निरन्तर सञ्चार, जोडिन्छ संसार

खगेन्द्रराज सिटौला
१३ असार २०८१ ८:२७

पृथ्वीविचारले निरन्तर सञ्चारको नीति अगाडि सारेको छ। संसार जोड्नलाई सञ्चारमा जोड दिएको छ पृथ्वीविचारले। सञ्चारले इतिहासलाई पनि जोड्छ, पुस्तालाई पनि जोड्छ र संसारलाई पनि जोड्छ भन्ने तथ्य बुझेर नै पृथ्वीनारायण शाहले सूचना र सञ्चारलाई जोड दिएका हुन्।

सञ्चार आफैंमा राज्यको रक्त सञ्चार हो भन्ने विचार पृथ्वीनारायण शाहले अघि सारेका छन्। राज्य थाम्ने कुरामा सञ्चार र सूचनाको शक्ति कति छ भन्ने बुझेर नै पृथ्वीनारायण शाहले अवरोध रहितको निरन्तर सूचना र सञ्चारमा जोड दिएका हुन्।

“बूढा मरे भाषा सरे भनी भन्छन् तिमीहरु सबैछेउ सुनाइगयाको भया तम्रा सन्तानलाई सुनाउला र तम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउन र या राजे थामिषान्”। यसबाट जाहेर हुन्छ सूचना र सञ्चारमा राज्य थाम्ने शक्ति देखेका थिए पृथ्वीनारायण शाहले। त्यसैले उनले सूचना नलुकाउनु सार्दै फिजाउँदै लानू भनेर उनले निर्देशन विचार अधि सारेका हुन्।

यो भनेको नै सञ्चार र सूचनाको निरन्तरता हो। सञ्चारको निरन्तरता मार्फत इतिहास र सभ्यताको निरन्तरता जारी राख्नु पनि हो। हरेक पूर्ववर्ती समय सूचना, अनुभव र इतिहासको भण्डार हो भने हरेक पछिल्लो समय त्यसको उत्तराधिकारी वा विरासत हो।

इतिहाससँग जोडिएका सूचना र अनुभवहरुलाई सजीव रुपमा पछिल्लो पुस्तामा सार्दै लाने काम हरेक अघिल्लो पुस्ताको हो भने इतिहासका सूचना र अनुभवहरु तानिरहने र ग्रहण गरिरहने काम हरेक पछिल्लो पुस्ताको हो।

हरेक युग सूचना र सञ्चारको युग थिए छ र भइरहने छ। हरेक वर्तमानमानमा सूचना र सञ्चार प्रवाहित भइरहन्छन्, भइरहनु पर्दछ। अमुक युग या शताब्दी मात्र सूचना र सञ्चारको युग भन्नु गलत हुनेछ। पृथ्वीविचारले यसलाई स्वीर्कादैन। किन भने बुढा मरे तर सूचना र सञ्चार नमरे पुस्ता दर पुस्ता सरे।

त्यसैले पनि हरेक युग उत्तिकै सूचना र सञ्चारका युग हुन्। हरेक युगमा नै सूचना र सञ्चारको महत्व उत्तिकै छ। हिजो पनि सूचना र सञ्चारको महत्व उत्तिकै थियो, आज पनि उत्तिकै छ र भोलि पनि रहने छ। सूचना जमाउने, गुम्स्याउने लुकाउने होइन प्रवाहित गरिरहने हो, पृथ्वीविचारले यही भन्छ। हो सूचना सार्ने प्रविधी भने परिवर्तन भइरहन्छ।

इतिहास नटुटोस् र झुटो पनि नहोस्। यही तथ्य सत्यको निरन्तरताको दाइत्व सुम्पेको छ पृथ्वीविचारले हरेक पुस्तालाई। हरेक पाका पुस्ताहरु, उमेरका जेठाहरु रचना र घटनाका जेठाहरु पछिल्ला पुस्ता या उमेर समुहका सूचना र सञ्चारका श्रोतहरु हुन्। इतिहास अनुभव र ज्ञानका भण्डारहरु हुन्।

हरेक गुरु पुस्ताहरुको दाइत्व अनुभव, ज्ञान, इतिहास र सूचना नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानु युगिन दायित्व हो। लेखेर होस् या बोलेर होस् सूचनाहरुलाई जम्न र सड्न दिनु हुँदैन। सूचना र सञ्चार इतिहासका तथ्यहरुलाई जस्ताको तस्तै पस्कने माध्यम भएकोले यसलाई लुक्न दिनु हुदैन भन्ने पृथ्वीविचारको जोडबल हो आग्रह हो निर्देशन हो।

हरेक पुस्तालाई इतिहासबाट सकारात्मक नकारात्मक शिक्षा लिन, पुर्खाहरुको गौरवमय इतिहासको सकारात्मक धारलाई कायम राखिरहन र पछिल्ला पुस्ताहरुलाई पथच्यूत या पथभ्रष्ट भएर बिग्रनबाट रोक्न पनि पृथ्वीविचारको बूढा मरे भाषा सरेको अर्थ र महत्व बुझ्न सकिन्छ।

पुस्ता पतन हुनु र नहुनुले राष्ट्र पतन हनु र नहुनुसँगको सवालसँग सम्बन्ध राख्दछ। त्यसैले पनि गौरवपूर्ण परम्पराहरुलाई कसरी निरन्तरता दिने सवालको चिन्ता हो पृथ्वीनारायण शाहको।

इतिहास भनेको घटना, सूचना, ज्ञान अनुभव र अनुमान समेतको प्याकेज हो। त्यसैले हरेक युगका बूढाहरु यो प्याकेजका साक्षी र स्रोतहरु हुन्, ज्ञान र अनुभवका भण्डार पनि हुन्। यो भण्डारलाई मकाएर, सडाएर खेर जान दिनु हुँदैन। यसको निकास दिइरहनु पर्दछ। निकास आफैंमा विकास हो। बुढा मरे भाषा सरेको अर्थ र मर्म यही हो।

पुराना पुस्ताबाट सिक्ने र आफूलाई अझ परिमार्जन गरेर तिखार्दै लाने भनेको नै बुढा मरे भाषा सरे को धार र सार हो। परम्परालाई पन्साउने नाममा पथभ्रष्ट भएर परहरुको कुबाटोमा नबहकिउन् पनि हो बुढा मरे भाषा सरेको अक्षर र भावना। यो राम्रो परम्पराको हस्तान्तरण गर्दै जाने र राज्यलाई थामी खाने बलियो वैचारिक आधार पनि हो।

आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको लोक भनाइ त्यसै प्रचारित भएको होइन। यो विश्वव्यापी सच्चाइ हो। यो शिरदेखि तिरसम्मको निरन्तर श्रृखला पनि हो।

सूचना सञ्चार आफैंमा विशाल संसार हो। त्यसैले सूचना र संञ्चारका शक्ति र महत्व बुझेका पृथ्वीनारायण शाहले सूचना र सञ्चारको प्रवाहलाई बेरोकटोक पुस्तौं पुस्तासम्म प्रवाहित गराइरहन बूढा मरे भाषा सरे निर्देशन जारी गरेका हुन्।

अनुभव र इतिहासका सकारात्मक धारलाई पिँढी दर पिँढी हस्तान्तरण गर्दै जानु र अघिल्लो पिँढीको अनुभव र विचारलेसमेत पछिल्लो पिँढी हरेक अघिल्लो पिढी भन्दा प्रखर र बलियो बन्दै जानु पर्छ भन्ने मान्यता हो पृथ्वीविचारको बूढा मरे भाषा सरेको।

हरेक पाका पुस्ताहरु स्वय सञ्चार र सूचनाका अध्याय हुन् अध्यायनका सामाग्री हुन्, सूचनाका स्रोत र भण्डारहरु हुन्। ज्ञान र अनुभवका खानीहरु हुन्। यस्ता अमूल्य मानवीय सम्पति मानव जतिको हित र जितको लागि निरन्तर हस्तान्तरण गर्दै लानु भनेको इतिहासलाई सजिव र जीवित बनाएर बगाइरहनु पनि हो। इतिहासका सूचना र तथ्यहरुलाई ओझेलमा पर्न नदिनु पनि हो।

पृथ्वीविचार बलियो सञ्चार संयन्त्रको पक्षमा उभिएको विचार हो। सञ्चारको निर्वाध विकासले सबै निकास दिन महत्वपूर्ण योगदान दिनसक्छ भन्ने पृथ्वीनारायण शाहको दृढ विश्वास भएर नै उनले सूचनाहरुलाई नछेक्न र नरोक्न बूढा मरे भाषा सरेको मान्यता अघि सारेका हुन्। पृथ्वीनारायण शाहले सञ्चारलाई राज्यको अंग मात्रै मानेनन् राज्य थामिखाने आधार पनि मानेको देखियो।

इतिहासका सकारात्मक पाटो र बाटोलाई उनले वर्तमानको शक्ति देखे। आजको हरेक वर्तमान भोलिको हरेक इतिहास हो, भोलिको हरेक इतिहास भोलिको हरेक वर्तमान को शक्ति हो। सञ्चार क्षेत्रलाई बलियो भरपर्दो र विश्वासिलो बनाएर लैजानु भनेको नै बुढा मरे भाषा सरेलाई निरन्तरता दिइरहनु हो।

मानिस मरेर जान्छ तर सूचना र विचारलाई मर्न दिनु हुँदैन यसलाई बगाइरहनु पर्दछ भन्ने मान्यता हो पृथ्वीविचारको बूढा मरे भाषा सरेको। पृथ्वीविचार सञ्चारको विकासको आधार पनि देखियो। यसमा इतिहासलाई जोडिरहने कडी र आधार पनि देखियो।

सारमा पृथ्वीविचार भनेको सञ्चारको निरन्तर विकास निरन्तर प्रवाह नै हो। सञ्चार क्षेत्रलाई बढी भन्दा बढी सूचना र ज्ञानको क्षेत्र बनाएर लैजानु पर्दछ। रचनात्मक र श्रृजनात्मक बनाएर लैजानु पर्दछ।

सञ्चार र सूचनाको क्षेत्रलाई ध्वंसात्मक बनाएर राज्यका जरा काट्ने होइन कि राज्यको बोट बृक्षलाई उक्केरा लगाउने खालको हुनुपर्दछ। पृथ्वीविचार रचनात्मक र श्रृजनात्मक सूचना र सञ्चारका पक्षपाति हुन्।

बूढा मरे भाषा सरे उनको रचनात्मक र श्रृजनात्मक सञ्चार र सूचनाको धार हो। बूढा मरे भाषा सरे भनेको खोला खोल्सीहरु बग्दै र बढ्दै क्रमश नदी, समुद्र या महासागरमा रुपान्तरण भए जस्तै हो। यो आफैंमा सूचनाको निरन्तर खेती हो। पृथ्वीनारायण शाहले बुझेको सञ्चार क्षेत्रको शक्ति हो।

त्यसैले हरेक युग सूचना र सञ्चारको युग हो। हरेक व्यक्ति सूचना र सञ्चारको स्रोत हो शक्ति हो। वर्तमानमा पनि बूढा मरे भाषा सरे भनेको निरन्तर संचार क्षेत्रको विकास र गति नै हो।

फेरि पनि यही हो गौरवशाली इतिहासका प्रवाहलाई झनै बग्न दिइरहनु साँचो अर्थमा बूढा मरे भाषा सरे हो। बर्तमानका हरेक बूढाहरु हो तिमीमा भएको ज्ञान, अनुभव, सीप, सोच र सूचना नयाँ पूस्ताहरुमा हस्तान्तरण गर्दै जाउ। बूढा मरे भाषा सरे सूचना र सञ्चारलाई ध्वंसात्मक नपारे रचनात्मक र श्रृजनात्मक पारे वाधा र वरोध नपारे।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *