जब ओलीले प्रचण्डलाई ‘कांग्रेसले अफर गर्‍यो म प्रधानमन्त्री बनौं ?’ भनेर सोधे…

डिसी नेपाल
१७ असार २०८१ १३:३७

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट समसामयिक राजनीतिमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बिहान ९ बजे प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगेका थिए। प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा सकारात्मक छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

स्रोतका अनुसार छलफलमा प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटका विषयमा चासो राखेका थिए। जवाफमा ओलीले देउवाले आफूलाई प्रधानमन्त्रीको अफर गरेको सुनाएका थिए। दाहालले अहिले नै गठबन्धन नफेर्न आग्रह गरेको बताइएको छ।

शनिबार कांग्रेस सभापति देउवाले ओलीलाई कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए। दुई दल मिलेर सरकार बनाउनुपर्ने भन्दै देउवाले बालकोटमा नै पुगेर ओलीलाई प्रधानमन्त्रीको अफर गरेपछि राष्ट्रिय राजनीति तरंगित भएको छ।

त्यसयता कांग्रेस एमाले मिलेर सरकार बनाउने विषयमा चरणवद्ध छलफल सहमतिउन्मुख भएको दाबी गरिँदै आइएको छ।

स्रोतका अनुसार गृहमन्त्री रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा देउवा पन्ती आरजू राणालाई पक्राउ गर्ने तयारी गरेपछि सशंकित बनेका देउवाले ओलीका सबै सर्त स्वीकार गरी एमालेकै नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव गरेका हुन्।

सोमबार प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भएको लामो छलफलमा ओलीले कांग्रेसले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्दै राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने प्रस्ताव गरेको स्रोतको दाबी छ। जवाफमा प्रधानमन्त्री दाहालले यही गठबन्धनबाटै प्रधानमन्त्री बन्न आग्रह गरेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *