भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानास्थलमा उडानबारे अमेरिकामा भारतसमक्ष नेपालको प्रस्ताव

डिसी नेपाल
१४ असार २०८१ ७:०५

वासिंगटन डिसी। अमेरिकाको राजधानी वासिंगटन डिसीमा अमेरिकी सरकारद्वारा आयोजित एक विशेष कार्यक्रममा नेपालका दुई अन्तर्राष्ट्रिय विमानास्थलहरु सञ्चालनमा ल्याउन छिमेकी मुलुक भारतले सहयोग गर्नुपर्ने प्रस्ताव गरिएको छ।

नेपालका सरकारका तर्फबाट नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले अमेरिका र दक्षिण एशियाक्षेत्रको हवाइ उड्डयन क्षेत्रका उच्चअधिकारीहरु सहभागी कार्यक्रममा भारतसमक्ष त्यस्तो प्रस्ताव राखेका हुन्।

उनले नेपालको भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियस्तरका उडानहरु संचालन गर्दा छिमेकी मुलुक भारतलाई समेत फाइदा हुने धारणा राखेका थिए।

जुन २४ देखि २६ सम्म सम्पन्न भएको सातौं युएस इन्डिया एभिएसन समिटमा एक मुख्य बक्ताका रुपमा बोल्दै उनले नेपालका मात्र नभई भारतले निर्माण गरेका नयाँ विमानास्थलहरुमा उल्लेख्यमात्रामा हवाई उडानहरु नभएको तर्फ भारत र दक्षिण एशिया क्षेत्रमा उड्डयन प्रमुखहरुको ध्यानाकर्षण गराएका थिए।

उनले भनेका थिए-हाम्रा दुई नयाँ विमानास्थलहरुमा मात्रै पूर्णरुपमा संचालनमा नआएका होइनन् भारतले निर्माण गरेका नयाँ विमानास्थलहरुमा समेत उल्लेख्य मात्रामा हवाई उडानहरु भएका देखिँदैन।’

उनले सीमा क्षेत्र नजिकका शहरहरु जोड्ने उडान तथा क्षेत्रीय अन्तर्राष्ट्रिय उडान संजालको विस्तारको साझा उदेश्य राख्नुपर्ने प्रस्ताव पनि गरे।

Screenshot

उनले भने-सीमा क्षेत्र नजिकका शहरुलाई जोड्ने उडानहरु तथा क्षेत्रीय तथा अन्तर्राष्टिय उडान संजालको विस्तारमा समेत हामी एक साझा उदेश्यका साथ अघि बढ्नु पर्दछ।’

भारतीय अवरोधका कारण भैरहवाको गौतम बुद्ध अन्तर्राष्टिय विमानास्थल र पोखरा अन्तर्राष्टिय विमानास्थलमा अन्तर्राष्टिय उडान हुन सकेका छैनन्। यी दुबै विमानास्थलहरु चिनियाँ सहयोग र चिनिया ठेकेदार कम्पनीको संलग्नतामा बनेका हुन्।

यही वाहना बनाएर भारतले असहयोग गरिरहेको परिस्थितिमा महानिर्देशक अधिकारीले छिमेकका एयरपोर्टहरु उडानका माध्यमबाट जोड्ने उडान संजालको प्रस्ताव गरेका हुन्।

उनले यो कार्यमा अमेरिकालगायतका मुलुकहरुले पनि सृजनात्मक भूमिका खेलिदिने अपेक्षा गरेका थिए।

नेपाल, भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंकालगायत दक्षिण एशियाली देश तथा अमेरिकासमेतका उड्डयन प्रमुख र विज्ञहरु सम्मिलित सो कार्यक्रममा भारतीय आकाशमा हवाई जामको अवस्था आउन सक्नेतर्फ सचेत गराउँदै यस्तो अवस्थामा नेपालको आकाशलाई पूर्ण प्रयोग गर्न र पूर्व र पश्चिम एशियालाई नेपालको रुटमार्फत जोड्ने विषयलाई गम्भीररुपमा सोच्न भारतलाई आग्रह पनि गरे।

उनले भने-भारतीय आकाशमा हवाई जामको अवस्था श्रृजना हुनसक्ने अवस्थामा नेपालको आकाशलाई पूर्ण प्रयोग गरी पूर्वी एशिया र पश्चिमलाई जोड्ने हवाई रुटहरुको निर्माण र संचालनबाट नेपाल तथा भारत दुबैले अधिकतम फाइदा लिन सकिने विषयमा गम्भीर भएर सोच्न भारतीय पक्षका प्रतिनिधिहरुर्ला अनुरोध छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *