उम्मेदवारी छोड्न दबाब बढेपछि आफूले कुनै हालतमा उम्मेदवारी नछोड्ने बाइडेनको घोषणा

डिसी नेपाल
२० असार २०८१ १४:४०

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार भएको र राष्ट्रपतिको निर्वाचनबाट बाहिर ननिस्कने बताएका छन् । बुधबार बाइडेनले वरिष्ठ डेमोक्र्याट र उनका अभियान सहयोगीहरूलाई शान्त पार्ने प्रयास गरे।

केही रिपोर्टका अनुसार उनले गत हप्ता पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको कमजोर बहसका कारण आफ्नो उम्मेदवारी छोड्ने विचार गरिरहेका थिए। २०२४ को राष्ट्रपति चुनावमा ट्रम्पसँगको पहिलो बहसमा बाइडेन प्रभावकारी देखिएनन्।

उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरमा हुने निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट जो बाइडेनलाई प्रतिस्थापन गर्न सक्छिन् भन्ने अड्कलबाजी तीव्र भएको थियो।

राष्ट्रपति जो बाइडेनले उपराष्ट्रपति कमला ह्यारिससँग ह्वाइट हाउसमा खाजा खाएपछि अनुमानको बजार झनै चर्कियो।

तर बाइडेनले अब आफू राष्ट्रपतिको चुनावको दौडमा रहने स्पष्ट पारेका छन् र कमला ह्यारिसले पनि उनको कुराको समर्थन गरिन् ।

एक स्रोतले बीबीसीलाई बताएअनुसार बाइडेनले भनेका छन्, “म डेमोक्रेटिक पार्टीको उम्मेदवार हुँ र मलाई कसैले हटाउने छैन। मैले उम्मेदवारी त्याग्दिन ।”

यसको केही घण्टा पछि बाइडेन र ह्यारिसद्वारा कोष जुटाउने अभियानमा इ-मेलमा उही कुरा दोहोर्याइएको थियो। बाइडेनले इ-मेलमा भने, “म स्पष्ट शब्दमा भन्न सक्छु कि म चुनाव लड्दै छु। म अन्तिमसम्म यो दौडमा रहनेछु।”

गत हप्ता डोनाल्ड ट्रम्पसँगको बहसपछि ८१ वर्षीय बाइडेनले आफ्नो चुनावी अभियानलाई निरन्तरता दिने हो कि होइन भन्ने प्रश्न उठिरहेको छ ।

यस बहसमा बाइडेनको आवाज कमजोर थियो उनलाई धेरै विषयमा जवाफ दिन समस्या भइरहेको थियो र उनको जवाफ बुझ्न गाह्रो थियो।

यो बहसपछि डेमोक्र्याटिक पार्टीभित्र राष्ट्रपतिको उम्मेदवारी, उनको स्वास्थ्य र चुनाव जित्ने क्षमतालाई लिएर चिन्ता थियो ।

बाइडेनमाथि चुनावी अभियानबाट बाहिरिने दबाब बढ्दै गएको छ किनभने अधिकांश सर्वेक्षणका अनुसार उनका रिपब्लिकन प्रतिद्वन्द्वी अग्रस्थानमा छन्।

बाइडेन र ट्रम्पबीचको बहसपछि बुधबार न्यूयोर्क टाइम्समा प्रकाशित सर्वेक्षणअनुसार ट्रम्पले ६ अंकको अग्रता कायम राखेका छन् ।

अमेरिकामा बीबीसीसँग सम्बद्ध सीबीसी न्यूजले गरेको सर्वेक्षणका अनुसार महत्वपूर्ण राज्यहरूमा ट्रम्पले बाइडेनभन्दा तीन अंकको अग्रता लिएका छन् । यस सर्वेक्षणका अनुसार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रिय स्तरमा अग्रस्थानमा छन् ।

डेमोक्र्याटिक पार्टीका केही दाता र सांसदहरूले बाइडेनलाई उम्मेदवारी फिर्ता लिन सार्वजनिक रूपमा अपील गरेका थिए, जसले बाइडेनका लागि यो चुनाव झनै कठिन बनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *