नेपालमा बैकल्पिक व्यवस्था र नेतृत्वको खोजी

शंकरप्रसाद रिजाल
२१ असार २०८१ ७:३४

नेपालको व्यबस्था र नेतृत्वको सम्बन्धमा टिप्पणी गर्दा नेपालमा धेरै व्यवस्था, नेता र नेतृत्वको उदय भइ सकेको छ। इतिहासको पाना पल्टाउने हो भने आधुनिक नेपालका निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको उदय हुनु भन्दा अगाडि नेपालमा किराँत वंश, लिच्छवी वंश र मल्ल राजाले राज्य गरेका थिए।

किराँत बंशमा लगभग २७ राजाले १६३० बर्षसम्म राज्य गरेका थिए। यलम्बर यो बंशका पहिला राजा भएको मानिन्छ। पछि लिच्छबी कालको सुरुवात भयो। यो कालको तीन पुस्तापछि राजा मानदेवको शासनको सुरुवात भएको देखिन्छ। जसले लगभग ४१ बर्षसम्म राज्य थिए।

लिच्छबी कालले लगभग ७६० बर्षसम्म राज्य गरेको देखिन्छ। यो लिच्छबी काल नेपालको इतिहासमा स्वर्ण युग मानिएको पाइन्छ। यो समयमा नेपालमा मठ मन्दिर र कला कौशलको अत्यधिक बिकाश भएको पाइन्छ। राज्य व्यवस्था पनि करिव करिव संसदीय व्यवस्था झैं थियो। पछि मल्ल राजाहरुको सुरुवात १२औं शताब्दीदेखि सुरु भएको मानिन्छ।

पहिला मल्ल राजा हरिदेव मल्ल र अन्तिम राजा यक्ष मल्ल थिए। पछि काठमाडौं तीन खण्डमा विभाजन भइ अनेक मल्ल राजाहरुले राज्य गरेका थिए। त्यसताका आजको नेपाल अधिराज्य साना साना भुरे टाकुरे राज्यमा विभाजित भई आ-आफ्नो तरिकाले राज्य गरी बसेका थिए। खास व्यवस्था, नेता र नेतृत्वको उदय भएको थिएन।

१७७९ पौष २७ मा गोरखाका राजा नरभुपाल शाह र रानी कौशाल्यावतीको गर्भबाट महान योद्धा, साहसी र बुद्धिमान राजा पृथ्वीनारायण शाहको जन्म भयो। उनी १९-२० बर्षमै राजा भइ यी टुक्रे राज्यलाई एकीकरण गर्नतिर लागे र बिक्रम संवत १८२५ मा नेपाल राज्यको एकीकरण गर्न सफल भए।

त्यसपछि नेपालको शासन पद्धतिको बिकास बिस्तारै हुँदै गयो। पृथ्वी नारायण शाहको निधनपछि शाह राजाहरु बन्दै गए। तर उनी पछिका राजाले खासै नेतृत्व लिइ देशमा खास व्यवस्थाको विकास गर्न सकेनन्।

राजनैतिक व्यवस्थाको कुनै गुन्जायस थिएन। राजा र मुख्तियारले आफ्नो हिसाबले राज्य चलाउने गर्थे। तर एकले अर्कोलाई हत्त्याई शक्तिमा जाने र राजाहरु सुख भोग बिलासमा नै रमाएर आफ्नो जीवनयापन गर्दथे।

व्यवस्था र नेतृत्वको सट्टामा राजा र मुख्तियारले र भएका प्रधानमन्त्रीले आफ्नो बल, बुद्धि र बिबेकले राज्य गर्दथे। देश बल र छललेमात्र चलिरहेको अवस्थामा व्यवस्था नभएको हुनाले कुनै राजा र प्रधानमन्त्री कमजोर भएको बेला अनेक छल र हत्याद्वारा शक्ति हत्याउने प्रचलन थियो।

यसै कारण एक सिपाहीस्तरका जंगबहादुर राणा जस्ता अर्का साहसी र बहादुर व्यक्तिले १९०३ मा कोतपर्व जस्तो भयंकर षड्यन्त्र रचेर सयौं भारदारको निर्मम हत्त्या गरी आफूले राज्यको सम्पूर्ण शक्ति हातमा लिइ सत्ता हस्तान्तरंको प्रक्रिया एकलौटी ढंगले चलाउने काम गरे। र, त्यो राणाशासन त्यसै गरी १०४ वर्षसम्म देशले खप्न बाध्य भयो।

किनकि यो शासन निकै जर्जर कडा र हुकुमी शैलीको थियो। कुनै किसिमको सवल नेतृत्व र शासनशैलीको नामोनिसान थिएन। ठिक त्यही बेला नेपालमा शासन र नेतृत्वको विकासको साथ साथै अन्य धेरै कुराको बिकास हुनु पर्ने थियो।

तर राणाले आफ्नो कार्यकालमा देशलाई बनाउने तिर नलागी आफ्नै सुख भोग बिलाशमै जीवन बिताउने काम गरे, जसले गर्दा देशमा नेता, नेतृत्व र सटिक व्यवस्थाको जन्म हुन सकेन। यो समय देशको लागि एउटा कालो रात थियो।

त्यो व्यवस्थाको चरम अन्याय र लापरवाहीले देशमा बैकल्पिक व्यवस्था र नेताको जन्म गराउन बाध्य बनायो। र, नेपालका सपुत व्यक्ति गंगालाल, शुक्रराज, धर्मभक्त र दशरथ चन्द जस्ता व्यक्तिले राणाशासनको चर्को बिरोध गर्न पछि परेनन्।

तर शासनको निरंकुशताले यी चार जनालाई नै मृत्युदण्ड दिने काम भयो। तर बैकल्पिक व्यवस्थाको लागि अर्का नेताहरुको जन्म भयो। सुवर्ण शमशेर, बिपी कोइराला, कृष्णप्रसाद भट्टराई ,गणेशमान सिंह, मनमोहन, पुष्पलाल जस्ता मुर्धन्न्य नेताको हुरी र बताश र आन्दोलनले आखिर २००७ सालमा राजा त्रिभुवनको नेतृत्वमा देशमा प्रजातन्त्रको आगमन भयो। राजा त्रिभुवन र नेताको नेतृत्वमा प्रजातन्त्रको उदय भएको थियो।

देशमा राणा शासन फालेर प्रजातान्त्रिक व्यवस्थाको आगमन भए पश्चात पहिलो जनताको प्रधानमन्त्री मातृकाप्रसाद कोइराला देशको प्रथम प्रधानमन्त्री बन्न पुगे। तर व्यवस्था प्रजातान्त्रिक भएपनि नेता र नेतृत्व भने भारतको बुइ चढी देशको शासन गर्नेमात्र भए। चाहे ती बिपी कोइराला नै किन नहुन्।

यसैबाट देशले बिकास गर्नु पर्नेमा देशमा झन् भ्रष्टाचार र गरिबी बढ्दै गएको कुरालाई महशुश गरी फेरि बैकल्पिक व्यवस्था र नेतृत्वको खोजी सुरु भयो। यही क्रममा २०१७ सालमा राजा महेन्द्रले देश डूब्लाकी भन्ने चिन्ताले त्यो व्यवस्थालाई बर्खास्त गरेर निर्दलीय नयाँ पञ्चायती व्यवस्थाको सुरुवात गरे।

र, उनकै नेतृत्वमा देश अगाडि बढ्दै गयो। यो व्यवस्था वास्तवमा जनतान्त्रिक त थिएन तर यही व्यवस्थाले नेपाललाई १२ वर्ष भित्रमा संसारको अगाडि सबै कुरामा चिनाउने काम गर्न सफल भयो। देशकोस्तर, इज्जत, शान सौकतलाई विश्वका ठूला राष्ट्रले चिन्ने मौका पाए।

तर विश्वमा आइरहेको प्रजातान्त्रिक लहरले नेपाललाई पनि अछुतो राख्न सकेन। जे भएपनि एकतन्त्रीय राजतन्त्र करिब करिब हुकुमी शासन जस्तै थियो। तसर्थ राजा महेन्द्रको अवकासपछि र राजा वीरेन्द्रको आगमनपछि बिपी, कृष्णप्रसाद र गणेशमान र अन्य प्रजातान्त्रिक जन समूहले जनमत संग्रहको माग गरे।

सन् १९८० मा राजा वीरेन्द्रबाट जनमत संग्रहको घोषणा भयो। तर नेतृत्व राजाकै हातमा हुने गरी केवल सुधारिएको पञ्चायती व्यवस्थाको प्रारम्भ भयो। तर औपचारिक रुपमा प्रजातान्त्रिक नेताले यसलाई स्वीकारे पनि भित्रभित्र नयाँ नेता र नेतृत्व र प्रजातान्त्रिक बैकल्पिक व्यवस्थाको खोजी खोजी भइरहेको नकार्न सकिँदैन।

यसै कारणले २०४७ सालमा प्रजातान्त्रिक नेता कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रीको नेतृत्वमा नयाँ संविधानको निर्माण भयो र राजा संबिधान अन्तर्गत रहन पुगे। यो नेता, नेतृत्व र व्यवस्थामा आएको एक ब्यापक बिकल्प हो।

तर विश्वमा आइ रहेको प्रजातान्त्रिक लहर र अमेरिका, पश्चिमा मुलुक र भारतमा आइरहेको प्रजातान्त्रिक लहर र दबाबले नेपालका नेताहरु सजिलै आफ्नो स्वार्थ सिद्धका लागि त्यही लै लै मा लागि देशको स्वाधीनता बचाउनतर्फ नलागी सबै सत्तामा आउन लालायित रहे।

सारा नेता देशको नेता बन्नेतर्फ लागेर सत्तामै रहन अनेक चाल र कुचाल रचेर एकले अर्कोलाई हत्त्याउने र षड्यन्त्र गरी गरी आफ्नै पार्टीका नेतालाई पाखा लगाउने अनि आफ्नै पार्टीका होनहार नेतालाई हत्या गर्ने कार्य गर्न सम्मपछि परेनन्।

यस्तो कार्यमा सारा नेता भनाउँद लागे र यो अवस्थाको सुक्ष्म अध्ययन भारत अमेरिका र पश्चिमका देशहरुले हेरिरहेको थियो। यही कमजोरी र अवस्थाको दूरावस्था हेरेर नेपालमा फेरि नयाँ बैकल्पिक व्यवस्था र नेतृत्व कायम गर्न त्यस बेलाको नेतृत्व र व्यवस्थाको बिरोधमा देशमा माओबादीको सशस्त्र द्वन्द्व सुरु भयो।

यसै क्रममा दरबार हत्याकाण्ड भई राजा वीरेन्द्रको सम्पूर्ण परिवार र अन्य १० राज परिवारको हत्या हुन पुग्यो। त्यसपछि ज्ञानेन्द्र शाहका परिवार र महेन्द्रकी रानी रत्ना मात्र यो कहाली लाग्दो घटनाबाट बच्न सफल भए। सत्ताको बैकल्पिक खोजमा नेपालमा मात्र हैन संसारमै यस्ता घटना भएको देखिन्छ। माओवादी सशस्त्रद्वन्द्वका मुख्य कमान्डरद्वय बाबुराम भट्टराई र पुष्पकमल दाहाल प्रचण्ड थिए।

व्यवस्था र नेतृत्वको विकल्पको खोजीमा यो आन्दोलन करिब १० वर्षसम्म चल्यो र २०६२ -०६३ मा देशमा गणतन्त्रकको उदय भयो र यसको सम्पूर्ण नेतृत्व माओबादीका नेता पुष्पकमल दाहाल र बाबुरामले नै लिए र देशमा एउटा बैकल्पिक व्यवस्थाको प्रादुर्भाव भयो।

त्यसपछि तुरुन्तै सारा जनताको प्रतिनिधित्वमा फेरि नयाँ संबिधान बनाइ लोकतान्त्रिक शासन व्यवस्थाको थालनी गर्न नेताहरुले थाले। ८ वर्ष लगाई ८ अर्ब रकम खर्च गरी एउटा फेरि २०७२ सालमा संबिधानको निर्माण र घोषणा प्रथम राष्ट्रपति डा.रामबरण यादव र प्रधानमन्त्री सुशील कोइलाला नेतत्वमा भयो।

तर संविधानको आलोचना भारत र नेपाल भित्रकै अन्य बहुसमुदायले त्रुटीपूर्ण छ भनेर संशोधनको अवाज उठाइ रहेका छन्। देशमा व्यवस्थाको विकल्प त आयो तर यो व्यवस्थाको सवल र योग्य एक होनहार नेतृत्व भने जन्माउन सकेन।

नेतृत्वहीन देश झन् झन् आन्दोलित बन्न पुग्यो र देशमा फेरि भ्रष्टाचार, कुरीति र जताततै अन्योलको वातावरण छाउन थाल्यो। देशले फेरि अर्को नेतृत्व र व्यवस्थाको विकल्प खोज्ने काम सुरु भएको छ। देशमा उदाएका सबै दल र तिनका नेताहरुले विश्वको परिप्रेक्ष्य अनुसार आफूलाई रुपान्तरण गर्न सकेनन् र देशमा बिकासको खाका कोर्न असफल भए।

रुसमा भ्लादिमीर पुतिनको नेतृत्व, चीनको माओ, डेङ जियाओ पिंग र सि जिनपिङ, मलेसियाका महाथिर मोहम्मद र सिंगापुरका लि कुआन यु को नेतृत्व र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको ख्याल राखी दिएको भए देशले अर्कै बिकासको रुप लिने थियो।

तर सोच, होस, बल, बुद्धि र ल्याकत नभएका नेताको बिगबिगीले देश झन् झन् गरीब, बेरोजगारी, उत्पादनहीन भइ राजनीति र अर्थनीतिमा नराम्रो कुप्रभाव पर्न गयो। देशमा लोकतन्त्र आएपनि मुलुक चलाउने शासक शुन्य दिमागका भएका कारण देश आजसम्म खासै परिबर्तन हुन सकेन। यसलाई फेरि परिबर्तन गर्न देशमा नयाँ बिबेकशील साझा पार्टी र नयाँ शक्ति पार्टीको उदय भयो। तर केही वर्षमै पार्टी नेतृत्वबिहीन भए।

किनकि पढेलेखेका भएपनि देशको नेतृत्व लिन नसक्ने देशका नेता भनाउँदा यसरी नै विलीन भएर जान्छन्। यो संसारमा हुँदै आएको विषय हो।

यसलाई चुनौती दिन देशमा घण्टी चिन्ह लिएर देशलाई नयाँ नेतृत्व दिन उभिएका एक पत्रकार बिषयका युवा रबि लामिछानेको नेतृत्वमा नेपालमा भैरहेको व्यवस्थामा आमुल परिबर्तन ल्याउने, भ्रष्टाचार र देशमा भइरहेकोे बेथितिलाई हटाउन पुराना पार्टीको वाक्क लाग्दो क्रियाकलापको बैराग्य लाग्दो र असन्तोषको बिकल्पमा २०७९ सालमा भएको आम चुनाबमा एकैचोटी २१ सिट जितेर संसदमा चौथो ठूलो दलको रुपमा उभिएको छ।

तर केही समय पश्चात यो पार्टी र पार्टीको नेतृत्व लिएका रबि लामिछाने, उनका सांसाद उही पुरानै पार्टीको चंगुलमा फसेर मन्त्री बन्ने काममा लागे। तर आफ्नो चुनाबी अभियानका कुराहरुलाई बेवास्ता गरे जस्तो गरी जनतालाई झुक्याउने काममा लागे र अत्यन्त बिबादित भइ पुरानै पार्टीको बुइ चढी बसिरहेकाले यो पार्टी र नेतृत्वलाई पनि जनताले अर्कै शंकास्पद बिचारहरुले हेर्न थालेका छन्।

आज यही पार्टीमा पनि माहामन्त्री डा.मुकुल ढकाल र स्वयम अध्यक्ष रबि लामिछानेको बीच बिबाद उत्पन्न भइरहेको छ। पार्टी गठनको दुई वषर््को अवधमा नै यसरी विवाद उत्पन्न हुनु राम्रो विषय होइन। तर जे भए पनि यो पार्टीले भविष्यमा राम्रै योगदान दिने आँकलन भने जनमानसमा रहेकै छ।

यदि नेतृत्वको राम्रो चयन हुन नसके व्यवस्था जस्तो सुकै भएपनि त्यो निरर्थक हुन जान्छ। आज देशले केही खोजेको छैन। खोजेको छ भने एउटा ली कुआनयु जस्ता एक नेतृत्व र नेता खोजेको छ।

जसले थोरै समयमानै उजाड सिंगापुरलाई हराभरा सिंगापुरमा बदली विश्वलाई चकित पारे। आज नेपालमा जे व्यवस्था छ त्यो सबै बिदेशीको दर्शनमा आधारित छ। संसदीय व्यवस्था पश्चिमको व्यवस्था हो भने यो व्यवस्था सफल भएमा पश्चिममी व्यवस्था नै बिजयी हुने हो।

कम्युनिस्ट व्यवस्था सफल भएमा मार्क्स र लेनिन सफल हुने हो। यस्तो अर्काको सफलतामा नाची हिंड्ने कुनैपनि नेपाली नेतालाई नेपालको नेता र नेतृत्व लिने व्यक्तिमा गन्न सकिन्न।

अर्काको दर्शनमा राजनीति गर्ने व्यक्तिलाई राजनीतिक दलालको रुपमा मात्र लिन सकिन्छ, जसले उनको प्रभावमा परेर उनीहरुकै भलाई गर्ने हो न कि नेपाल र नेपालीको। तसर्थ यी सबै आजसम्मका व्यवस्थालाई हटाई पूर्ण नेपालीपनको नयाँ बिकल्पको व्यवस्था र नयाँ जाज्वल्यमान नेता र नेतृत्वको देशलाई खाँचो देखिएको छ।

हालै काठमाडौं महानगरपालिका नव उदयमान मेयर इन्जिनियर बालेन्द्र शाह र उनको कार्यकुशलता र छोटो समयमै गरेका काठमाडौंको सुधार, भुमाफियाको उठीबास गराएको, फोहरको डुंगुरलाई व्यवस्थित गरिएको, सरकारी जमिनमाथि कब्जा जमाइ बस्नेलाई ठेगान लगाउने र जनतालाई आवश्यक पर्ने हर क्षेत्रमा बिचार पुर्याई काम गर्ने र काठमाडौं सहरलाई वातावरणीय हिसाबले धुलोमुक्त बनाई काम गर्ने र बिग्रेका तमाम सडक पिच गरेर जनतालाई खुसी बनाउन सफल साबित भएकाले आज यी बालेन्द्र शाहबाट देशका जनताले ठूलो आशा र भरोशा राखेका छन्।

यसको साथै बिदेशमा गएर पनि यिनले देशको ठूलो नाम र इज्जÞत राख्ने काम गरेका छन्। भ्रष्टाचारको गन्ध हाल्सम्म कहीँ कतैबाट सुनिएको छैन। सम्पूर्ण आम जनताहरुले तारिफ गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *