लागुदार्थ सेवन गर्ने सवारी चालक कारबाहीमा

डिसी नेपाल
१४ असार २०८१ २३:२७

काठमाडौं। काठमाडौं उपत्यकामा प्रहरीले आज लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाउने चार र यान्त्रिक अवस्था ठीक नराखी सवारीसाधन चलाउने ३१ गरी ३५ जना चालकलाई कारबाही गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बा१ज ८४५७ नंको माइक्रो चालक ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–५ का २२ वर्षीय कृष्ण कार्की, बा५ख ९५०८ नंका बस चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५ का ३८ वर्षीय भोपेन्द्र भण्डारी, बा५ख ४३०० नंका बस चालक चितवनको राप्ती नगरपालिका–७ का ३१ वर्षीय रमेश विक र बा६ख ३००६ नंका बस चालक धादिङको नीलकण्ठ नगरपालिका–१२ का ३३ वर्षीय टीकाराम श्रेष्ठलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

आज नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाब ड्रग किटमा राखेर परीक्षण गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए।

प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रुपमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारीसाधनका चालकहरूले नसालु पदार्थ सेवन गरे÷नगरेको जाँच गर्दै आएको छ । सोही क्रममा आज उनीहरु पक्राउ परेका श्रेष्ठले बताए।

काठमाडौंको सीतापाइलामा आजै गरिएको यान्त्रिक चेकिङका क्रममा अवस्था ठीक नभएका सवारी साधन चलाउने ३१ ओटा सवारीसाधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। ५३ ओटा सवारी साधन जाँच गर्दा ह्यान्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएकालगायत अवस्था ठीक नभएका ३१ सवारी चालकलाई कारबाही गरिएको उनले बताए।

सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनमा सहजीकरण गर्न ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लापसे, मापसे, यान्त्रिकलगायत विशेष जाँच गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *