अस्ट्रेलियाबाट नेपाली विद्यार्थीलाई ठूलो झट्का, भिसा शुल्क दोब्बरभन्दा धेरै बढाइयो

डिसी नेपाल
१९ असार २०८१ १३:१५

काठमाडौं । अस्ट्रेलिया सरकारले विद्यार्थी भिसाको शुल्क बढाएको छ । अष्ट्रेलियाले विदेशबाट आफ्नो देशमा आउने विद्यार्थीका लागि भिसा शुल्क ७१० अस्ट्रेलियन डलरबाट बढाएर १६०० अस्ट्रेलियन डलर बनाएको द गार्डियनले जनाएको छ ।

नेपाली मुद्राको हिसाबले हेर्ने हो भने यसअघि नेपाली विद्यार्थीले करिब ६३ हजार रुपैयाँ तिर्नुपर्ने थियो भने अब त्यसका लागि १ लाख ४२ हजार रुपैयाँ तिर्नुपर्नेछ । यसले नेपाली विद्यार्थीलाई ठूलो असर गर्नेछ ।

अष्ट्रेलियाको संघीय सरकारले विद्यार्थी भिसा शुल्कमा बृद्धि गर्दा यसले देशको राजस्वमा बृद्धि हुने र शिक्षाको क्षेत्रमा प्रगति हुने बताएको छ । साथै, स्नातक विद्यार्थीहरूको लागि ऋण रकम पनि कम हुने दाबी गरेको छ ।

अस्ट्रेलिया सरकारले यसबाट नयाँ विद्यार्थीहरूले पनि मद्दत प्राप्त गर्ने बताएको छ । शिक्षामन्त्री जेसन डीन क्लेयरले अन्तर्राष्ट्रिय शिक्षा आफ्नो देशको लागि अत्यन्तै महत्वपूर्ण राष्ट्रिय सम्पत्ति भएको र यसको निष्पक्षता र गुणस्तर सुनिश्चित गर्न आवश्यक रहेको बताए ।

हरेक वर्ष ठूलो संख्यामा नेपाली विद्यार्थी पढ्नका लागि अस्ट्रेलिया जान्छन् । अस्ट्रेलियामा पढ्न जाने विद्यार्थीको संख्याको हिसाबले नेपाल तेस्रो प्रमुख देश हो । चीन र भारतपछि तेस्रो ठूलो संख्यामा नेपाली विद्यार्थी अस्ट्रेलिया जान्छन् । तर, त्यहाँको सरकारले गरेको यो निर्णयपछि धेरै विद्यार्थीको अष्ट्रेलियामा पढ्ने सपना चकनाचुर हुन सक्छ ।

काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट्स अष्ट्रेलियाका राष्ट्रिय अध्यक्ष येगानेह सोल्तानपुरले यस निर्णयको भर्त्सना गरे र शुल्क वृद्धिले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई थप आर्थिक दबाब दिने बताए।

उनले पढाइका लागि यति धेरै पैसा खर्च गरेर पनि जागिर नपाउनु दुःख र चिन्ताको विषय भएको बताए । यही कारणले गर्दा अहिले विद्यार्थीहरूले अष्ट्रेलिया बाहेक अन्य देशमा आफ्नो विकल्प खोजिरहेका छन् ।

अष्ट्रेलियाको इन्टरनेशनल एजुकेशन एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत फिल हनीवुडले मिडियासँग कुरा गर्दै यो घोषणा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा अन्तिम धक्का भएको बताए ।

उनले भने ‘हामीले ४८ अर्ब अमेरिकी डलर गुमाउने जोखिम पनि लिइरहेका छौं, यो बाहेक यो कदमले हाम्रा इन्डो–प्यासिफिक छिमेकीसँगको सम्बन्धमा पनि प्रतिकूल असर पर्नेछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *