राष्ट्रिय परिचय पत्र : झुक्याउने र लापरवाही गर्ने गृह मन्त्रालय, दुःख पाउने वृद्धवृद्धा
काठमाडौं। राष्ट्रिय परिचय पत्रको आवेदन दिएपछि आवेदन रुजु गरेर बायोमेट्रिक दिन जाने धेरैसेवाग्राहीले गृह मन्त्रालयको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको लापरवाहीका कारण सास्ती खेप्नु परेको छ। यसरी गएका सेवाग्राहीहरुलाई पहिलो पटक पुग्दा विभागका तोकिएका केन्द्रहरुबाट रित्तो हात फर्काइने गरिएको छ।
यसरी बायोमेट्रिक दिन पुगेर बायोमेट्रिक दिनै नपाई रित्तो हात फर्किनेमा अधिकांश वृद्धवृद्धा छन्। उमेरका कारण शरीरले साथ दिन छोडिसकेको अवस्थामा कष्टपूर्वक बायोमेट्रिक दिन पुगेका वृद्धवृद्धा त्यत्तिकै फर्कन बाध्य हुनु दुःखद कुरा त हो नै। यो अवस्था आउनुमा ती वृद्ध नागरिकको कुनै गल्ती छैन। गल्ती राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग आफ्नै हो।
विभागले राष्ट्रिय परिचय पत्रको आवेदन अनलाइन प्रणालीमार्फत लिने व्यवस्था मिलाएको छ । यसरी अनलाइन प्रणालीमार्फत सबै विवरण भरिसकेपछि अन्तिममा एउटा फाराम आउँछ। सेवाग्राहीले भरेका विवरणहरु उल्लेख भएको यो फाराम प्रिन्ट गरेर रुजु गराउन र बायोमेट्रिक विवरण विद्युतीय प्रणालीमा प्रविष्ट गराउनका लागि विभागले तोकेको सेवा केन्द्रमा जानुपर्छ।
यो फाराममा सेवाग्राहीले विवरण रुजु गराउन र बायोमेट्रिक विवरण प्रविष्ट गराउन सेवा केन्द्रमा जाँदा साथमा लैजानुपर्ने कागजातको विवरण उल्लेख गरिएको छ। फाराममा उल्लेख भएअनुसार सेवाग्राहीले नागरिकताको प्रमाणपत्र अनिवार्य लैजानुपर्छ।
नागरिकतामा जन्म मिति नखुलेको अवस्थामा जन्ममिति खुल्ने कागजात, बसाइसराइ गरेको भए सोको सक्कल प्रमाणपत्र, विवाहितको नागरिकतामा पति वा पत्नीको नाम उल्लेख नभए विवाह दर्ता वा नाता खुल्ने प्रमाणपत्र र राहदानी लिएकाको हकमा सम्भव भएसम्म राहदानी साथमा लैजान भनिएको छ।
मंगलबार राष्ट्रिय परिचय पत्रको विवरण रुजु र बायोमेट्रिक प्रविष्ट गराउने केन्द्र नारायणहिटी दरबार परिसर पुग्दा त्यहाँ थुप्रै वृद्धवृद्धाहरु काम नभइ घर फर्किने बाध्यतामा थिए। ती वृद्धवृद्धाहरु एकल महिला वा विधुर थिए।
उनीहरुले अनलाइनमार्फत विवरण भरिसकेपछि प्राप्त फाराममा उल्लेख भएबमोजिम सबै कागजात लगेका थिए तर उनीहरुसँग श्रीमान वा श्रीमतीको मृत्यु दर्ताको प्रमाण पत्र थिएन। त्यसबाहेक केहीसँग ज्येष्ठ नागरिक वा एकल महिलाको रुपमा सामाजिक सुरक्षा भत्ता लिनको लागि जारी गरिएको परिचय पत्र पनि थिएन।
अनलाइन विवरण भरिसकेपछि दिइने फाराममा सेवाग्राहीले यी कागजात लैजानुपर्छ भनेर कतै पनि उल्लेख छैन। विभागले नै यी कागजात चाहिन्छन् भनेर कतैबाट सूचना नदिएपछि ती वृद्धवृद्धाहरु यी कागजात नलिइ विवरण रुजु गराउन र बायोमेट्रिक दिन पुग्ने गरेका छन्। तर, उनीहरुलाई पछि यी कागजातहरु मागेर सेवा केन्द्रबाट फर्काइन्छ।
गृह मन्त्रालयबाटै आवश्यक कागजातको विवरण उपलब्ध नगराइएका कारण सेवाग्राहीले दुःख पाउनुपरेको सम्बन्धमा गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले यस विषयमा बुझेर सुधार गर्ने बताए। ‘सेवाग्राहीलाई अनावश्यक दुःख दिइनु हुँदैन। यस विषयमा के भएको रहेछ भन्ने हामी सम्बन्धित विभागसँग बुझेर सुधार गर्नेछौं’ भट्टराईले डिसी नेपालसँग भने।
राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले कुनै पनि नागरिकको वैवाहिक स्थिति खुल्ने कागजात अनिवार्य आवश्यक पर्ने निर्देशिकामा नै उल्लेख भएको बताए।
‘कुनै व्यक्ति विवाहित हो भने विवाह दर्ता प्रमाणपत्र, श्रीमान वा श्रीमतीको मृत्यु भएको हो भने मृत्यु दर्ता प्रमाणपत्र र सम्बन्धविच्छेद भएको हो भने पनि सोको प्रमाणपत्र अनिवार्य आवश्यक पर्ने निर्देशिकामा नै उल्लेख छ’ कट्टेलले भने।
तर, राष्ट्रिय परिचय पत्रका लागि अनलाइनमार्फत भरिने फाराम वा कागजमा प्रिन्ट भएको हातले लेखेर भर्ने फाराम दुवैमा पति वा पत्नीको मृत्यु दर्ता वा सम्बन्धविच्छेदको कागजात आवश्यक पर्छ भनेर स्पष्ट भनिएको छैन। महानिर्देशक कट्टेलले भने फाराममा यी विवरण आवश्यक पर्छ भनेर लेखिएको दावी गरे।
महानिर्देशकले दावी गरेपछि विभागको वेबसाइटबाट उक्त फाराम डाउनलोड गरेर हेर्दा समेत यी विवरण आवश्यक पर्छ भनेर उल्लेख भएको देखिएन। विभागले यी कागजात आवश्यक पर्छ भनेर एक वाक्य नलेखिदिँदा दैनिक एउटै सेवा केन्द्रबाट सयभन्दा बढी सेवाग्राही रित्तो हात फर्किनुपरेको छ।
राष्ट्रिय परिचय पत्रको फाराम भर्दा कसैको पैतृक स्थिति थाहा भएको भनेर विवरण भर्न सुरु गरियो भने सम्बन्धित नागरिकको बाबु, आमा, हजुरबुवा र हजुरआमा समेतको विवरण नभर्दासम्म फाराम स्वीकृत हुँदैन। धेरै सेवाग्राहीलाई आफ्नो हजुरबुवार हजुरआमाको नाम थाहा छैन। तर, बाबुआमाको मात्रै विवरण भरेर हजुरबुवा हजुरआमाको विवरण नभर्ने विकल्प उपलब्ध छैन।
देशमा केही वर्ष अघिसम्म प्रचलित सरकारी नियममा बाबु र बाजेको नाम आवश्यक पर्ने नियम थियो। तर, त्यसमा आमा वा हजुरआमाको नाम आवश्यक पर्ने व्यवस्था थिएन। २०६२ सालमा नयाँ नागरिकता ऐन नबन्दासम्म नागरिकतामा आमाको नाम लेख्ने व्यवस्था नै थिएन।
हजुरआमाको नाम त सरकारी कामकाजका लागि आवश्यक छँदै थिएन। यस्तोमा अहिले वृद्ध उमेरमा पुगिसकेका अधिकांशलाई आफ्नी हजुरआमाको नाम समेत थाहा नहुन सक्छ । तर, त्यो विवरण नभर्ने विकल्प उपलब्ध नै छैन।
यस विषयमा महानिर्देशक कट्टेललाई सोध्दा उनले यो प्राविधिक विषय भएको र आफूले पनि प्राविधिकलाई सोधेर मात्र जवाफ दिन सक्ने बताए। त्यसको केही समयपछि विभागकी एक कर्मचारीले डिसी नेपाललाई टेलिफोन सम्पर्क गरिन्।
ती कर्मचारीसँग यो समस्याबारे सोध्दा उनले हजुरबुवा वा हजुरआमाको नाम थाहा नभए त्यो ठाउँमा कुनै एउटा अक्षर मात्रै टाइप गरेर फाराम प्रविष्ट गर्ने र पछि बायोमेट्रिक विवरण दिन जाँदा त्यहाँका प्राविधिकलाई भनेर सच्याउन लगाउनुपर्ने अप्ठ्यारो विकल्प सुझाइन्।
थाहा नभएको विवरण भर्नु नपर्ने बनाउने प्राविधिक हिसाबले धेरै जटिल विषय भने होइन। अहिलेकै अनलाइन फाराममा केही विवरणहरु अनिवार्य भर्नुपर्ने र केही नभरे पनि हुने छन्।
हजुरबुवा वा हजुरआमाको विवरणलाई अनिवार्यबाट हटाएर वैकल्पिक बनाइदिने बित्तिकै कम्प्युटर प्रणालीले ती विवरण नभरे पनि फाराम स्वीकार गर्छ। तर, विभागका प्राविधिकहरु कम्प्युटर प्रणाली सच्याउनुको सट्टा सेवाग्राहीलाई अप्ठ्यारो तरिका सिकाउँछन्।
समस्या हजुरबुवा वा हजुरआमाको मात्रै होइन बाबुआमाको विवरणमा पनि छ। बाबु वा आमाको सम्बन्ध ठिक नभएको वा बाबुआमामध्ये एकको आचरण खराब भएर आफूलाई छोडेर गएको अवस्थामा कैयौं सन्तान आमा वा बाबुकै विवरण राख्न नचाहने पनि छन्।
विवाह नगरी कुनै महिलाले जन्माएका सन्तान वा एकल पिताले हुर्काएका सन्तानले पनि आफ्नो आमा वा बाबुको विवरण उल्लेख गर्न नचाहने अवस्था पनि छ । तर यस्ता सन्तानका लागि विकल्प छैन।
कानुनले आमा वा बाबु एकजनाको नामबाट मात्रै नागरिकता प्राप्त गर्न सकिने व्यवस्था गरेको छ। तर, राष्ट्रिय परिचय पत्रको अनलाइन फाराममा आफूलाई थाहा नभएका वा थाहा भएर पनि उल्लेख गर्न नचाहेका यस्ता विवरणहरु उल्लेख नगर्ने सुविधा छैन।
राष्ट्रिय परिचय पत्रमा सेवाग्राहीलाई यस्ता विवरण समेत अनिवार्य भर्न बाध्य पारिएको छ जुन उनीहरुले उल्लेख गर्न चाहँदैनन् र कानुनले उनीहरुलाई ती कुरा उल्लेख नगर्न छुट पनि दिएको छ। कानुनसँग बाझिएका यस्ता जटिलताले राष्ट्रिय परिचय पत्रको प्राप्ति धेरै सर्वसाधारणका लागि जटिल बन्दै गएको छ।
Facebook Comment