (ट्याङ्कका लागि) मात्र होइन बरू तिनीहरूको उद्देश्य क्षेत्र विभाजन गर्नु हो।”
यसबाहेक उत्तर कोरियाली तर्फबाट डिमिलिटराइज्ड जोन खाली गरेको प्रमाण पनि फेला परेको छ ।
सीमाको पूर्वी छेउको नयाँ स्याटेलाइट तस्बिर सार्वजनिक भएको छ । तस्बिरहरुलाई हेर्दा उत्तर कोरियाले हालसालै यातायातका लागि सडक बनाएको देखिन्छ ।
दक्षिण कोरियाको ज्वाइन्ट चीफ अफ स्टाफ (जेसीएस) का एक अधिकारीले हालै एक अन्तर्वार्ता दिएका छन् ।
सडक सुदृढीकरण, बारुदी सुरंग बिछ्याउने र बाँझो जग्गा हटाउने कार्यलाई सेनाले रणनीतिक दृष्टिकोणले पहिचान गरेको उनले बताए ।
कोरिया युनिभर्सिटीका इन्टरनेशनल सेक्युरिटीका प्रोफेसर किल जु बान भन्छन्, “जमीन क्लियरिङ सैन्य र गैर-सैनिक दुवै उद्देश्यका लागि हुन सक्छ।”
यसको सहयोगले उत्तर कोरियालाई दक्षिण कोरियामा सैन्य गतिविधिमाथि नजर राख्न सहज हुने उनले बताए । साथै, सीमा पार गरेर दक्षिण कोरिया प्रवेश गर्न खोज्ने व्यक्तिहरू पनि सजिलै पहिचान गर्न सकिन्छ।
सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल रिलेसनका एसिया र कोरियाका लागि वरिष्ठ उपाध्यक्ष प्रोफेसर भिक्टरका अनुसार, “डिमिलिटराइज्ड जोनमा संरचना निर्माण गर्नु असामान्य हो र यो युद्धविरामको उल्लङ्घन हुन सक्छ।”
कोरियाली युद्ध १९५३ मा एक युद्धविरामसंग समाप्त भयो जसमा दुबै पक्षहरूले डिमिलिटराइज्ड जोन भित्र, यो क्षेत्र मार्फत वा यो क्षेत्र विरुद्ध कुनै पनि शत्रुतापूर्ण कार्यहरू नगर्ने वाचा गरे, तर अन्ततः कुनै शान्ति सम्झौतामा पुग्न सकेनन् ।
विगत केही वर्षदेखि उनीहरू फेरि एउटै देश बन्ने सम्भावना निकै कम देखिएको थियो तर २०२४ को सुरुसम्ममा उत्तर कोरियाका हरेक नेताको यो घोषित लक्ष्य थियो । तर अब किम जोङ उनले यो विचार त्यागेको घोषणा गरेका छन् र उनले यो विचारलाई नपछ्याउने भनेका छन् ।
केही विज्ञहरूले किम जोङ उनको यो घोषणालाई अभूतपूर्व भनेका छन् । यस वर्षको सुरुमा किम जोङले दक्षिण कोरियालाई आफ्नो सबैभन्दा ठूलो शत्रु भएको बताएका थिए । विज्ञहरूले यसलाई उत्तर कोरियाको नीतिमा ठूलो परिवर्तन भनेका छन् ।
त्यसयता उत्तर कोरियाले पनि दुई देशको एकता देखाउने प्रतीकहरू हटाउन थालेको छ। यसमा स्मारकहरू भत्काउने र एउटै देशको निर्माणको बारेमा कुरा गर्ने सरकारी वेबसाइटहरूबाट सन्दर्भहरू हटाउने समावेश छ।
किंग्स कलेज लन्डनका युरोपेली र अन्तर्राष्ट्रिय अध्ययनका प्रमुख डा. रामोन पाचेको पारडो भन्छन्: “उत्तर कोरियालाई दक्षिण कोरियाको आक्रमण रोक्न वास्तवमा धेरै बाधाको आवश्यकता पर्दैन, तर सीमामा यस प्रकारका संरचनाहरू निर्माण गरेर अहिले उनीहरू एकीकरणमा विश्वास गर्दैनन् भन्ने सङ्केत गर्दै छन् ।”
केही विज्ञहरूले सीमामा देखिएको पछिल्लो परिवर्तन किम जोङको फराकिलो कारबाहीसँग मेल खाने पनि बताउँछन् ।
अक्सफोर्ड युनिभर्सिटीमा कोरियाली प्रायद्वीपको अनुसन्धान गर्ने डा. एडवर्ड होवेल भन्छन्, “उत्तर कोरियाले संयुक्त राज्य अमेरिका वा दक्षिण कोरियासँग वार्ता गर्ने नाटक पनि गरिरहेको छैन। उसले हालै जापानको वार्ताको प्रयासलाई पनि अस्वीकार गरेको छ।”
उनी भन्छन्, “उत्तर कोरियाको रुससँगको सम्बन्ध सुदृढ भएपछि यस वर्षको अन्त्यसम्ममा उत्तर र दक्षिण कोरियाबीचको उत्तेजकता बढ्दै गएमा हामीले अचम्म मान्नुपर्दैन।”
Facebook Comment