क्यानडाद्वारा इरानको सबैभन्दा शक्तिशाली सेनालाई आतंकवादी संगठन घोषणा

डिसी नेपाल
११ असार २०८१ १४:२१

काठमाडौं । क्यानडाले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) लाई आतंकवादी संगठन घोषणा गरेको छ । यसका साथै आफ्ना नागरिकहरूलाई जतिसक्दो चाँडो इरान छोड्न आग्रह गरेको छ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आईआरजीसीलाई अब क्यानडाको आतंकवादी समूहको सूचीमा समावेश गरिएको बताएका छन् । यस निर्णयको घोषणा गर्दै जस्टिन ट्रुडोको क्यानडा सरकारले यो कदमले आतङ्ककारी आर्थिक सहयोग रोक्न मद्दत गर्ने बताएको छ।

क्यानडा सरकारले एक विज्ञप्तिमा भन्यो – आईआरजीसीलाई आतंकवादी सूचीमा समावेश गरेपछि क्यानाडाले आईआरजीसीका सबै आतंकवादी गतिविधिहरूलाई सम्बोधन गर्न हर सम्भव प्रयास गर्नेछ भन्ने बलियो सन्देश पठाएको छ। यद्यपी इरानले क्यानडाको कदमबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

वर्षौंदेखि क्यानडाको विपक्षी कन्जरभेटिभ पार्टीले प्रधानमन्त्री ट्रुडोलाई आईआरजीसीलाई कालोसूचीमा राख्न अनुरोध गर्दै आएको छ। क्यानडाका सार्वजनिक सुरक्षा मन्त्री डोमिनिक लेब्ल्याङ्कले भने – इरानको मानव अधिकार रेकर्ड यो निर्णयको प्रमुख कारण हो। उनले विज्ञप्तिमा इरान सरकारले देशभित्र र बाहिर मानवअधिकारको निरन्तर हनन गरिरहेको बताए ।

आइआरजीसीलाई सिपाह-ए-पासदारन पनि भनिन्छ । यसलाई इस्लामिक क्रान् पछि तुरुन्तै स्थापना गरिएको थियो। त्यतिबेला यो एउटा सानो सेना थियो, जसमा परम्परागत लडाकुहरू थिएनन्, तर देशमा इस्लामिक क्रान्ति चाहने मानिसहरू थिए।

यसअघि इरान निकै आधुनिक देश थियो । तर यस्तो अवस्थामा इस्लामिक कानूनको धेरै विरोध भएको थियो। आइआरजीसीको उद्देश्य यो विरोध समाप्त गर्नु थियो। पछि यो समूहलाई इरानी कानूनमा वैध मानिएको थियो। राजनीतिक र आर्थिक मामिलामा हस्तक्षेप गर्न सक्ने अधिकार पनि यसलाई दिइएको थियो।

यो अरू कुनै देशको परम्परागत सेनाजस्तो होइन, यो इरानको विशेष वैकल्पिक बल हो। सेना प्रमुखको दाबीअनुसार उनीसँग एक लाख ९० हजार सक्रिय सैनिक छन्, जसले जमिन, समुद्र र हावामा काम गर्छन्।

यसले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीलाई प्रत्यक्ष रूपमा रिपोर्ट गर्छ। इरानको ब्यालेस्टिक मिसाइल र आणविक कार्यक्रम पनि चलाउने गरेको तथ्यबाट यो बलको शक्तिको अनुमान लगाउन सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *