कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्न ओलीलाई देउवाको प्रस्ताव

मदन कोइराला
१६ असार २०८१ ११:१६

काठमाडौं। सत्ता समीकरण फेरिएर देशका दुई ठूला दलको सहकार्यमा नयाँ सरकार गठन गर्ने तयारी गरिएको छ। यसका लागि दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले परामर्श गरिरहेका छन्।

शनिबार बेलुका श्रीमतीलाई समेत साथमा लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओलीनिवास बालकोट पुगेका थिए। सोही भेटमा देउवाले ओलीलाई कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्न प्रस्ताव गरेको घटनाक्रमबारे जानकार एक एमाले सांसदले डिसी नेपाललाई बताए।

‘कांग्रेस सभापति देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सरकारको नेतृत्व गर्नेगरी दुई दल मिलेर जान प्रस्ताव गरेका छन्’  ती सांसदले भने,  ‘यो विषयमा छलफल हुँदैछ।’

देउवाको प्रस्ताव प्रारम्भिक भएकोले सत्ता साझेदारीमा शक्तिको बाँडफाँड कसरी गर्ने भन्ने विषयमा छिनोफानो हुन बाँकी रहेको ती सांसदले बताए।

कांग्रेस सभापति शेरबहादुर देउवा निकटस्थ स्रोतका अनुसार देउवा र ओलीबीचको यो भेटवार्ता करिब ३ घण्टासम्म चलेको थियो। भेटमा सानो दललाई सरकारको नेतृत्व दिएर पालैपालो बोकिरहने अवस्थाको विकल्प दुई दलबीचको सहकार्य बन्न सक्ने विषयमा छलफल भएको बताइएको छ। यद्यपि देउवाको प्रस्तावबारे ओलीले जवाफ दिइसकेका छैनन् ।

एमालेले प्रचण्डलाई आफूतिर तानेर नयाँ गठबन्धन बनाएपछि सत्ताबाट बाहिरिएको कांग्रेस जसरी पनि यो गठबन्धन भत्काउने प्रयासमा छ। गठबन्धन भत्काएर आफू पनि सत्तामा पुग्नका लागि उसले यसअघि प्रचण्ड र अन्य साना दलहरुलाई उपयोग गरेको हो तर धेरै दलको गठबन्धन टिकाउन समस्या भएको पृष्ठभूमिमा उसले एक्लो दल एमालेलाई साथमा लिने रणनीति बनाएको बताइएको छ।

स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले यो प्रस्ताववारे कुनै जवाफ दिइसकेका छैनन्। उनले प्रस्ताव स्वीकार पनि गरेका छैनन् र अस्वीकार पनि गरेका छैनन्।

सरकारको नेतृत्व गर्दा साझेदार दल कांग्रेसबाट आउन सक्ने दबाब र शक्ति बाँडफाँटमा आफ्नो भागमा पर्ने मन्त्रालयको विषयमा परामर्श गर्नको लागि उनले थप समय मागेको बताइएको छ।

यसैबीच देउवा ओली भेटवार्तापछि प्रधानमन्त्री सशंकित बनेका छन्। देउवाले ओलीलाई प्रधानमन्त्री पद अफर गरेको खबर बालुवाटार पुगेपछि तर्सिएका प्रधानमन्त्री प्रचण्डले आइतबार बिहानै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेका छन्। फोनमा उनीहरुबीच के कुरा भयो भन्ने स्पष्ट छैन । तर, यो फोन वार्तालाई देउवाको प्रस्तावले ल्याएको तरंगको रुपमा हेरिएको छ।

पछिल्लो समय कांग्रेस र एमालेबीच सहकार्य हुन नसक्दा दुवै दलले आफू गठबन्धनको ठूलो दल भएर पनि सरकारको नेतृत्व गर्न पाएका छैनन्। निर्वाचनपछि सरकार गठन गर्ने बेला एमालेले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन दिएर प्रधानमन्त्री बनाएको थियो।

तर, त्यो गठबन्धन दुई महिना मात्रै टिक्यो। त्यसपछि कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्रीकै रुपमा स्वीकार गरेर आफूतिर तान्दै नयाँ गठबन्धन बनायो। पछि एमालेले फेरि प्रचण्डलाई आफूतिर तान्यो र उनलाई नै प्रधानमन्त्री बनाउनेगरी नयाँ गठबन्धन बनायो।

तीनपटक गठबन्धन फेरिए पनि प्रधानमन्त्रीमा प्रचण्ड नै छन्। उनलाई साथ दिएका दुवै दलहरु नेपाली कांग्रेस र नेकपा एमाले दुवै माओवादीको तुलनामा दोब्बरभन्दा धेरै ठूला छन् तर धेरै दलको गठबन्धन हुँदा उनीहरुले सरकारको नेतृत्व गर्न पाएका छैनन्।

एमालेले प्रचण्डलाई आफूतिर तानेर नयाँ गठबन्धन बनाएपछि सत्ताबाट बाहिरिएको कांग्रेस जसरी पनि यो गठबन्धन भत्काउने प्रयासमा छ। गठबन्धन भत्काएर आफू पनि सत्तामा पुग्नका लागि उसले यसअघि प्रचण्ड र अन्य साना दलहरुलाई उपयोग गरेको हो तर धेरै दलको गठबन्धन टिकाउन समस्या भएको पृष्ठभूमिमा उसले एक्लो दल एमालेलाई साथमा लिने रणनीति बनाएको बताइएको छ।

यसअघि पनि ३२ सिटका प्रचण्डलाई प्रधानमन्त्री मानेर समर्थन दिएको कांग्रेस अहिले झण्डै आफ्नो दलजत्तिकै ठूलो दल एमालेलाई सरकारको नेतृत्व दिँदा पनि फरक नपर्ने मनसायमा पुगेको स्रोतको दावी छ। जसरी पनि सत्तामा जाने प्रयासमा ओलीलाईै सरकारको नेतृत्व दिने विकल्प आफ्नो लागि सबैभन्दा राम्रो हुन सक्ने बुझेर कांग्रेसले यो प्रस्ताव गरेको बताइएको छ।

कांग्रेस सभापति देउवा ओलीलाई भेट्न बालकोट जाँदा उनकी पत्नी आरजु पनि साथमा हुनुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ। आरजुको विगत हेर्दा उनी फर्स्ट लेडीको रुपमा शक्तिमा रहँदा सबैभन्दा धेरै पावर एक्सरसाइज गर्ने प्रधानमन्त्री पत्नीको रुपमा चिनिन्छिन्। र, अहिले ओलीलाई प्रधानमन्त्रीको पद अफर गर्ने विषयमा पनि आरजुको चाहना हावी भएको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *