पहिचानमा आधारित इतिहासलाई अझ उजागर गर्ने माध्यम संगीतमा छ: उपप्रधानमन्त्री श्रेष्ठ

डिसी नेपाल
१४ असार २०८१ २२:०४

पाटन। उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानमा आधारित इतिहासलाई अझ उजागर गर्ने माध्यम संगीत भएको बताएका छन्।

ज्येष्ठ शुल्क पूर्णिमाको दिनलाई राष्ट्रिय संगीत दिवस घोषणा गर्ने प्रस्तावसम्बन्धी ललितपुर महानगरपालिका र ललितपुर संस्कृति संवर्द्धन केन्द्रले यहाँ आयोजना गरेको परामर्श बैठकमा उनले सगीतमा इतिहास र चेतना हुन्छ भने। ‘नेपाललाई विश्वमाझ चिनाउन पनि संगीत दिवस घोषणा गर्ने कार्य महत्वपूर्ण छ, सङ्गीतको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न सकिन्छ’, उपप्रधानमन्त्री श्रेष्ठले भने।

उनले राष्ट्रिय संगीत दिवस घोषणा गर्ने कार्य ललितपुरको मात्रै सरोकारको विषय नभएको भन्दै सबैले प्राथमिकतामा राखेर काम गर्नुपर्ने धारण राखे।

त्यस अवसरमा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले राष्ट्रिय संगीत दिवस घोषणा गर्ने यो प्रस्थान विन्दु भएको उल्लेख गरे। त्यसैगरी ललितपुरका मूर्त तथा अमूर्त सम्पदा संरक्षणमा महानगरमा धेरै काम गरेको उनको भनाइ थियो। उनले रातो मच्छिन्द्रनाथको जात्रालाई विश्व सम्पदाका रुपमा दर्ज गर्ने काम भइरहेको जानकारी दिए।

‘युनेस्कोमा अहिलेसम्म नेपालको कुनै पनि अमूर्त संस्कृति दर्ज भएको छैन, हामी यहाँको रातो मच्छिन्द्रनाथको जात्रालाई दर्ता गर्ने गरी काम गरिरहेका छौँ’, उनले भने।

पूर्वमन्त्री तथा पूर्वनगरप्रमुख बुद्धिराज बज्राचार्यले आफू पनि संगीतमा लागेको उल्लेख गर्दै गीतसंगीतले पनि राजनीतिक परिवर्तनमा ठूलो भूमिका निर्वाह गर्ने बताए। ‘म विसं २००४ सालदेखि गीतसङ्गीतमा लागेँ, ज्ञानमाला भजनमा मेरो लगाव छ, मानवीय तथा सम्पूर्ण प्राणीहरुको जीवनमा यसको ठूलो महत्व छ। सरकारीस्तरबाट पनि संगीतको प्रवर्द्धनका लागि राष्ट्रिय दिवस घोषणा गरेर काम गर्ने व्यवस्था मिलाउनुपर्छ’, उनले भने।

संस्कृतिविद् हरिराम जोशीले सम्पूर्ण मानव जीवनको सभ्यताको प्रारुप भएदेखि नै संगीतको महत्व स्थापित भएको बताए। सामवेद संगीतको वेद भएको उनको भनाइ थियो। लिच्छवीकालमा समेत संगीतलाई बढवा दिन गुठी स्थापना भएको उनले जानकारी दिए।

संस्कृति संवर्द्धन केन्द्रका अध्यक्ष वदनलाल न्याछ्योंले नेपाली संगीतको विकासक्रमलाई उजागर गर्दै ज्येष्ठ शुल्क पूर्णिमालाई राष्ट्रिय संगीत दिवस घोषणा गरेर संगीतको माध्यमबाट देशको बहुआयामिक पक्षलाई उजागर गर्नसके महत्वपूर्ण काम हुनेमा विश्वास व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *