आरजुलाई पक्राउ गर्ने रविको तयारी, गृहमन्त्री हटाउन सरकारै ढलाउने देउवाको दाउ!

डिसी नेपाल
१७ असार २०८१ ११:५३

काठमाडौं। शनिबार बेलुकी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फकाउन ओलीनिवास बालकोट पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओलीलाई कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्न प्रस्ताव गरे।

सत्ताबाट बाहिर रहनुपरेको अवस्थामा पहिलेदेखि नै सत्तारुढ गठबन्धन ढलाउन प्रयासरत कांग्रेसले त्यही प्रयासको निरन्तरताको रुपमा ओलीलाई प्रस्ताव गरेको हुन सक्ने अनुमान गरिएको थियो। तर, वास्तवमा देउवाको प्रस्तावको मुख्य उद्देश्य पार्टीलाई सत्तामा लैजानु भन्दा पनि आफ्नी श्रीमतीलाई पक्राउ पर्नबाट जोगाउनु रहेको स्रोतले बताएको छ।

देउवाले ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्नुको पछाडि देउवाको चासो अबको प्रधानमन्त्री को बन्छ भन्ने विषयमा भन्दा पनि बहालवाला गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउनु रहेको स्रोतले दावी गरेको छ। स्मरणीय छ, कांग्रेस र एमाले मिल्ने हो भने सरकार बनाउन कुनै तेस्रो दलको आवश्यकता पर्दैन।

कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकी पात्र हुन्। नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको पर्दाफास भएपछि सो कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिहरुले प्रहरीसँगको बयानमा पटक पटक आरजुको नाम लिइसकेका छन्।

पक्राउ परेकाहरुले पोलेका आधारमा प्रहरीले थप प्रमाण संकलन गरेर धेरै हाइप्रोफाइल व्यक्तिहरुलाई पक्राउ गरिसकेको छ। यो सूचीमा एमाले, कांग्रेसलगायत ठूला दलका मन्त्री भइसकेका नेताहरु पनि परेका छन्। तर, आरोपितहरुले पटक पटक नाम लिँदा पनि पक्राउ नपरेका दुई हाइप्रोफाइल पात्रहरु देउवा पत्नी आरजु र पूर्व गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जु हुन्।

गृहमन्त्री रवि लामिछाने शरणार्थी प्रकरणमा आरजु राणालाई पनि पक्राउ गर्ने तयारी गरेकाे स्राेतकाे दाबी छ। यद्यपि उनलाई अहिले कर्मचारीतन्त्रले नै असहयोग गरिरहेको स्रोतको दाबी छ।

मन्त्रालयका उच्च कर्मचारीहरु आरजुविरुद्ध पर्याप्त प्रमाण नपुगेको भन्दै तत्काल पक्राउ गर्न नहुने पक्षमा छन्। तर, गृहमन्त्री भने आरजुलाई हिरासतमा लिएरै थप प्रमाण संकलन गर्ने पक्षमा छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएका पूर्व गृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापा पनि पक्राउ परेका छन्। झाको कांग्रेस उच्च नेतासँग हिमचिम रहेको बताइएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन पुन अगाडि बढाए पछि देउवा सशंकित भएका हुन्।

पछिल्लो समय गृहमन्त्रीले दबाब बढाएपछि प्रहरी र मन्त्रालयका कर्मचारी आफ्नो अडानबाट पछि हट्ने र आरजुलाई पक्राउ गर्ने विषयमा सहमत हुने संकेत देखिएपछि देउवाले आफ्नो सक्रियता बढाएका हुन्।

यसका लागि उनले एमाले रोजेका छन्। एमालेका सचिव तथा सांसद रहेका टोपबहादुर रायमाझी समेत यस प्रकरणमा पक्राउ परेर जेलमा रहेको अवस्थामा टोपबहादुरसँगै आरजुलाई संरक्षण गर्न एमाले साझेदार बन्ने उनको बुझाइ छ।

देउवा आत्तिनुको पछाडिको कारण आरजु मात्र नभइ उनका विश्वासपात्र तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला पनि हुन्। सिटौला कुख्यात सुडान घोटाला प्रकरणमा ‘पहुँच’का आधारमा चोख्याइएका पात्र हुन्।

सुडानको डार्फरमा राष्ट्रसंघीय मिसनमा खटिएका नेपाल प्रहरीका अधिकृत तथा जवानहरुलाई आवश्यक बन्दोबस्तीका सामान खरिदमा ठूलो भ्रष्टाचार भएको थियो। त्यतिबेला सिटौला गृहमन्त्री थिए। यो घोटालामा पूर्व आइजीपीहरु समेत जेल परेका थिए। तर, तत्कालीन गृहमन्त्री सिटौलासहित धेरै पक्राउ पर्नबाट जोगिएका थिए।

यो प्रकरण अझै पनि साम्य भइसकेको छैन र थप अनुसन्धान अगाडि बढाउने हो भने सिटौला जुनसुकै बेला पक्राउ पर्न सक्छन्। र, गृहमन्त्री लामिछानेले अहिले यो प्रकरणको समेत फाइल खोल्ने तयारी गरिरहेको स्रोत बताउँछ।

यसले देउवालाई झनै सशंकित बनाएको छ र उनी गृहमन्त्री एक्लैको पछि लाग्नुभन्दा पूरै सरकार नै ढलाएर आफूसमेत सहभागी नयाँ सरकार बनाउने प्रयत्नमा छन्। यसका लागि उनी सरकारको नेतृत्व मात्रै नभइ धेरै महत्वपूर्ण मन्त्रालय समेत एमालेलाई दिन तयार छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *