सहकारी छानबिन समितिको बैठकः गोरखा मिडियामा रकम गएका सहकारीको कागजात माग

काठमाडौं। सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले बिभिन्न सहकारीमार्फत गोर्खा मिडियामा प्रवाह भएको रकमको विवरण झिकाउने निर्णय गरेको छ।
सिंहदरबारमा बुधबार बसेको समिति बैठकले विभिन्न सहकारीमार्फत गोरखा मिडिया नेटवर्कमा प्रवाह भएको रकमको कागजात मगाउने निर्णय गरेको समिति संयोजक सुर्य थापाले जानकारी दिए। समितिको कार्यादेशको अनुसूची २ मा रहेका ९ वटा सहकारीका सन्दर्भमा सम्बन्धीत निकायबाट कागजात मगाउने निर्णय समितिले गरेको छ।
ती सहकारीहरुको साधारण सभाको प्रतिवेदन विवरण, लेखा परीक्षण प्रतिवेदन , सञ्चालक समितिको विवरण, लेखा सुपरिवेक्षण र अन्य आवश्यक वित्तीय विवरणका साथै विभिन्न सहकारीमार्फत गोर्खा मिडियामा प्रवाह भएको रकमको स्थीति समेत ६ वटा बुँदामा कागजात माग गर्ने निर्णय भएको संयोजक थापाले उल्लेख गरे।
उनले गोर्खा मिडियामा विभिन्न सहकारीबाट प्रवाह भएको रकममा समितिको चासो केन्द्रीत रहेको जिकिर गरे। त्यस्तै थापाले यसअघि गठन भएका समिति, आयोग लगायतको प्रतिवेदन प्राप्त भएको र अध्ययनका लागि समिति सदस्यहरुलाई वितरण गरिएको जानकारी दिए। सभापति थापाले सहकारी छानबिनमा समग्ररुपमा अध्ययन गरिरहेको भन्दै निष्पक्ष रुपमा छानबिन हुने दावी गरे।
त्यस्तै बुधबार बसेको बैठकले नै समस्याग्रस्त सहकारीको छानबिनका लागि सहकारीविज्ञ दिपक प्रसाद बास्कोटा र केशव बडालसँग पनि परामर्श गरेको थियो। गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो।
Facebook Comment