दक्षिण कोरियामा कारले सडक पार गर्ने मानिसलाई ठक्कर दिँदा ९ जनाको मृत्यु

डिसी नेपाल
१९ असार २०८१ १५:४३

काठमाडौं । दक्षिण कोरियाको राजधानी सियोलमा तीव्र गतिमा रहेको कारले सडक पार गर्न उभिएका मानिसलाई ठक्कर दिँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

स्थानीय समय अनुसार सोमबार राति करिब २१:३० बजे दुर्घटना भएको हो । योनहाप समाचार एजेन्सीको रिपोर्टका अनुसार एक ६० वर्षीय व्यक्तिले ट्राफिक स्टपमा पर्खिरहेका पैदल यात्रुहरूमा आफ्नो गाडी हानेका थिए।

घटनाको अनुसन्धान भइरहेको र मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार कार गलत साइडमा गुडिरहेको थियो र पैदलयात्रीहरूलाई कुच्नुअघि अन्य दुईवटा गाडीसँग ठोक्किएको थियो।

सियोल सिटी हल नजिकैको एक चोकमा दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनास्थलमा पक्राउ परेका चालकले कार एक्कासी तीव्र गतिमा दौडिएको प्रहरीलाई बताए ।

६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य तीन जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । मध्य सियोलको जाङ-गु जिल्लाका सार्वजनिक सुरक्षा अधिकारी किम सेओङ-हकले प्रहरीले कार चालकको बारेमा अनुसन्धान गरिरहेको बताए। चालकले मदिरा वा लागुऔषध सेवन गरेका थिए कि भनेर अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *