लघुकथा: विषाक्त सम्बन्ध
खाना खाँदाखाँदै कसलाई कतिबेला रिस उठ्ने हो र पानीको ग्लास वा चाइनिज माटोको कुनै प्लेट भित्तामा बज्रने हो, यसै भन्न सकिन्नथ्यो। टिभी हेर्दाहेर्दै कसले के बोलिपठाउने हो र टिभीको रिमोट वा मोबाइल फोन भुइँमा पछारिइनु पर्ने हो, कुनै ठेगान थिएन।
गुड्दा गुड्दै कहाँनेर कसको चित्त दुख्ने हो र बीच सडकमै दुईमध्ये एक जना गाडीबाट ओर्लेर आँसु पुछ्दै ट्याक्सी खोज्नु पर्ने हो, कुनै टुंगो थिएन। यसरी सुरज सीमाको वैवाहिक जीवन ‘टक्सिक’ चलिरहेको थियो।
विवाहअघि प्रेममा हुँदा दुवैले एक अर्कासँग थुप्रै ‘कमिटमेन्ट’ हरु गरेका थिए। विवाहपछि कार्यान्वयनमा समस्या देखिन थाल्यो । सीमा घरगृहस्थीका परम्परा तोडेर आधुनिक शिक्षाको तागतमा धेरै अघि बढ्न चाहन्थी। सुरज एक शिक्षित एवं पुराना मूल्यहरुमा चल्न रुचाउने खालको युवा थियो।
सीमा आफूलाई सुरजले बाँधेर राख्न खोजेको आरोप लाउँथी। सुरज सम्बन्धमा एक अर्काबीच एक स्तरको सम्झौता हुनै पर्छ भन्ने मान्यता राख्थ्यो। शनै शनै उनीहरुबीच न्यानो भन्ने कुरा केही पनि रहन छाडेको थियो। सधैं चिसा रातहरु। सधैं अमिला अनुभूतिहरु।
आकाशमा बादल फाटेर दुई भाग लाग्दै थियो। हाइवेमा पूर्वका गाडीहरु पूर्वतिर दगुर्दै थिए। पश्चिम जाने माइक्रोहरु पश्चिमतिर भाग्दै थिए। बगैंचामा अम्बाको रुखबाट एउटा पहेँलो पात जमिनतिर खस्दै थियो। ठीक यस्तै बेला अदालतको आँगनमा डिभोर्सपछि सीमा र सुरज पनि विपरीत दिशामा पाइला चाल्दै थिए। भोलिदेखि उनीहरु ‘चलो, इक बार फिर से अजनबी’ बन्दै थिए।
यसरी एक विषाक्त सम्बन्धबाट उनीहरु छुट्टिए। छुट्टिन त छुट्टिए यद्यपि मान्छेको जिन्दगी यति जटिल छ कि, यहाँ खुसीको ग्यारेन्टी कसरी पो गर्न सकिन्छ र! त्यस्तो हाम्रो जिन्दगी छ! त्यस्तो हाम्रो अनिश्चितता छ!
Facebook Comment