शंकरप्रसाद रिजालका तीन कविता

शंकरप्रसाद रिजाल
१५ असार २०८१ ७:०६

प्रेम रस

प्रेम रसको घडा कहाँ बोक्न सकिन्छ र?
यसको सुवासको मोह कसले छोड्न सक्छ र?

श्रीष्टिदेखि जन्मेको यो प्रेमको भुषण
देबतापनि रमेका थिए मानी यो आभूषण

ब्रम्हा रम्थे प्रेमैमा आफ्नै छोरीसंग पनि
ठूला ऋषिपनि डुब्थे यही प्रेमको मुनि

शिवजीपनि रोइ हिँड्थे आफ्नै पत्नीको प्रेममा
रामै रोइपनि हिँड्थे आफ्नी प्रियाको खोजमा

रोए कृष्ण कति रोए! राधाको प्रेममा परी
सारा जन रोएकै छन् यो कलियुगमा पनि

प्रेमको सुरुनै गाह्रो यसलाई सम्हालन
यो फेरि त्याग्नै गाह्रो यसलाई छुटाउन

टाढाको प्रेम जो मिल्छ त्यो भ्रमपूर्ण छ
नजिक प्रेमको आँखा जताततै प्रीय छ

मिलन प्रेमको बिन्दु जसबाट प्रेमको सुरु
हुन्छ बिछोडको अन्त्य रुवाउने धुरु धुरु

प्रेमको मूलमा माया भक्ति यसको सुमिरन
यसको योग जो गर्दा बन्छ त्यही नारायण

नराख प्रेममा द्वेष गर्नु नीत्य भजन
यसको संगतमा पर्दा बन्छ मानिस सज्जन

शिवको प्रेम लौ हेर पार्वतीमाथि झल्किने
कृष्णको प्रेम लौ हेर राधालाई सुताउने

सबरी प्रेमको मोह राममाथि ओइरिने
मीरा कृष्णको प्रेम संसारै जिल्ल पारने

हीररांजापनि हेर कल्पीकल्पी रुवाउने
आजको विश्वमा हेर सागरै ठप्प पारने

डुबेर प्रेममा आज संसारै झलमल्ल छ
यसको बिछोडमा फेरि जीबनै अलमल्ल छ

ढाई अक्षरको प्रेम

ठूलो ढाई अक्षरको प्रेम मनमा किन आउँछ
प्रेमको शब्द त्यो मेरो मनमा किन आउँछ

लामो लामो सास फेरि हावा किन आउँछ
त्यो पनि प्रेम नगरीमा मस्त भई सुसाउँछ

देखिने प्रेमको राग कसले सक्छ हटाउन
ठूलो बोझको भारी कसले सक्छ बिसाउन

प्रेमको बोटमा फुल्ने त्यो फूल गयो कहाँ
त्यो फूल आगोमा पर्दा जल्छ यो मनमहाँ

जन्म मृत्यु जरा ब्याधि सबै प्रेममा परी
हिँडेका छन् सबै जाति यिनकै मोहमा फसी

उम्कने को छ त्यस्तो जो यसको जालमा परी
उम्केका छैनन् है कोही यसबाट पर सरी

राजा प्रेममा फस्छन् गरीबपनि त्यसैगरी
बिद्वान सन्त नै फस्छन् यसैमा यसैगरी

प्रेमको ओमकारमा झुक्छन् सारा यस्तै तमाम
यसको अनुपस्थितिमा हुन्छ सारा बेलगाम

तसर्थ प्रेमको दियो बालौं सधै्र मनमहा
त्यसैको किरणले ज्ञानी जन्मिन्छ प्रभातमा

काखको मोह

काखमा बसी केही हुन्न मोह माया भए पनि
भक्तिमा भाब झल्किन्न कत्ति मोह गरेपनि

देह मानिसको जीवन त्यो रम्छ जहिले पनि
मोह मानिसको हट्छ त्यो बृद्ध बनी बनी

एस आरामको काख छुट्छ बिस्तार र पनि
काख त्यो आखिर छुट्छ कस्तै मोहमा परेपनि

खुसी बर्सिन्छ बालकको आमाको काखमा बसी
यौवनको रुपमा फेरि पत्नीको मोहमा फसी

शिक्षामा गुरुको काख, अर्ति बुद्धि मिलोस् भनि
अड्डा मानिसको काख बन्छ त्यो नसोचिए पनि

फेरि काख दौलतको लोभको त्यो मोहमा फसी
सारा मानिस सल्किन्छन् त्यो खरानी बनी पछि

रहेन यसको भाव भक्ति हुन्न यसै गरी
सबैको काख बेकाम घट्दै जान्छ कसै गरी

बृद्ध उमेरमा मानिसको काख हुन्न र फेरि
रोगी मानिसले काख पाउन्नन् कसैगरी

वृद्धको काख हो आफ्नै काख खोजी हिँडेपनि
भक्तिको काख हो उनको आफ्नै काख रहेपनि

छैन कोही यहाँ काख नीत्य साथि बनाउने
तृष्णा नै मोह हो साथि यहाँ सबै रमाउने

काख मानिसको जीबन जीबनै काखहो सबै
दुबैको काखमा मानिस नित्य पाउँछ जो सबै

आखिर काखले काखीमा च्यापी उड्छ आफ्नो उडानमा
सारा छोडाइ लगिहाल्छ पुरयाउँछ कैबल्य धाममा

काख त्यो कृष्णको काख बनी नित्य अजम्बरी
खोज त्यो कृष्णको काख गोलोकमा कसैगरी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *