काभ्रेमा विपद् प्रतिकार्यका लागि जनशक्ति तयार

डिसी नेपाल
२० असार २०८१ ९:२१

काभ्रेपलाञ्चोक। मनसुनका बेला जिल्लामा प्राकृतिक प्रकोप तथा हुनसक्ने विपद् जन्य घटना–अवस्थाको व्यवस्थापन गर्न जिल्लास्थित स्थानीय तह तथा सुरक्षाकर्मीद्वारा आपत्कालीन–विपद् प्रतिकार्यको तयारी थालेका छन् । बुधबारसम्म तीन दिन तालिम दिएर रोशी गाउँपालिकाले विपद् प्रतिकार्य गर्न ५२ जना जनशक्ति तयार गरेको छ ।

रोशीका सबै वडाका ५२ लाई तीन दिनसम्म तालिम दिएर विपद् प्रतिकार्यको लागि जनशक्ति तयार गरेको गाउँपालिकाले जनाएको हो । उनीहरुलाई भकुण्डेबेँसीस्थित नेपाली सेनाको भद्रदल गणका सहसेनानी समिर अधिकारी, इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीलगायत सुरक्षाकर्मीले प्राविधिक तालिम दिएका थिए।

तयार गरिएका ती जनशक्तिले गाउँपालिका र आसपासका क्षेत्रमा हुनसक्ने विपद््का घटनामा परिचालित हुने अध्यक्ष दिनेश लामाले बताए।

उनका अनुसार विपद् व्यवस्थापनको काम सुरक्षा निकायको मात्र जिम्मेवारी नभई समुदायको सहभागिता बढाउन तालिम सञ्चालन गरिएको हो । गणका गणपति नाइजेल सुब्बाले विपद्मा ‘फस्ट रेस्पोन्डर’ मानिएको समुदायलाई विपद् पूर्वविपद् र विपद् पश्चात् खेल्नुपर्ने भूमिकाबारे तालिम दिइएको बताए । उनले पूर्वतयारीस्वरुप स्रोत, साधन व्यवस्थापनमा जोड दिनु आग्रह गरे ।

यस्तै जिल्लास्थित नेपाली सेनाको कालीजङ्ग गण धुलिखेलले सामुदायिक विपद्् प्रतिकार्यका लागि जिल्लाको १० स्थानीय तहमा ८० सामुदायिक विपद्् प्रतिकार्य तालिम दिई विपद् प्रतिकार्य जनशक्ति तयार पारेको छ । तालिममा ‘विपद्को परिचय र विपद् व्यवस्थापन चक्र, विपद् प्रतिकार्यको लागि आवश्यक सामग्री, सीप तथा कला, बाढीपहिरो, डुबान, आगलागीजस्ता विपद््का घटनाको दौरान उद्धार गर्ने तरिका, प्राथमिक उपचार, स्थानीय स्रोत–साधनको प्रयोग गरी विपद् प्रतिकार्य गर्ने विधि र विपद्को समयमा आधुनिक उपकरणको प्रयोगका बारेमा जानकारी गराइएको गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले जानकारी दिए।

जिल्लाका अधिकांश भू–भाग पहाडी क्षेत्र, जिल्ला भएर बग्ने तीन ठूला नदी विपद््को हिसावले जोखिमयुक्त मान्दै आएको छ । विपद्का घटनामा तत्काल उद्धारकर्मी पुग्न सम्भव नहुँदा कयौँ मानिसको ज्यान सक्ने सम्भावनालाई न्यूनीकरण गर्न स्थानीयद्वारा नै प्रतिकार्य गर्नसक्ने क्षमताको विकास गर्न तालिम दिइएको सेनानी सिंहले बताए।

यसैबीच पाँचखालमा रहेको सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेडक्वाटरले विपद् प्रतिकार्यको लागि धुलिखेल र पनौतीस्थित आइटीपार्कमा ‘अस्थायी बेस’ बेस राखेको छ । धुलिखेल र सूचना उद्यानमा निर्माणाधीन सुरक्षण मुद्रण प्रेस भवनमा बसेको टोलीले जिल्लाको मुख्य सहर बनेपा, पनौती, धुलिखेल, नमोबुद्धलगायत आसपासका स्थानीय तहमा हुने मनसुन–विपद्मा उद्धार गर्ने जनाइएको छ । उद्धार सामग्रीसहित सशस्त्र प्रहरी निरीक्षककको नेतृत्वमा २५÷२५ सशस्त्र प्रहरी टोलीलाई उद्धारमा खटिन तयारी अवस्थामा राखिएको हो ।

गृह मन्त्रालयको निर्णयअनुसार पाँचखालमा रहेको हेडक्वाटरबाट रेखदेख तथा सञ्चालन हुने गरी उद्धारमा खटिनुपर्दाको अवस्थामा सडक र दूरीका हिसाबले पायक पर्ने स्थानमा छनोट गरी दुई स्थानमा अस्थायी बेस राखिएको जिल्लास्थित विपद् व्यवस्थापन समितिले जनायो ।

यसअघि काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका सशस्त्र प्रहरीद्वारा सुनकोशी नदीमा उद्धारको पूर्वाभ्यास गरेका थिए । संयुक्त पूर्वाभ्यासमा सशस्त्र प्रहरी अधिकृत तथा जवानद्वारा बाढीमा बगेको, डुबेको, पहिरोमा फसेको तथा बाढीमै फसेका व्यक्तिलाई उद्धार गरिएको थियो । साथै, प्रहरी आफैँ उद्धारका क्रममा बाढीमा फसेको र आफैँ जोगिन सफल भएकोसमेत प्रदर्शन गरिएको थियो ।

समितिले मनसुन तथा विपद्बाट प्रभावित हुनसक्ने स्थान पहिचान गरी सङ्कट अवस्थामा रहेका समुदाय एवं बस्तीको पहिचान तथा र जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्ने, विपद्् प्रतिकार्यका लागि अवश्यक पर्ने सामग्रीको सम्बन्धित सबै निकायले तयारी अवस्थामा राख्ने, एम्बुलेन्स, दमकल अन्तर स्थानीय तह समन्वय गरी परिचालन गर्नेलगायतको निर्णय गरेको छ ।

यसैगरी विपद््को समयमा तत्काल सेवा दिनसक्ने गरी स्वास्थ्य संस्था, औषधि र जनशक्तिलाई तयारी अवस्थामा राख्ने, विकासका आयोजना सञ्चालन गर्दा र निर्माण सामग्री उत्पादन गर्दा विपद्् जोखिम न्यूनीकरणका उपाय अवलम्बन गरी मापदण्डको पूर्णपालना गर्नुपर्ने पनि निर्णय भएका समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्य सेढाइँले बताए।

उहाँका अनुसार यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८१ तर्जुमाको लागि राष्ट्रिय विपद्् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएअनुसार जिल्लाका स्थानीय तहसँग मागिएको मनसुनजन्य विपद््को प्रकृतिगत रुपमा सम्भावित स्थान र जोखिमको पूर्वानुमान विवरण आउन थालेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *