कांग्रेस-एमालेबीच तत्काल सहकार्य सम्भव नदेखेका प्रधानमन्त्री दाहाल सरकार पूरै अवधि चल्नेमा ढुक्क

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार एक कार्यक्रममा वर्तमान सरकार पूरै अवधि जाने बताए। सत्ता गठबन्धनमा असन्तुष्टि बढेको सार्वजनिक भइहरेका बेला प्रधानमन्त्री दाहालले वर्तमान सरकार पूरै अवधि जाने बताए।
कांग्रेस-एमाले मिलेर नयाँ समीकरण बनाउनु पर्ने र राजनीतिक स्थिरता दिनुपर्ने भन्दै कांग्रेसका नेताहरुले सार्वजनिक अभिव्यक्ति दिइरहेका छन्। त्यसका लागि उनीहरुले एमाले नेतृत्वमा सरकार बनाउन सकिनेसमेत बताइरहेका छन्।
योबीचमा बजेटलाई लिएर सत्तारुढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा नै सरकारको आलोचना गरेपछि वर्तमान सरकारको भविष्यलाई लिएर विभिन्न टिका टिप्पणी भएका थिए।
तर शनिबार प्रधानमन्त्री दाहालले वर्तमान सरकार पूरै अवधि चल्ने अभिव्यक्ति दिएर तत्काल गठबन्धन तलमाथि नहुने सन्देश दिएका छन्।
आफू नेतृत्वको सरकारले अपेक्षित परिणाम दिन नसकेको भन्दै गत फागुन २१ गते कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग मिल्न आएका प्रधानमन्त्री दहालको नयाँ गठबन्धनसँगको यात्रा पनि सुखद बन्न सकेको छैन।
प्रधानमन्त्री दाहालले जारी कार्यकालमा चारपटक संसद विश्वासको मत लिइसकेका छन्। संसद्बाट पटक-पटक विश्वासको मत लिए पनि प्रधानमन्त्रीप्रति समर्थक दलहरूकै अविश्वास भने निरन्तर बढ्दो छ।
अनेक उपाय अपनाएर पनि सरकार चलाउने सार्वजनिक घोषणा गरेका दाहाल प्रधानमन्त्रीबाहेक अन्य सबै कुरामा सम्झौता गर्न तयार देखिएको आलोचक बताउँछन्।
सरकारमा सहभागी कतिपय दलले नै सरकारको आलोचना गरिरहँदा भविष्यमा उत्पन्न हुनसक्ने खतराबाट सत्ता जोगाउनको लागि दाहाल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउन कोशिसमा छन्।
वर्तमान गठबन्धनप्रति प्रधानमन्त्री दाहाल आस्वस्त हुनुको मुख्य कारण तत्काल एमाले कांग्रेससँग सहकार्य गर्न तयार नहुनु हो। चुनावको परीणामा आउने वित्तिकै आफूहरुले कांग्रेससँग सहकार्यको प्रस्ताव गरेको तर कांग्रेसले बेवास्ता गरेको भन्दै तत्काल कांग्रेससँगको सहकार्य सम्भव नभएको एमाले उपमहासचिव प्रदीप ज्ञवाली बताउँछन्।
‘निर्वाचनको परिणाम आउने वित्तिकै हामीले दुई ठूला दल मिरेर सरकार बनाउँ अनि राजनीतिक स्थिरता कायम गरौं भनेर कांग्रेससँग प्रस्ताव गरेका थियौं,’ ज्ञवालीले डिसी नेपालसँग भने, ‘अहिले वर्तमान गठबन्धनको विकल्पमा एमालेले केही पनि सोचेको छैन। कांग्रेससँग सहकार्यको सम्भावना पनि तत्काल छैन।’
एमालेले तत्काल कांग्रेससँग सहकार्य नगर्ने र रास्वपा पनि वर्तमान गठबन्धन कै पक्षमा रहेको बुझेका प्रधानमन्त्रीले तत्काल गठबन्धन तलमाथि नहुने बुझेका छन्।
त्यसमा पनि एमाले अध्यक्ष केपी ओली आगामी निर्वाचनसम्म कांग्रेसलाई सरकार बाहिरै राख्न चाहन्छन्। मिनस ८४ मा ध्यान केन्द्रित गरेको एमालेका लागि वर्तमान गठबन्धनलाई जसरी पनि जोगाउनु पर्ने दबावमा छ। सरकारमाथि दबाव बढाए पनि ओली तत्काल प्रचण्डको विकल्प खोज्ने अवस्थामा नरहेको उनी निकट नेता बताउँछन्।
त्यही बुझेका प्रधानमन्त्री दाहालले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको दाबी गरेका हुन्।
आफूले पूरै कार्यकाल सरकार चलाउने परिस्थिति देखेको र प्रधानमन्त्रीबाट हट्छ कि भन्ने चिन्ता नलिन आग्रह गर्दै दाहालले शनिबार भने, ‘हामीले यो बाहिर भनेजस्तो सरकार कति दिन होला? चल्छ कि चल्दैन? विभिन्न कुराहरू आउँछन्। अर्कोले कुरा गर्दै छ रे, केही दिनपछि सरकार जाँदै छ रे भन्ने र तपाईं हाम्रो दिमागमा कन्फ्युज क्रियट गर्ने पूरै कोसिस भएको छ। अहिले डेढ वर्ष भयो। तर, म बसेकै छु। र, मैले जे देखेको छु सबै परिस्थिति। तरिका मिल्यो भने पूरै अवधि बसिन्छ। हामीलाई हटाउन सजिलो छैन। इतिहासका कारणले, मुद्दाका कारणले, आन्दोलनको कारणले र हाम्रो जादु नम्बरको कारणले पनि। जादु नम्बर छ हाम्रो। थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन। जादुवाला नम्बर छ। त्यो जादुले अनेक गरेर मिलाइहाल्छ। त्यसकारण त्यहाँ चिन्ता लिनुपर्ने छैन।’
Facebook Comment