बुहचर्चित नेपाली लोकगीत ‘बेनीको बजार, जता माया उतै छ नजर’लाई नयाँ स्वरुपमा ल्याइँदै

डिसी नेपाल
९ असार २०८१ १६:३३

म्याग्दी। बुहचर्चित नेपाली लोकगीत ‘बेनीको बजार, जता माया उतै छ नजर’ को म्युजिक भिडियोलाई नयाँ प्रस्तुतिका साथ पुनःनिर्माण गर्न सुरु गरिएको छ । जिल्ला सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल उक्त गीतलाई पुनः नयाँ स्वरुपमा रेडर्क गरेर म्युजिक भिडियो तयार गर्न लागिएको हो।

युवाको नेतृत्व र व्यक्तित्व विकाससँगै कला, संस्कृतिको संरक्षण र संवर्द्धनमा सक्रिय म्याग्दी जेसिजले गीतका सर्जकको परिवारबाट अनुमति लिएर गीतलाई नयाँ प्रस्तुतिका साथ बजारमा ल्याउन लागेको जनाएको छ । गीतको पुनः ताजकी गर्न र स्रष्टालाई सम्मान गर्न पुरानो वास्तविक गीतसँगै नयाँ शब्द संकलन समेत गरेर बेनीको बजार गीतलाई पुनः निर्माण गर्न लागिएको जिल्लास्थित जेसिजका शाखा अध्यक्ष दिनेश बानियाँले जानकारी दिए।

उनका अनुसार पुनःनिर्माण गर्न लागिएको गीतमा गायक रामचन्द्र काफ्ले र गायिका समीक्षा अधिकारीले स्वर दिएका छन्। गीत रेकर्डको काम सकेर अहिले म्युजिक भिडियो छायांकन भइरहेको निर्देशक डिके पुनले बताए। उनका अनुसार सदरमुकाम बेनीबजार, गलेश्वरधाम र लभ्लिहिल क्षेत्रमा छायांकन गरिएको म्युजिक भिडियोमा रघुगंगा गाउँपालिका–७ चिमखोलाबाट सुरुआत भएर पछिल्लो समय लोकप्रिय बनेको थालीनाचलाई समेत समावेश गरिएको छ।

मोडल गम्भीर विष्ट र अञ्जली अधिकारीले अभिनय गरेको म्युजिक भिडियोमा म्याग्दीका करिब ४५ भन्दाबढी कलाकारले नृत्य र अभिनय गरेका छन्। टिकाबहादुर श्रेष्ठले रचना गरेको उक्त गीतमा सर्जक श्रेष्ठ र उनकी श्रीमती मन छन्त्यालले पहिलोपटक बेनीको बजार गीत गाएका थिए। विसं २०३१ मा रेडियो नेपालमा मन छन्त्यालको स्वरमा रेकर्ड भएपछि विश्वभरका नेपालीमाझ निकै चर्चामा आएको यो गीतलाई पछि राजु परियार र बिमाकुमारी दुराको स्वरमासमेत रेकर्ड गरेर बजारमा ल्याइएको थियो।

विसं २०१९ फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौंको राष्ट्रिय नाचघरमा पहिलोपटक रचनाकार श्रेष्ठ दम्पतीले ‘बेनीको बजार, जता माया उतै छ नजर’ बोलको गीत गाएका थिए। उक्त कार्यक्रममा तत्कालीन १४ अञ्चलबाट आएका कलाकारलाई उछिनेर श्रेष्ठ दम्पतीको गीत प्रथम भएको थियो। गीतका सर्जक श्रेष्ठको निधन भएकाले उनकी धर्मपत्नीको सहमतिमा गीत र म्युजिक भिडियोलाई पुनःनिर्माण गर्न लागिएको जेसिजका शाखा अध्यक्ष बानियाँले जानकारी दिए।

म्याग्दी जेसिजले जिल्लाका लोकप्रिय गायक खड्क गर्वुजाको पानीखायो बाघैले बोलको सालैजो गीतको समेत नयाँ म्युजिक भिडियो तयार गर्न लागेको छ । दुवै गीत र म्युजिक भिडियो पुनःनिर्माणमा करिब रु आठ लाख खर्च हुने जनाइएको छ। सालैजो गीतको बेनी नगरपालिका–१ अर्जममा छायांकन गरिएको छ।

शेखर पुन र मिलन थापा मगरले अभिनय गरेको उक्त म्युजिक भिडियोको छायांकन सन्तोष पिठाकोटे मगरले गरेका छन्। म्याग्दीका कलाकारले सृजना गरेका गीतसंगीतलाई नयाँ पुस्तासँग जोड्ने गरी पुनः रेकर्ड गरेर बजारमा ल्याउँदा जिल्लालाई थप उचाइमा चिनाउन र सर्जकको सम्मानमा सघाउ पुग्ने जिल्लास्थित उद्योग वाणिज्य संघका अध्यक्ष सुबिनकुमार श्रेष्ठले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *