कथाः आमाको सन्दुस र लामपाते सुर्ती

खेमराज पोखरेल
१५ असार २०८१ ७:४३

आज मन एकतमासको भएको छ। घरको कौसीमा बसेर परपर हेरिरहेको छु। छिमेकी साइँल्दाइका बारीमा लहलह लामपाते सुर्ती हराम्य छन्। मलाई त्यो लामपाते देखेर एक खाले रिस उठेर आउँछ। म ती लामपातेलाई हेरिरहन सक्दिनँ। घरभित्र पस्छु।

०००००

आमाको कोठामा एउटा सन्दुस थियो काठको। त्यसमाथि ओछ्यान लगाइएको थियो। भोटे ताल्चा लागिरहन्थ्यो। आमाको सुद्दी छउन्जेल राखनधरन त्यही सन्दुसबाट हुन्थ्यो। झरझरे खोलाको बेँसीको खाँटी अग्राखबाट बनेको त्यो सन्दुसमा सायद बनाउँदा इनामेल लगाइएको थियो कि, नत्र त्यसपछि कहिल्यै रङ्ग लगाइएको थिएन।

तर त्यो धुँवाको सेकाइले कालो थियो। कोट्यायो भने साना साना काला पाप्राहरु निस्कन्थे। आमा भन्नुहुन्थ्यो यो सन्दुक उहाँलाई पनि सासूको उपहार हो रे। पहाडबाट बसाइँ सर्दा नै त्यो सन्दुस बडो कस्टले मधेस झारिएको थियो। त्यो कहिले बन्यो थाहा थिएन। तर भारी थियो।

हामीले कहिल्यै पनि त्यो सन्दुस खोलेका थिएनौँ। कामै थिएन त्यसको। आलमारी र दराज घरभरि थिए। सन्दुसले खाटको काम गरेको थियो। फेरि आमाको सुद्दी हराएपछि त झन् खोल्ने सम्भावना नै थिएन। खोल्ने कुरा गर्यो भने उहाँ जोड जोडले चिच्याउनु हुन्थ्योः

“त्यो असत्ती काले बैदारलाई पनि यही सन्दुस चाहिएको छ। मेरा मालिक कलकत्ताबाट आउनुहुन्छ। सप्पै पोल लाइदिन्छु। तिमी पातकीहरु, मेरो सम्पत्ति खान खोज्छौ ?, दिन्न। एक दिन्न, दुई दिन्न, तीन दिन्न”

काले बैदार कान्छा हजुर्बाको प्रचलित नाम रहेछ। र उहाँले त्यो जमानामा त्यही सन्दुकमाथि आँखा लाउनु भएको रहेछ। अहिले उहाँ बितेको पनि धेरै वर्ष भइसकेको थियो।

०००००

आमाको लासलाई दागबत्ती दिएँ। आगो ह्वाह्र्वारी बल्न थाल्यो। कपुरको गन्धमा लास पोलिएको गन्ध मिसिएर आर्यघाट धुँवाम्य भएको थियो। म यसो छेउ लागेँ। साथीभाइ इष्टमित्र मलाई सान्त्वना दिन मनजिकै थिए।

मलामीको पल्लो समुहमा बोलेको म टड्कारो सुन्दै थिएँ। मान्छेहरु भन्दै थिएः

“बुढियाको बिजोग थियो। बिचरीले दुःखै लुकाइन्”

“छोरा बुहारीले कम्ता हिफाजत गरेको त होइन नि। तर अब उनीहरु पनि फुकाफाल भए। कम्ता हो र? दस वर्षसम्म”

“बाबै, आफ्नो सुद्दी छउन्जेल कडा हुन् आमै। कहिल्यै कसैसँग डगिनन्। तर कालको अगाडि कसैको केही लाग्दैन। दैवको लीला। लेखान्त”

आमालाई भने आफूसँगै मनभित्र लुकाएर ल्याएको थिएँ। सबैकुरा बिर्सिएर थला परेपनि आमा पुराना कुरा बिर्सनु हुन्नथ्यो। आमा भन्नु हुन्थ्योः
“त्यो झरझरे खोलाको पानी कुलोमा ल्याएर बेँसीको खेत पटाउन जानु छ”

“काली भैँसी ब्याउने बेला भएको छ, त्यो पाखाको अम्लिसो साँच है। पीठो ढुटो सक्लाऊ ?”

जबकि त्यो खेत बेचेर मधेस झरेको १५ वर्ष भएको थियो। उहाँले नै बेच्नु भएको थियो। यस्तै थियो उहाँको अन्तिम १० वर्ष।

तर मलाई भने आफैँलाई लागिरहेको थियो। उफ, मान्छेको जीवन। हिजोसम्म त आमा हुनुहुन्थ्यो। घरभित्र बाहिर गर्नु हुन्थ्यो। भेट्न आउने मान्छेसँग बेतुकका कुरा गर्नुहुन्थ्यो। तर हुनुहुन्थ्यो। बेतुककै भएपनि कुरा गर्नु हुन्थ्यो। अहिले यो घर सुनसान भएको छ। अब आमालाई खुवाउनु पर्दैन। लुगा लगाइदिनु पर्दैन। आमा गुमाएर फुकाफाल भएका छौँ। फुकाफाल भएर टुहुरा भएका छौँ।

मान्छेको भित्र बाहिर गर्ने श्वास बाहिर गएको गयै भयो भने मान्छे सिद्धिने कस्तो परिपाटी हो कुन्नि। म आफैँ मसाने वैराग्यमा थिएँ। मसाने वैराग्य याने मसानघाटमा पुग्दा उफ मान्छेको जीवन भन्यो अनि अलि वरतिर आयो र हामीसँग बाँचेका सुसेधन्दाहरुले बेस्सरी गाँजछन् र अभिशप्त भुलिन्छौँ।

क्रियाकामका सेतो लुगा चलन थियो। संस्कार थियो। मान्नै पथ्र्यो। नमानेर क्रान्तिकारी हुइँने पनि थिएन। नक्कली क्रान्तिकारी हुनु भन्दा त यो संस्कार नै ठिक थियो। म सेता लुगामा थिएँ। आमा मेरो मनभित्र वा कतै सुरक्षित हुनुहुन्थ्यो। १३ औँ दिनमा लुगा फेर्नु पथ्र्यो। मैले कर्मकान्डी विधिअनुसार नै सबै कुरो फुकाएँ। छिर्केमिर्के लगाएँ। बाउ बित्दा वर्षीको थिएँ रे। थाहा पाइनँ। कस्तो लगाएँ होला ? कस्तो खाएँ होला ? तर अहिले मैले लगाएको छिर्केमिर्के लुगामा टिकाटिप्पणी सुरु भएको छः

“कस्तो त हौ?, एक्ले छोरो भएर पनि, तेह्रौँ दिनमै रङ्गिन लुगा लगाउनु पर्ने?”

मैले खानेकुरा फुकाएकोमा पनि मान्छेहरु असन्तुष्ट थिएः

“कस्तो छोरो होला, सके वर्ष दिन नभए पनि ४५ सम्म त बार्नु पर्ने। दसधारा दुध ख्वाएकी आमा पो त”

मैले मनमनै सोचेँ। गमेँ। त्यसो भन्ने समुहमा त्यस्ता आफन्त पनि थिए जो मलाई ‘त्यस्ती छुच्ची आमासँग न बस्’ भन्थे। आमालाई एकलै छोडेर सहर जान सल्लाह दिने पनि थिए। सासू बुहारीको झगडा लाउन लागि परेका मान्छे पनि थिए। सम्पत्ति केही हत्याउँला भन्ने आफन्त पनि थिए। र म फिस्स हासेँ। कस्तो हुन्छ हगि मान्छेको जात।

आमाकै कडा अनुशासनभित्र हुर्किनु बाध्यता थियो मेरो। बाउ भएको भए सायद अलि खुकुलो हुन्थ्यो कि। किनकि मेरा बाउले देश देखेका थिए। देश भोगेका थिए। उच्छवास हुँदो हो। सायद सोच्नु हुन्थ्यो होला।

यो छोरोलाई यस्तो बनाउँला। उस्तो बनाउँला। तर उहाँ थलिनु भएछ। मान्छे भन्थे। उहाँलाई कयान्सर निमित्त भएछ। सुर्ती खाने बानी काल भएर आएछ। सायद दैव आमालाई विधवा बनाउन चाहन्थ्यो। मलाई टुहुरो बनाउन चाहन्थ्यो।

मेरो जीवन आमा निर्मित थियो। राम्रो भए पनि आमा निर्मित थियो। नराम्रो भए पनि आमा निर्मित थियो। मेरो बिहे स्वाभाविकरुपले आमाकै निर्णय थियो। बुहारीलाई बेलाबेलामा टिप्पा खेलाउने पनि उहाँकै स्वभाव थियो। सायद आफू बुहारी हुँदाको पीडाको कुन्ठा थियो। तर मेरी श्रीमती रमा साँच्चीकै रमा थिइन्। रमाइरहने रमा।

जस्तै पीडामा पनि रमाउने। आफ्नो केही दोष नभए पनि गाली खान तयार हुने रमा। रमा मात्र मान्छेको उलामालामा लागेको भए हाम्रो जीवन के हुन्थ्यो कुन्नि ?
तर आमा चेत छँदै भन्नु हुन्थ्यो। कहिले रिसाएको बेला भन्नु हुन्थ्यो। कहिले खुसाएको बेला भन्नु हुन्थ्योः

“गर्छौ भने, मेरो जीवन छँदै गर। मैले सबैसँग निहुरिएर बसेकी भए, तेरा ठुलाबा, काकाले उहिल्यै बिल्लिबाठ पार्ने थिए। काले बैदारले पनि खाइदिन्थे। बाँचुन्जेल आमा बाउलाई दुःख दिने, अनि मरेपछि सेता कपडा लगाएर चिप्लित्त पारेको मलाई मन पर्दैन। पाल्छौ भने अहिले पाल। गर्छौ भने अहिले गर। खुवाउँछौ भने अहिले खुवाऊ। मरेपछि पिन्ड लडाउनुको केही काम छैन”

०००००

काजक्रिया सकिएको थियो। सबै पाहुनापासा, आफन्त विदा भएका थिए। छिमेकी आफ्नै सुसे धन्दामा होमिएका थिए। स्कुलको मास्टरी छ आफ्नो। स्कुलबाट घरमा आएँ। थाकेको थिएँ। रमाले दिएको कालो चिया खाँदै शिथिल भएर रमाको काखमा पल्टेको थिएँ।

उनका पातला औँलाहरुले मेरो झर्दै गरेको केशराशी खेलाउँदै थिए। म त झकाएँ छु। मलाई सुताउनु पर्यो भने रमाले यही तरिका अपनाउँछिन्। तन्द्रामै म रमालाई सम्झिरहेको छु। कस्ती समुद्र होलिन् यी रमा। कस्ता असल हुन्छन् यी स्वास्नीमान्छेहरु। जान्नेले ठिकै भनेका हुन्।

असल स्वास्नीका तीन रुप हुन्छन् रे। एकैपल्ट आमाको जस्तो माया गर्न सक्ने। श्रीमती भएर सन्तान जन्माउन कर्मशील हुन सक्ने। र सुख दुःखकी आत्मीय साथी बन्न सक्ने।  अहा, स्वास्नी मानिसहरु। कस्तो मिठास होला स्वास्नी मान्छेमा ? कस्तो सहनशील होला स्वास्नीमान्छे ? कस्तो कर्मशील होला स्वास्नीमान्छे ? कस्तो जिम्मेवार होला स्वास्नीमान्छे ?

धेरै दिनदेखि आमाको कोठा उस्तै थियो। भित्तामा हावडा पुल ब्याकग्राउन्डमा बाआमाको फोटो झुन्डिरहेको थियो। त्यो फोटो हाँसिरहेको थियो। बा कलकत्तामा रेलमा काम गर्दा लगाएको खाकी हाफप्यान्ट र सर्टमा आमासँग खिचेको त्यो फोटो दमदार थियो। बाका जुँघा उचालिएका थिए।

आमाले कलकत्ताको गर्मीमा पनि चौबन्दी चोलो र छिटको फरिया लाउनु भएको थियो। बाबाले खाकी सर्ट माथि कोठे गम्छा काँधमा झुन्ड्याउनु भएको थियो। लाग्दथ्यो बा खाँटी चौकिदार हुनुहुन्थ्यो।

लाम्पाते सुर्तीलाई काटेर चुनमा मल्दा मल्दा देब्रे हत्केला नै अररिएको थियो  भन्नुहुन्थ्यो आमाले। बाका बारेमा धेरै कुरा गर्नु हुन्थ्यो आमाले। तर मलाई भने अचम्म लाग्दथ्यो। अनौठो लाग्थ्यो। कल्पना त हो नि। आइहाल्थ्यो। र म सोच्थेँ बा बाँचेको भए ?

आमा बाको नक्कल गर्दै भन्नुहुन्थ्यो। बाले यसरी भन्नु हुन्थ्यो रे, ‘कौनै फिकर न ले कान्छी, चैने के रे, तुम्को मेमसाप बनाउँछु”

अनि आमा रुनु हुन्थ्यो र भन्नु हुन्थ्योः “त्यो लाम्पाते नखानु न भनेर भुखुन्ड गरेँ, माने पो। आधा बाटोमै छोड्नु रहेछ र पो त। माया थोरै गर्ने हो र ?, त्यो लामपाते नै तेरा बाको काल भएर आयो बाबु”

अनि म आमालाई र सँगसँगै नदेखेका बाउलाई सम्झिन्थेँ। भाव विह्वल हुन्थेँ।

०००००

म त्यसै झोक्राएको देखेर रमाले भनिन्ः

“आमाको कोठालाई व्यवस्थित गरौँन ?, छरपस्ट छ। धेरै दिन भइसक्यो। खोई वास्ता नै गर्नु हुन्न। जति झोक्य्राएर बसे पनि आमा फेरि आउनु हुन्न क्यारे”
“हुन्छ, जाऔँ। भोलि छुट्टी पनि छ” मैले सहमती दिएथेँ।

आमाको कोठा खाली गर्‍याैं। खाट बाहिर झिक्यौँ। सबै सकिएपछि रमाले भनिन्ः “यो सन्दुक पनि सफा गरौँ”

सन्दुकमा यत्रो भोटे ताल्चा लागेको थियो। तर साँचो थिएन। कहिले हरायो सायद आमालाई पनि थाहा थिएन होला। साँचो फोड्ने सम्भावना थिएन। बरु अन्तराप नै भत्काउन सिकन्दर मिस्त्रीलाई बोलाइयो। सन्दुसभित्रबाट साङ्लाहरु भुर्र उडे।

रमा र म मिलेर सन्दुकभित्रका सामानहरु निकाल्न थाल्यौँ। एउटा दारको सानो ठेकी, आमा कलकत्ता जाँदा बाबाले किनिदिनुभएको चाँदीको हँसुली पनि थियो। पहाडका बेचिसकेको जग्गाका कागजपत्रहरु थिए। एउटा पुरानो फाइल थियो।

त्यसभित्र जतनले उनीएका पानाहरु थिए। ती रहेछन् बाबाले आमालाई कलकत्ताबाट लेखेका चिट्ठी पत्रहरु। र त्यस्का चेपमा कतैकतै बाआमाका पुराना खुइलिइसकेका ब्ल्याक एन्ड ह्वाइट फोटाहरु। सन्दुसको एउटा कुनामा सुकेका लामपाते सुर्तीको मक्किएका पातहरु थिए।

मैले ती माउले खाइसकेका चिट्ठी पत्रहरु फुकाएर हेर्न थालेँ। पहिलो चिठी पढ्दा नै थाहा भयो त्यो मेरा बाबाले आमालाई कलकत्ताबाट लेख्नु भएको थियो। बाबाले आमालाई कलकत्तामा लगेर साउँअक्षर चिन्ने बनाउनु भएको थियो। नाउ, गाउँ लेख्न सक्ने, अलिअलि जोरिएमोरिएका पनि फुकाउन सक्ने हुनुहुन्थ्यो आमा। बेला बेलामा बाबाले चिट्ठी पठाउनु हुन्थ्यो भन्ने कुरा आमाले सुनाउनु हुन्थ्यो।
एउटा चिट्ठी यस्तो थियोः

“हावडा, कलकत्ता
सेप्टेम्बर ५, १९५७
प्यारी कान्छी,

म सन्चै छु। तहाँ आराम कुशल छ होला के रे। तम्ले पठाएको चिट्ठी पाएँ। बहुत फिकर गरेकीछस्। कौनै फिकर नले न हौ कान्छी। म यो मुग्लानमा मरिगए पनि यौटो छोरो त पाएकी छेस् के रे नि, त्यसले पाल्छ नि कान्छी। त्यसलाई म लाडसाबसँग भनेर बेलायती बनाउछु के रे नि। मैले पो दुःख पाएँ त।

अरे यार पढ्न जो पाइएन। तर कान्छी, कौनै फिकर नले। त्यो छोरोलाई लाडसापको जस्तो खर्र अङ्ग्रेज न बनाएता मार्दिनू कान्छी। धेरै सन्तानको पनि कौनै काम छैन के रे नि कान्छी। मेमसाबजस्ती गोरी एउटी छोरी पाइदेन हौ कान्छी। यसपालीको समरमा छे महिने छुट्टी मागेको छु।

दिन्छ होला। यसपल्ट चैने केरे छोरी है कान्छी। के गर्ने ? तैँ नमान्ने यता कलकत्तामा बस्न। के गर्नु देश भनेको देशै हो नि हुन ता। यता भा मेरा छोरा छोरी पनि लाडसाप हुन्थे। देसीजस्तै टाठाबाठा हुन्थे। त्यही झर्झरे खोलामा मर्छु भन्छ्यौ भने ता म के अर्नु चैने केरे।

त्यताका जान्ने सुन्ने यतै देशतिर झरेर बसेकै छन् के रे। तँ देश झर्न न मानेपछि कसको के लाग्छ ? मैले मात्रै सोचेर के पो होला र ? तर पनि कौनै धन्दा नमान कान्छी। यो कलकत्ताको गर्मीले खाएन भने राम्रो थातबासको व्यवस्था गर्छु के रे नि। पठाएको सम्पत्ति स्वाहा पारिदेलान्। अलि दह्रो भएर बस्नु के रे कान्छी। दुष्ट खोज्न टाढा जानु पर्दैन। छोरालाई चैँ हिफाजत गरे नि कान्छी।

अब पिन्सिन पाउन पनि १० वर्ष त हो नि। हुन ता हो कान्छी, तैँले भनेको पनि हो। यो कलकत्ताका गर्मीमा मर्नुभन्दा त्यही झरझरे खोलाकै चिसो पानी मिठो। आफ्नो भनेको आफ्नै हो के रे नि कान्छी। माया त जोडै लाइस् नि कान्छी। यो तेरो मायाले के सारो पार्यो पार्यो नि हौ कान्छी”
तम्रो खसम

यो चिट्ठी पढेपछि मैले अरु पढ्न सकिनँ। आमाको सन्दुकभित्रबाट साङ्लाहरु भुर्र उडि नै रहेका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *