एकीकृत समाजवादीमा १५१ केन्द्रीय सदस्य पराजित हुने निश्चित

डिसी नेपाल
९ असार २०८१ ७:३५

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादीक)को १०औं महाधिवेशन तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ । आगामी १६ असारदेखि २० असारसम्म काठमाडौंमा महाधिवेशन हुँदै छ । त्यसका लागि प्रतिनिधि छनोटसँगै अन्य व्यवस्थापनका कार्यहरू तीव्र रूपमा अगाडि बढेको छ । एकीकृत समाजवादीको महाधिवेशनसँगै १ सय ५१ केन्द्रीय सदस्य केन्द्रीय कमिटीमा पराजित हुने निश्चित भएको छ ।

अहिलेको केन्द्रीय कमिटी ३ सय ५० सदस्यीय रहेको छ । अब विधानअनुसार केन्द्रीय कमिटीको संख्या १ सय ९९ सदस्यीय हुनेछ । त्यसैले, हाल केन्द्रीय कमिटीमै रहेका १ सय ५१ सदस्य पराजित हुने निश्चित छ । यसमा युवा, महिला, दलितलगायतको आरक्षण रहेकाले अब आउने नयाँ प्रतिनिधि केन्द्रीय कमिटीमा आउने निश्चित भएसँगै हाल केन्द्रीय कमिटीमा रहेका सदस्य पराजित हुनेको संख्या बढ्नेछ ।

हालको केन्द्रीय कमिटीभन्दा सानो अब निर्वाचित हुने वैधानिक व्यवस्थाका कारण कतिपय केन्द्रीय सदस्य आउने नयाँ कमिटीमा नपर्ने भएका हुन् । कतिपय केन्द्रीय सदस्य नै केन्द्रीय कमिटीमा नआउने भएपछि महाधिवेशनको हलबाटै विधान संशोधन गरेर केन्द्रीय कमिटीको संख्या बढाउने चर्चा पनि एकीकृत समाजवादीभित्र चलिरहेको छ । एकीकृत समाजवादीकी पोलिटब्युरो सदस्य दिलु पन्तले पार्टीको आवश्यकता, अहिलेको समयलगायतका कारण केन्द्रीय कमिटीको संख्या महाधिवेशनका प्रतिनिधिको सहमतिमा बढ्न सक्ने बताइन् ।

‘अहिलेको महाधिवेशनको तयारी तीव्र रूपमा अगाडि बढेको छ । प्रतिनिधि छनोट भइसकेको छ । केही ठाउँमा निर्वाचनबाटै प्रतिनिधि छनोट भएको छ भने अधिकांश ठाउँमा सर्वसम्मत नै प्रतिनिधि चयन हुनुभएको छ । दुई÷चार ठाउँमा विवाद देखिएकाले पार्टीले त्यसको समाधान गर्दै टुंगो लगाउँनेछ’ पन्तले राजधानीसँग भनिन्, ‘अहिले केन्द्रीय कमिटीको संख्या जति छ विधानअनुसार अब निर्वाचित हुने केन्द्रीय कमिटीको संख्या घट्ने भएकाले कतिपय केन्द्रीय सदस्य नै नयाँ कमिटीमा नपर्ने सम्भावना पनि हुन्छ । यद्यपि, महाधिवेशन प्रतिनिधिको सहमतिका आधारमा विधान संशोधन गरेर केन्द्रीय सदस्यको संख्या बढ्न पनि सक्छ ।’ एकीकृत समाजवादीको महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् ।

देशैभरि ५ असारमा प्रतिनिधि छनोट भएको हो । १०औं राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट १ हजार ८ सय प्रतिनिधि छनोट भएका छन् । पन्तका अनुसार महाधिवेशनका लागि १ हजार ८ सय ४९ प्रतिनिधिको व्यवस्था गरिएकामा केही क्षेत्र र मातहतका कमिटीमा विवाद भएकाले प्रतिनिधि छनोट बाँकी छ । त्यसको पाँच प्रतिशत मनोनित हुने व्यवस्था छ । महाधिवेशन आयोजक समिति स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएकाले करिब ४ सय ५० केन्द्रीय नेता स्वतः प्रतिनिधि भएका छन् ।

यसअघि केन्द्रीय कमिटीका नेतासमेत आफ्नो भूगोलबाट छानिएर आउनुपर्ने निर्णय प्रतिनिधि परिषद्को बैठकले गरेको थियो । तर, कतिपय नेता भूगोलमै पराजित हुने निश्चित भएकाले सो निर्णय विपरित उनीहरूलाई स्वतः प्रतिनिधि हुने निर्णय गरिएको छ । निर्णयको अनुमोदन महाधिवेशन हलबाट पारित हुनुपर्ने छ । महाधिवेशन अस्वीकार गरेमा उनीहरू प्रतिनिधि हुन पाउनेछैनन् । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले)सँग अलग भएर गठन गरिएको एकीकृत समाजवादीले पहिलो पटक महाधिवेशन गर्न लागेको जनाउँदै यसका सदस्य एमालेकै निरन्तरताबाट आएकाले १०औं महाधिवेशन गर्न लागिएको उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जनाएका छन् ।

पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्ने महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । संघीय संसदको प्रतिनिधिसभामा १० र राष्ट्रियसभामा आठ सदस्य रहेको पार्टीले सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरिरहेको छ । आगामी नेतृत्वका लागि महाधिवेशनबाट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पुनः अध्यक्षमा सर्वसम्मत आउन खोजेका छन् ।

एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल समेत अगामी नेतृत्वका लागि आन्तरिक तयारीमा जुटेका छन् । एमालेबाट साढे दुई बर्ष अघि विभाजन भएको एकीकृत समाजवादीको अगामी नेतृत्वका लागि नेपाल र खनाल प्रतिस्पर्धाबाट समेत नेतृत्वमा आउँन खोजेका छन् ।

नेपाल र खनाल दुबैले एमालेको नेतृत्व गरिसकेको र पूर्वप्रधानमन्त्री भएर सरकार समेत चलाईसकेका अनुभवी नेता हुन् । १०औं महाधिवेशनबाट दुवै नेताले अध्यक्षमा आउँने अकांक्षा आफू निकटका नेताहरूसंग राख्ने गरेका छन् ।

नेपाल र खनालले नेतृत्वका लागि आन्तरिक जोडघटाउमा लागेकै बेला पार्टीका महासचिव घनश्याम भुसाल समेत अगामी नेतृत्वका लागि तयारी अवस्थामा रहेका छन् । नेपाल र खनाल दुवै नेता नेतृत्वका लागि जोडबलका साथ लागिरहेका बेला भुसालले आफू सर्वसम्मत अध्यक्षमा आउँन खोजेका छन् । एमाले विभाजन भएर एकीकृत समाजवादी गठन भएपछि भुसाल एमालेमै रहेका थिए ।

एमालेले गत आम निर्वाचनमा टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । त्यसपछि उनी एकीकृत समाजवादीमा प्रवेश गर्दै महासचिवको जिम्मेवारी पाए । एमालेको सौराहामा भएको महाधिवेशनमा भुसाल उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । तर पराजित भए । एमाले अध्यक्ष केपी शर्मा ओलीसंग आत्मसम्पर्ण नगरेका भुसाल ओलीको कार्यशैली एवं गलत क्रियाकलापको सधै चर्कोरुपमा विरोध गरिरहेका थिए । पार्टीमा खनाल निकट मानिने भुसाल वैचारीक नेतामा पर्छन ।

आगामी महाधिवेशनमा दुवै नेताले अध्यक्षको दाबी नछाड्दा सर्वसम्मत अध्यक्ष चयनको विषयले प्राथमिकता पाउन थालेको छ । केही दिनयता दुवै नेताले सर्वसम्मत नेतृत्व चयन गर्न आफूहरू बाधक नबन्ने अभिव्यक्ति दिन थालेका छन् ।

राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *