कर्णेल गुरुङलाई न्यूयोर्क, जर्नेल थापालाई गोलानहाइट

डिसी नेपाल
२० असार २०८१ ७:००

काठमाडौं। अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपाली सेनाको सैनिक सहचरी पदमा कार्यरत नेपाली सेनाका कर्णेल दिरेन्द्रकुमार मल्ल नागरिकतामा केरमेट गरेको आरोपमा जागिरबाट बर्खास्तगीमा परेपछि उनको ठाउँमा कर्णेल रोहित गुरुङलाई पठाइने भएको छ।

सैनिक मुख्यालयले यसबारे निर्णय गरी कागजी प्रक्रिया अघि बढाइसकेको छ। चार महिनामा अघिमात्र न्यूयोर्कमा पदभार सम्हाल्न आइपुगेका कर्णेल मल्लको अचानक नागरिकता छानविनमा परेको थियो।

सेनाभित्र हुने अस्वस्थ खेलहरुका कारण कसकाे कतिखेर के हुन्छ भन्नेबारे केही भन्न नसकिने अवस्था छ भन्ने कुराको मल्ल एक उदाहरण हुन्। उनको नागरिकतामा कैफियत थियो भने चारमहिनाअघि मात्र उनलाई कुटनीतिक नियुक्तिका लागि किन योग्य ठानियो?

त्यतिबेला कसकाे सिफारिस र जोडबलमा उनलाई न्यूयोर्क पठाइयो? भन्ने उठेको प्रश्नमा सेनाले केही जवाफ दिएको छैन। मल्लका श्रीमती र सन्तानसमेत न्यूयोर्क आएर विद्यालयमा भर्ना भइसकेको अवस्थामा अचानक उनलाई नेपाल बोलाई लाइन एरेष्ट गरेर बर्खास्त गरिएको थियो।

यसैबीच, युएनको गोलानहाइटस्थित सैनिक मिसन प्रमुखमा जर्नेल सागर थापालाई पठाउने निर्णय भएको छ। अन्य प्रतिष्पर्धीहरुले समेत प्रयास गरेकोमा उनीहरुलाई पन्छाउँदै जर्नेल थापाले सो पदमा मनोनयन हुने मौका पाएका हुन्।

नेपाली सेनाबाट आगामी बैशाखमा अवकाश पाउने थापाले गोलानहाइटको नियुक्ति पाएमा दुई बर्षसम्म सैनिक पोशाकमै कार्य गर्न पाउने छन्। यसअघि संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेजको नेपाल भ्रमण हुँदा उनी महासचिवको सुरक्षाको जिम्मेवारी लिने उच्चअधिकारीसमेत थिए।

गोलानहाइट मिसनको सैन्य प्रमुखको जिम्मेवारीमा हालसम्म नेपाली सेनाकै रथी निर्मल थापा कार्यरत छन्। उनी पदावधि पूरा गरेर फर्कने भएपछि नेपाली सेनाले सागर थापाको मनोनयन भएको हो।

यसैबीच नेपाली सेनाका रथी निर्मल थापालाई संयुक्त राष्ट्र संघका महासचिवको सैनिक सल्लाहकार (मिलएड) मा पठाउने प्रयास पनि शुरु भएको बताइएको छ।

नेपालले हालसम्म सो उच्च पद प्राप्त गरेको छैन। युएन मिसनमा सबैभन्दा बढी सैनिक जनशक्ति योगदान गर्ने मुलुकमा परेकाले यसपटक नेपालले सो पद पाउने सम्भावना रहेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *