‘संसद्लाई सत्ताको जोडघटाउ गर्ने स्थल नबनाऔं’

डिसी नेपाल
१६ असार २०८१ ७:०४

काठमाडौं। संसद्लाई सत्ताको जोडघटाउभन्दा माथि राखेर जनताका आवाज बुलन्द गर्ने र समृद्ध नेपाल निर्माणका लागि आवश्यक कानुन निर्माण गर्ने थलोका रूपमा विकास गर्नुपर्नेमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जोड दिएका छन्।

संसद् दिवसका अवसरमा आज जारी गरेकाे शुभकामना सन्देशमा अध्यक्ष दाहालले जनताका प्रतिनिधिहरूको सर्वोच्च थलो संसद्मा विविध विचार, दर्शन र राजनीतिक दलहरूको प्रतिनिधित्व रहने उल्लेख गर्दै हाल नेपालमा विभिन्न समयमा भएका सशक्त र सशस्त्र आन्दोलनका बलमा हामी गणतन्त्रात्मक संघीय शासन प्रणालीको प्रक्रियामा रहेका बताएका छन्।

सन्देशमा उनले संसद्को गरिमालाई उच्च बनाउन र विधिको शासनप्रति इमान्दार रहन हामी सबैले संसद् दिवसका अवसरमा सामूहिक प्रतिबद्धता व्यक्त गर्नुपर्नेमा जोड दिएका छन्। अध्यक्ष दाहालले जनतालाई वास्तविक लोकतन्त्रको अनुभूति गराउन र परिवर्तनको आभास दिलाउनसके मात्रै संसद् दिवस मनाउनुको सार्थकता हुने बताएका छन्।

संसद् दिवसका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै सन्देशमा उनले लोकतन्त्र प्राप्तिका लागि भएका विभिन्न ऐतिहासिक जनसंघर्ष, जनयुद्ध र जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गरेका महान् सहिदहरूप्रर्ति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

साथै संघर्षका क्रममा बेपत्ता भएका तथा घाइते भई अपांगता जीवन बिताइरहेका सम्पूर्ण योद्धाहरूप्रति उनले सम्मान व्यक्त गरेका छन् ।

नेपालमा संसदीय अभ्यास सुरु भएको यस दिनले संसदीय सर्वोच्चता, विधिको शासन र लोकतन्त्रप्रति अझ इमान्दार, प्रतिबद्ध र जिम्मेवार बन्न जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज र पत्रकारलगायत सबैलाई प्रेरणा दिने विश्वास अध्यक्ष दाहालले सन्देशमा व्यक्त गरेका छन्।

विसं २०१६ असार १६ गते नेपालको पहिलो जननिर्वाचित संसद्को पहिलो बैठक बसेको थियो। सोही दिनको स्मरण गर्दै हरेक वर्ष आजकै दिन संसद् दिवस मनाउने गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *