‘कल्की २८९८ एडी’ ले फर्कायो प्रभासको स्टारडम, पहिलो दिनमै १८० करोड कमाइ

डिसी नेपाल
१४ असार २०८१ १२:०६

काठमाडौं । यो वर्षकै सबैभन्दा ठूलो भारतीय फिल्म मानिएको ‘कल्की २८९८’ ले पहिलो दिनमै हलमा धमाका मचाएको छ । प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण, कमल हसन जस्ता स्टारलाई लिएर ६०० देखि ६५० करोडको बजेटमा बनेको ‘कल्कि २८९८ एडी’ बिहीबार सिनेमाघरमा रिलिज भएको छ ।

नियमित कामको दिनमा प्रदर्शनमा आएको यो चलचित्रका लागि हलमा पुगेको भीड देख्दा राष्ट्रिय बिदा हो जस्तो लाग्यो । हलमा दर्शकलाई तानेको यो चलचित्रले पहिलो दिनमै कीर्तिमानी कमाई गरेको छ । यो फिल्मको ओपनिङले प्रभासको स्टारडमको उचाइ फेरि बढाएको छ ।

फिल्मले उत्तरदेखि दक्षिणसम्म ठूलो दर्शक पाएको छ । पहिलो दिनमै अग्रिम बुकिङबाट झण्डै ५५ करोड रुपैयाँ कमाएको ‘कल्कि २८९८ एडी’ ले राम्रो प्रतिक्रिया पाएको छ भने सर्वसाधारणको बोली पनि सकारात्मक रहेको छ । फिल्म रिलिज भएको बिहानैदेखि नै यसको फाइदा उठेको देखिएको छ । अब ट्रेड रिपोर्टको प्रारम्भिक अनुमान अनुसार प्रभासको फिल्मले पहिलो दिन विश्वभरबाट १८० करोड कमाएको छ । फिल्मले भारतमा मात्र ९६ देखि १०० करोड कलेक्सन गरेको छ ।

यो २०२४ मा कुनै पनि भारतीय फिल्मको सबैभन्दा ठूलो ओपनिङ हो। र ‘कल्कि २८९८ एडी’ को यो कलेक्सन यस वर्षको मात्रै नभई भारतीय चलचित्रको अल टाइम रेकर्डमा पनि दर्ता हुने भएको छ । भारतमा हालसम्म ३ चलचित्रले पहिलो दिन १०० करोडभन्दा बढी कलेक्शन गरेका छन् । यी फिल्महरू हुन् आरआरआर (१३३ करोड, बाहुबली २ (१२१ करोड) र केजीएफ १ (११६) करोड ।

सन् २०२४ मा हिन्दीमा सबैभन्दा ठूलो ओपनिङको रेकर्ड ऋतिक रोशनको ‘फाइटर’को नाममा थियो। जनवरीमा रिलिज भएको यो फिल्मले पहिलो दिन २४ करोड ६० लाख कमाएको थियो । ‘कल्की २८९८ एडी’ को हिन्दी संस्करणले पहिलो दिन करिब २५ करोड रुपैयाँ कलेक्सन गरेको ट्रेड रिपोर्टले देखाएको छ ।

प्रभासको फ्यानबेस दक्षिणमा बलियो छ तर उत्तर भारतमा पनि उनको फलोइङ बलियो छ। ‘कल्की २८९८ एडी’ ले बक्स अफिसमा प्रभासको स्टारडमलाई ‘बाहुबली २’ पछिको स्तरमा पुर्‍याउन तयार छ। ‘राधे श्याम’ र ‘आदिपुरुष’ जस्ता फ्लप फिल्मपछि प्रभास बक्स अफिसमा कमजोर देखिन थालेका थिए । तर गत वर्षको ‘सालार’ र अहिले ‘कल्की २८९८’ मार्फत प्रभासले आफू अझै पनि भारतीय बक्स अफिसको सबैभन्दा ठूलो स्टार भएको देखाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *