कविराजको व्यवसाय अरूका लागि पाठशाला

डिसी नेपाल
१५ असार २०८१ २१:१३

गण्डकी। मध्य असारको टन्टलापुर घाममा महिला उद्यमी संघ नेपाल, तनहुँको शुक्लागण्डकी नगरपालिका नगर इकाइको टोली शुक्रबार शुक्लागण्डकी नगरपालिका–२ स्थित एक्ले खेतमा ॐ कृषि फार्मले लगाएको कुरिलो तथा सिप्लिकान खेती अवलोकनका लागि पुग्यो।

युवा व्यवसायी कविराज खनालले एक्ले फाँटमा लगाएको कुरिलो र सिप्लिकानखेतीबारे जान्न र बुझ्न पुगेको इकाइ अध्यक्ष तुलसी शाह नेतृत्वको टोलीलाई खनालले यस खेतीका फाइदा, लगाउने तरिकाका साथै विद्यमान बजारबारे जानकारी गराए।

स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सन्देश फैलाउने उद्देश्य राखेएका खनालको व्यावसायिक कृषि यतिखेर उद्यमशीलताको विकासमा लागेका संघसंस्थादेखि व्यक्तिविशेषका लागि पनि पाठशाला बन्दै गएको छ।

फार्मअन्तर्गत खनालले शुक्लागण्डकी नगरपालिका–१, २ का साथै पोखरानगरपालिका–३२ मा प्रांगारिक फलफूल, कागती, तरकारी, नर्सरी उत्पादनसँगै बिक्री केन्द्र पनि सञ्चालन गरिरहेका छन्। आफ्नो फार्ममा कुरिलो, सिप्लिकान, कागती माछा, बङ्गुरका साथै विभिन्न प्रजातिका फलफूल तरकारी समेत उपलब्ध हुने उनले जानकारी दिए। ‘फार्ममा विभिन्न उत्पादन त छ नै पछिल्लो समय मैले लगाएको कुरिलो खेतीका साथै सिप्लिकानखेती हेर्नका लागि धेरै ठाउँबाट युवा उद्यमीहरू आउने गरेका छन्’, उनले भने, ‘फार्ममा आउने जो कोहीलाई कुरिलो, सिप्लिकानलगायत खेतीका प्रविधि, उपयोगिता र बजारीकरणलगायत विषयमा जानकारी गराउँदै आएको छु।’

व्यावसायिक कृषिसँगै पत्रकारिता र शिक्षण पेसालाई सँगसँगै अघि बढाएका खनालका अनुुभव यतिखेर अरूका लागि अनुकरणीय बनेका छन्। रेडियो नेपालका साथै आदर्श समाज राष्ट्रिय दैनिकका संवाददाताका रुपमा रहेका खनाल लेखनाथ पत्रकार मञ्चको अध्यक्षसमेत हुन्। उनले ब्रह्मरुपा माध्यमिक विद्यालय राजाको चौतारामा कम्प्युटर विज्ञान विषयमा विगत २० वर्षदेखि अध्यापन गरिरहेका छन्।

चार वर्षयता शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतका साथै तार्कुडाँडामा कुरिलो, सिप्लिकानखेती गरिरहेका खनालको फार्ममा नौ हजार बेर्ना कुुरिलो लगाइएकामा आठ हजार बेर्नाबाट उत्पादन सुरु भइसकेको छ। कुरिलोखेतीबाट आफूले वार्षिक रु चार लाख आम्दानी गरिरहेको उनले अनुभव सुनाए। सुरुमा एक हजारको संख्यामा सिप्लिकान लगाए पनि डढेलोजन्य प्रकोपका कारण हाल आठ सयको संख्यामा बोटहरू रहेको उनले जानकारी दिए। कुरिलो र सिप्लिकान दुवैको बजारका लागि समस्या नरहेको बताउँदै उनले कुरिलो प्रतिकिलोे रु एक हजारसम्म बिक्री भइरहेको बताए।

नेपालका अधिकांश भूूभागमा लगाउन सकिने कुरिलो बहुपोषणयुक्त औषधीय गुण भएको बहुवर्षीय वनस्पति हो। स्वास्थ्यका लागि धेरै उपयोगी कुरिलोको टुसालाई तरकारीका रूपमा बढी प्रयोग गरिन्छ। कुरिलोमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियमसँगै अन्य विभिन्न विभिन्न पौष्टिक तत्व पाइने र बच्चादेखि वृद्धसम्म सबैका लागि उपयोगी रहेको खनालले बताए।

सिप्लिकान विशेषतः नेपालको पहाडी भागमा पाइने अर्को औषधीजन्य वनस्पति हो । खनालका अनुसार स्वादमा केही तीतो हुने यसलाई तरकारी या अचारका रुपमा विभिन्न परिकार बनाएर खाने प्रचलन छ। उच्च रक्तचापको समस्याका साथै मिर्गौला एवम् ज्वरोजन्य समस्यामा यसको उपयोगिता रहने उनले बताए।

सिप्लिकानको गुन्द्रुक धेरै महत्वपूर्ण मानिन्छ। यसको गुन्द्रुक प्रतिकिलो रु चारदेखि पाँच हजारसम्ममा बिक्री गर्न सकिने उनले बताए। उत्पादन गर्न सकेमा बजारको कुनै समस्या नरहेको र यसतर्फ आम सर्वसाधारणलाई आकर्षित गर्न सकेमा त्यसबाट रोजगारी अभिवृद्धि गर्न सकिने धेरै सम्भावना रहेको पनि उनको भनाइ छ। ‘धेरै नेपाली युवाहरू रोजगारीको खोजीमा विदेशिएका अवस्थामा सम्भावनायुक्त कुरिलो, सिप्लिकानजस्ता खेतीतर्फ अभिप्रेरित गरी उनीहरूलाई यहीँ नै बस्न सक्ने वातावारण बनाउन सकिन्छ’, खनालले भने, ‘अब राज्यले कृषिमा अनुदानभन्दा पनि उनीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नु अपरिहार्य छ।’

वास्तविक किसानको पहिचान गर्दै प्रोत्साहित गर्ने वातावारण तयार गर्न सकेमा कृषितर्फ आकर्षण बढ्ने र त्यसले युुवा पलायन रोक्न सकिने उनको तर्क छ । बहुपोषण र औषधीयुक्त कुरिलो तथा सिप्लिकानखेती घरघरमा गरिएमा त्यसले सर्वसाधारणको स्वास्थ्य रक्षामा पनि योगदान पुुग्ने खनालको कथन छ। ‘बहुपोषण र औषधीका कारण प्रत्येक घरमा १०÷१० वटा कुरिलो तथा सिप्लिकानका बोटहरू लगाउनुपर्छ भन्ने मेरो सोच छ, यसका लागि मैले प्राप्त गरेका अनुभव तथा ज्ञानसीप समुदायमा बाँड्न चाहन्छु’, उनले भने।

खनालले फार्ममार्फत कुरिलो तथा सिप्लिकानका बेर्नाका साथै निबुवा, कागती आदिका बिरुवा तयार गरी बेच्दै आएका छन्। उनको फार्ममार्फत माछा तथा बङ्गुरपालन पनि भइरहेका छन्। पछिल्लो समय मत्स्य अनुसन्धान केन्द्र, बेगनासको अनुसन्धानबाट प्रमाणित भई पोखरा र आसपासमा धेरै सम्भावना देखिएको सिपीमा मोती खेती गर्नेतर्फ पनि आफ्नो सोच रहेको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *