भानु जयन्तीमा खुला कविता र रामायणवाचन प्रतियोगिता हुने

डिसी नेपाल
१५ असार २०८१ २३:००

दमौली। राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीका अवसरमा जन्मभूमि तनहुँको भानुमा खुला कविता, विद्यालयस्तरीय कविता र रामायण वाचन प्रतियोगिता हुने भएको छ।

आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले भानु जयन्तीका अवसरमा असार २८ गते भानु नगरपालिका–४ चुँदीरम्घामा खुला कविता र रामायणवाचन प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा सहभागी हुन चाहनेले असार २६ गतेभित्र कार्यालय वा इमेलमा कविता पठाउनुपर्ने विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए।

खुला कविता प्रतियोगितामा प्रथम हुनेलाई नगद रु १० हजार, द्वितीय हुनेलाई रु सात हजार, तृतीय हुनेलाई रु पाँच हजार र सान्त्वना हुने दुई जनालाई जनही रु एक हजार पाँच सय प्रदान गरिने रानाभाटले जानकारी दिए।

विद्यालयस्तरीय कविता प्रतियोगितामा प्रथम हुनेलाई रु पाँच हजार, द्वितीय हुनेलाई रु तीन हजार, तृतीय हुनेलाई रु एक हजार र सान्त्वना हुने दुई जनालाई जनही रु पाँच सय प्रदान गरिनेछ।रामायण वाचनमा प्रथम हुनेलाई रु पाँच हजार, द्वितीय हुनेलाई रु तीन हजार, तृतीय हुनेलाई रु एक हजार र सान्त्वना हुने दुई जनालाई जनही रु पाँच सय प्रदान गरिनेछ।

भानु जयन्तीका अवसरमा असार २७ गते स्थानीय मठ मन्दिरमा पूजाअर्चना, यही असार २८ गते खुल्ला कविता, विद्यालय स्तरीय कविता र रामायण वाचन प्रतियोगिता हुनेछ। असार २९ गते बिहान ७ बजे बाजागाजासहित समितिको कार्यालयबाट भानु प्रतिमास्थल रम्घासम्म प्रभातफेरी, भानु प्रतिमामा पूजाअर्चना, ११ बजेदेखि चुँदीरम्घामा विभिन्न झाँकी प्रदर्शन, कविगोष्ठी, साहित्यिक कार्यक्रम, सांस्कृतिक कार्यक्रम हुनेछ।

भानु नगरपालिका–४ चुँदीरम्घामा विसं १८७१ असार २९ गते जन्मिनुभएका आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो। नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन्।

मोतिराम भट्टले उनलाई पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए। भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षालगायत कृति लेखेका छन् भने उनका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यिमा चिनिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *